सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
मुलुकको राजनीति आज गन्तव्यविहीन र दिशाविहीन अवस्थामा छ । कुनै सर्वसाधारण जनता कुनै नेतालाई पत्याउन तयार छैन एकाध अपवादलाई छोडेर । जनताले नेकपा, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त घोषणापत्रलाई विश्वास गरे र आफ्नो अमूल्य मत ती पार्टीको निर्वाचन चिह्नमा खसाले । झापा आन्दोलन र एक दशकसम्म सशस्त्र जनआन्दोलन गरेका यी दुई शक्तिलाई संयुक्तरूपमा निर्णायक तहमा पु¥याउन सके खाना नभएकोलाई खाना, नाना नभएकोलाई नाना र छाना नभएकालाई छाना उपलब्ध गराउँछ र लाख लाख नेपालीले खाना, नाना र छाना पाउँछन् भन्ने सुनेर त्यतिका सङ्ख्यामा आफ्नो अमूल्य मत दिएर विजयी गराए नेपाली विवेकशील जनताले । तर यी दुवै दलले ‘खोला त¥यो लौरो बिस्र्यो’ गरे । आफूलाई, आफ्नालाई र लुकुवापाराले आफूहरूलाई पालना घोषणा गर्ने दुई नम्बरी शक्तिको मार्गनिर्देशनमा चल्न थाले । जो जो शक्तिमा गए उनीहरूका अन्नदाता, आश्रयदाता, जन्मोत्सव, विवाहको वार्षिकोत्सव मनाउन खर्च व्यहोर्नेहरूको स्वार्थसिद्ध गर्ने काममा पो त आफूहरूलाई बाँधे । घरभेटी वा आश्रयदाताले मल आयातको ठेक्का लिए तर समयमा मल ल्याएनन्, पेश्की पचाए । सर्वोच्च नेताहरूले कारबाही गर्ने सरकारको कदमलाई रोकाए । यसरी सरकारी, सार्वजनिक जग्गा, घर एवम् अन्य संरचनाहरू कौडीको भाउमा हात पारे । सरकार अब तिनै कालो कारोबारीहरूको कब्जामा प¥यो, देश बन्ने भएन ।
सूक्ष्म व्यवस्थापनको जालोमा
नेपालको सूक्ष्म व्यवस्थापन गर्ने शक्तिदेखि जनवादी गणतन्त्र चीनलाई घेराभित्र पार्ने पश्चिमा शक्तिले यसरी फसायो, यसरी फसायो नेपाल ग्रायन्ड डिजाइनको जालमा फस्यो । आफूलाई धुरन्धर देशभक्त एवम् जनताको सेवा भन्ने नेताहरूले पत्तै पाएनन् । त्यो ग्रायन्डडिजाइनअन्तर्गत दुइटा तथाकथित कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रलाई एकीकृत गर्न सफल भयो र नेपाली काङ्ग्रेस अर्को शक्तिलाई पनि ठीक आकारमा राख्यो । एमसीसीको पक्षमा दुवै शक्तिलाई अल्मल्यायो । यो सूक्ष्म षड्यन्त्र हाम्रा उच्च नेताहरूले कति बुझे कति बुझेनन् तर नराम्रोसँग फसे । नेपालको राजनीतिक अवस्था कहिल्यै स्थिर नहोस् ताकि अस्थिर अवस्थामा निर्धक्क खेल्न पाइयोस् भन्ने कलुषित ध्येय राखी नेपालको राजनीति आफ्नो कब्जामा पार्ने बाह्य शक्तिको खेलमा यस्तो नराम्रोसँग फसिरहेको छ नेपाल । अब लरतरो प्रयत्नबाट झिक्न सकिँदैन । यस्ता बुँदा हाम्रा शासकले किन बुझ्दैनन् र बुझ्ने प्रयत्न गर्दैनन् । यो परम आश्चर्यको कुरो छ । नेपालको प्राकृतिक स्रोत पानीमाथि गिद्देदृष्टि परेको प¥यै छ । कोशी उच्च बाँधको खेल अहिलेको होइन राणा शासनको पालदेखिको हो । नेपालका शासक पार्टीहरू यो कुरा बुझ्दैनन् कि बुझ पचाउँछन् । यो छिनोफानो हुनुप¥यो ।
भ्युटावर ढाँचाको विकासको औचित्य
मुलुक भद्रगोलभन्दा पनि भद्रगोलको अवस्थाबाट गुज्रिरहेको छ । गणतन्त्र र धर्मनिरपेक्ष राष्ट्र नेपालका प्रधानमन्त्री पशुपतिनाथमा सुनको जलहरी राख्न लगाउँछन् । राष्ट्रपति खास धर्मका प्रतीक मन्दिर–मठ घुमेको घुम्यै छन् । यो के के नमिलेको पारा छ । विकास–निर्माण र पुनःसंरचनाहरू कागतमा मात्र दुरूस्त छन् । २२ वर्षमा बल्ल बल्ल मेलम्चीको पानी सुन्दरीजलमा झर्दा नै काठमाडौँ बुर्लुक्क उफ्रन्छ । साँच्चै त्यो पानी घर–घरका धाराबाट झर्दा कति दीपावली होला ? माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट बिजुली आएको दिन कस्तो होला ? बुढीगण्डकी जलाशययुक्त जलविद्युत् र पश्चिम सेती विद्युत् योजना प्रारम्भमा भएको क्षण कस्तो होला ? अझ महाकाली एकीकृत विकास र चिसापानी कर्णाली परियोजना थालेको दिन र पूरा भई प्रतिफल दिने दिन कहिले आउला ? अझ ल्हासाबाट काठमाडाँै र भैरहवा रेल चलेको दिन, भारतबाट काठमाडौँसम्म रेल चलेको दिन कस्तो होला ? नेपालको राष्ट्रिय झन्डा फर्फराएको पानीजहाज नेपालका नदीहरूमा परचालित भएका दिन कस्ता होलान् ? अँ, साँच्चै ती रेलले के के बोक्छन् होला नेपालका आफ्ना उत्पादन ? अथवा नेपालका उत्पादन शून्य तर वातावरण प्रदूषणमात्र बढाई श्वास फेर्न अरू सकसमात्रै पार्ने पो हो कि ? यो दृष्टिबाट हेरिएको छ छैन यसो ध्यान दिने कि ? कि ‘भ्यु टावर’ विकास मोडेलकै विकास अवधारणा भ्यु टावर केन्द्रित होला भन्ने चिन्ता लाग्यो । मलाई भन्ने हो भने हाम्रा सम्पूर्ण डाँडाका चुचुरा भ्यु टावर हैनन् ?
पुँजीवादी पार्टी र आम जनता
नाम कम्युनिस्ट काम अकम्युनिस्ट मूल अन्तर्विरोध हो । नामले मात्र खासै अन्तर पर्दैन । नाम ‘कामधेनु’ राखे पनि थारो गाईले दूध दिँदैन । पुँजीवादी सरकारले अग्रगामी परिवर्तन ल्याउने भए समाजवादी र साम्यवादी पद्धतिको आविष्कार नै हुँदैनथ्यो । आज कामदार मान्छेलाई पुँजीवाद यति धेरै भ्रमजालमा पार्छ निर्वाचनताका जनतालाई झुक्याउन आकाश–पाताल जोड्छ । ए हो कि पार्छ ¤ पुँजीवाद भनेको चरम शोषणको राजपथमात्र होइन काम गरिखाने आम मान्छेको दुश्मन हो वास्तवमा । परन्तु, यो दुश्मन यति चलाख छ ठ्याक्कै झुक्याउन सक्छ । पुँजीवादको परिभाषा नै फट्याइँ हो । तर, सर्वसाधारण जनता पसिना बेचेर बाँचेको हुन्छ । यस्तालाई फस्ल्याङफुस्लुङ पार्न पुँजीवाद माहिर हुन्छ । आजका खास कामदार जनताको शोषण मुक्तिको सङ्घर्षमा अनवरत लागेका पार्टी र पार्टीका कार्यकर्ताहरू चुनाउताका चोर्न सिपालु हुन्छन् पुँजीवादीहरू । हाम्रा कैयौँ कार्यकर्ता चोरिएका अनगिन्ती घटना छन् । यसैले सैद्धान्तिक ज्ञानले सशक्त पार्न जरूरी छ सम्पूर्ण कार्यकर्तालाई । अझ कार्यकर्ता परिवार र आफन्तहरूलाई समेत सजग र सचेत पार्नु पनि उत्तिकै जरूरी छ । यसर्थ, काम गरिखाने मान्छेहरूको पार्टी अरू पुँजीवादी पार्टीभन्दा निकै होशियार भएन भने गन्तव्यमा पुग्न सकिँदैन । यो बुझौँ ।
Leave a Reply