भर्खरै :

खोप उपलब्ध नहुनुको कारण सरकारको निष्कृयता

नेपाल सरकारले एक सूचना जारी गरी पहिले घोषणा गरिएको ५५ वर्ष माथिका नेपाली नागरिकहरूलाई खोप दिने प्रक्रिया हाललाई स्थगित गरेको छ । खोपको उपलब्धता सुनिश्चित भएपछि मात्रै ५५ वर्षमाथि उमेर समूहका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट खरिद सम्झौता गरिएको खोप उपलब्ध भएपछि मात्रै दोस्रो प्राथमिकताको दोस्रो चरणमा रहेका व्यक्तिहरूलाई खोप दिइने छ । ६५ वर्षभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराउने समयसीमा मङ्लबार सकिएको छ । उक्त समयसीमा सकिएपछि अर्को दश दिन ५५ वर्षदेखि ६४ वर्षको उमेर समूहका व्यक्तिलाई खोप दिने बताइएको थियो ।
हुन त अहिले विश्वमै कारोनाविरुद्धको खोपको उच्च माग छ । तर समयमै खोप निर्माता कम्पनी र देशहरूसित सम्पर्क गरेका देशहरूले खोप पाइसकेका छन् । खोपको तेस्रो चरणको परीक्षण भइरहेकै बेला नेपाल सरकारले पनि खोप खरिदको लागि विभिन्न खोप निर्माता देशका सरकार र कम्पनीहरूसित सम्पर्क कायम गरिराख्नुपर्ने सुझाव विज्ञहरूले दिएकै थिए । आपसी अन्तरकलहमा फसिरहेको सरकारले त्यसमा ध्यान दिनै सकेन । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको असंवेदनशीलता निष्कृयताले त सबैलाई आश्चर्यचकित पारेकै थियो तर तीन महिनाभित्र सबै जनतालाई खोप दिलाउँछु भनी भाषण गर्ने प्रधानमन्त्री केपी ओलीको पनि ध्यान पुगेको देखिएन । नेपाल सरकारको यही ताल रहने हो भने ३ वा ६ महिनामा त के अर्को तीन वर्षभित्र पनि देशका बहुमत नागरिकहरूलाई खोप दिइसकेर हर्ड इम्युनिटीको अवस्थामा पुग्न सक्नेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *