भर्खरै :

बल्ल नागरिकता पाइन् मङ्गलीले

चितवन । जिल्ला प्रशासन कार्यालय भरतपुरमा पाँच दिन धाएपछि बनेको नागरिकता प्रमाणपत्र हातमा परेपछि मङ्गली प्रजा खुसी भए । उहाँलाई नागरिकता लिन ठूलो समस्या भयो । मङ्गलीलाई नागरिकता लिनको लागि वडा कार्यालयबाट सिफारिश बनाउन चार पाँच दिन र जिल्ला प्रशासनमा पाँच दिन गरी दश दिन लाग्यो । यस्तै झन्झट, बोझिलो र खर्च हुने भएर नै उहाँले यो उमेरसम्म नागरिकता लिन तदारुकता नदेखाएको हो । नागरिकको अज्ञानता, चेतनाको कमी र राज्यको असक्षमताका कारण नेपाली नागरिकता प्रमाणपत्र पत्र लिन सामान्य नागरिकलाई बोझिलो विषय बनेको छ । शिक्षित दीक्षित नागरिकलाई भने नागरिकता प्रमाणपत्र पाउन मङ्गली चेपाङलाई जस्तो सास्ती खेप्नु नपर्ला ।
मङ्गली चेपाङ कालिका नगरपालिका–९ स्थित टुमुटी गाउँमा वैवाहिकपछिको जीवन बिताउँदै आउनुभएको झन्डै तेह्र वर्ष पुग्यो । उहाँलाई नागरिकताको महत्व र नागरिकता बनाउनुपर्छ भनी मनमा लाग्दैनथ्यो । हिजोआज सरकारले ल्याएको अव्यवस्थित तथा सुकुमवासी समस्या समाधान गर्न भनी लगत सङ्कलन फार्म भर्न पर्दा नागरिकताको खोजी हुँदा उनले बल्ल महत्व रहेको थाहा थाहा पाइन् । आफू बस्दै आएको ऐलानी जमिनको पुर्जा पाउन भनी फार्म भर्नको लागि श्रीमान् र श्रीमती दुवैको नागरिकताको फोटोकपी र फोटो चाहिँदो रहेछ । तत्काल नागरिकता बनाएर ल्याउनुभन्दा आफू त अलमलमा परियो । श्रीमान् र दुई वर्षकी काखकी छोरी च्यापेर नागरिकता बनाउन भनी वडा कार्यालयमा सिफारिस लिनकै लागि पाँच दिन धाउनुपरेको मङ्गलीले सुनाउनुभयो ।
आजभोलि जे कामको लागि पनि नागरिकता चाहिँदो रहेछ । उहाँ भन्नुहुन्छ, “आफूले मात्र नागरिकता बनाउन हिँड्दा प्रक्रिया नै बुझ्न सकेनाँै । पछि गाउँकै चिनेको भाइको साथमा नागरिकता बनाउन हिँडेकोले नागरिकता लिन सक्यौँ । आज पनि नागरिकता बनाउन भोलि पनि भरतपुर जान लागेको सुनाउनुपर्दा गाउँलेहरु नै छक्कै पार्छन् ।” नागरिकता बनाउने उमेर धेरै नाघिसकेकोले पुलिस चौकीबाट पनि सरजमिन गराउनुपर्दा नागरिकता लिनको लागि मङ्गली चेपाङले थप समय खर्चिनुपरेको हो ।
उहाँको श्रीमान्को नागरिकता लिएको भर्खर एक वर्ष भएछ । गाउँमा आफूभन्दा बढी उमेरका नागरिकता नलिनेहरु थुप्रै रहेको उहाँको गुनासो छ । दैनिक ज्याला मजदुरी गरिखाने मङ्गलीको परिवारलाई नागरिकता बनाउने झमेलाले आर्थिक बोझ थोपरेको छ । आफूले भोगेको समस्या छोराछोरीले नभोगून् भनी जन्मदर्ता, नागरिकता प्रमाणपत्र लिने काम बेलैमा गरिदिने उहाँको भनाइ छ ।
मङ्गली चेपाङजस्ता धेरै अशिक्षित मानिसहरू नागरिकता प्रमाणपत्रको महत्व नबुझ्दा सरकारी प्रशासनिक काम कुरालाई झन्झटिलो ठान्ने, बोझिलो लिने हुँदा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइजस्ता घटना दर्ता गराउन पछि हटिरहेका हुन्छन् । सरकारी सेवा सुविधा आदि कामको लागि नागरिकता चाहिन्छ । गाउँ टोलमै जनप्रतिनिधि भए पनि नागरिकको समस्या भने अझै हट्न सकेको छैन । राज्यबाट पाउने सेवा सुविधा प्रत्येक नागरिकलाई समानरुपमा दिलाउन सरकारले तदारुकता देखाउनुपर्दछ । समान र सम्मानजनक जीवन जिउन पाउनु प्रत्येक नागरिकको अधिकार हो । पुर्जा पाउने आशामा पैतीस वर्षमा नागरिकता लिएका मङ्गलीले नागरिकता बनाउन लाग्दै गर्दा लगत सङ्कलन भर्ने म्याद सकिएर टोली पनि गाउँबाट फर्किसकेको छ । नागरिकता प्रमाणपत्र त बन्यो । तर, सरकारले आफू बस्दै आएको ऐलानी जमिनको पुर्जा दिने भन्ने लगत फर्म भर्न नपाउँदा मङ्गलीको आशा मरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *