भर्खरै :

झगडाको मूल

कथित ‘नेकपा’ को झगडा यतिबेला ‘एमाले’ मा सरेको छ । सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि यतिबेला ‘एमाले’ भित्रका दुई खेमाबीच आरोप प्रत्यारोप भइरहेको छ । दृश्यमा यस्तो देखिए पनि अहिलेका झगडियाहरूबीच कुनै पनि क्षण एकताको अर्को नाटक मञ्चन हुनसक्ने सम्भावनालाई नकार्न मिल्दैन । एमाले के हो भन्ने कुरा झन्डै तीन दशकको भुक्तमान पनि जनताले राम्ररी बुझिसकेका छन् । एमाले खास के हो भन्नेमा विवाद र बहस हुनसक्छ । तर, एमाले कम्युनिस्ट पार्टी होइन भन्ने विषयमा अब कुनै चर्काचर्की नहोला ।
यतिबेला ‘एमाले’ भित्रको झगडा पनि कुनै विचारधाराको लडाइँ होइन । नेताहरू सिद्धान्त नभएको झगडाको वास्तविकता छोप्न बेला–मौकामा केही थान सैद्धान्तिकजस्ता लाग्ने शब्दावली फलाक्छन् । केही नेताका तस्वीर झुन्ड्याउँछन् । तर, यो झगडाको भित्री आन्तर्य सिद्धान्त होइन, लेनदेन हो । ‘एमाले’कै कार्यकर्ताहरू यसमा प्रस्ट छन्, जनसमुदाय पनि यसमा प्रस्ट हुन जरुरी छ ।
एमालेको अल्पमतको सरकार छँदा मन्त्री बनेका नेताहरूले कमिसनमा एकलौटी गरेको भन्दै उनीहरूबीचको झगडालाई एमालेको तत्कालीन महाधिवेशनमा जबज र नयाँ जनवादी क्रान्तिको सिद्धान्तको जामा लगाइदिएर मूल द्वन्द्वलाई छोप्ने कोसिस भएको थियो । आज फेरि नेताहरूले सिद्धान्तको फलाकाबाजी गर्न थालेका छन् । यस्ता शाब्दिक अतिरञ्जनासँग नेताहरूबीचको जुङ्गाको लडाइँ र स्वार्थको द्वन्द्वको कुनै सरोकार छैन ।
विदेशमा उपचार गर्न गएका नेता ‘बाकसमा लास’ मात्र आउने भनी प्रचार गर्ने अनि उपचार गर्न विदेश जान लागेको नेतालाई शुभकामना दिँदा ‘मलाई तपार्इँको शुभकामना चाहिएको छैन’ जस्ता छुद्र बोली एमालेभित्रकै तीतोपिरो हो । सार्वजनिक भएका एमाले नेताहरूबीचको यस्ता अभिव्यक्तिले एमालेभित्र हुने झगडाको मूल विषय के हुनसक्छ भनी सहजै बुझ्न सकिन्छ । कुनै बेलाका आफ्नै नेतृ अहिलेका राष्ट्रपतिलाई कसरी बदनाम गर्न ‘एमाले’ जन नै तम्सिएका थिए, महिना दिनअघि मात्र नेपाली जनताले देखेका हुन् । कदाचित राजनीतिक र वैचारिक झगडा हुँदो त यस्तो व्यक्तिगत तहको तुच्छ बद्ख्वाइँमा उनीहरू गिर्न नहुने थियो । उनीहरूको अहिलेको झगडा आपसमा खुट्टा तानातानको झगडा हो । नैतिकता, अनुशासन, सिद्धान्त नभएको यो झगडाबाट नयाँ पुस्ताले के सिक्ने ?
एमालेका नेताहरूका यस्ता व्यवहारलाई देखाएर राजनीति भनेको यस्तै हो भन्ने निष्कर्ष पुग्नु भने अल्पज्ञान हुनेछ । कसैले उल्टो टोपी लगाएर हिंड्दैमा टोपी भनेको यस्तो हो भन्न मिल्दैन । एमालेका नेताहरूले राजनीतिलाई फोहोर बनाउँदैमा राजनीतिलाई नै फोहोर भन्न हुँदैन । राजनीति मूलतः सफा विषय हो, हुनुपर्छ । सामन्तवादी समाजमा शासकहरूले राजनीतिलाई आफ्नो शासन बलियो बनाउन प्रयोग गरे भने पुँजीवादी शासकहरू नाफाको रक्षा र वृद्धिको लागि राजनीतिलाई उपयोग गर्थे । उनीहरूको लागि राजनीति व्यक्तिगत नाफा घाटा र लेनदेनको विषय हुने गर्छ । तर, कोही पनि कम्युनिस्ट र कुनै पनि कम्युनिस्ट पार्टीको निम्ति राजनीति निजी हितको लागि हुनुहुन्न । राजनीतिक प्रभावलाई प्रयोग गरी कसैले निजी फाइदा उठाउँछ भने त्यो व्यक्ति वा समूह कम्युनिस्ट नामको भए पनि सामन्तवादी र पुँजीवादी चिन्तनकै अवशेष हो । शब्दमा आमूल परिवर्तनका जतिसुकै बखान गरे पनि राजनीतिलाई कसैले आफू र आफ्नाका निम्ति प्रयोग गर्छ भने त्यो मूलतः समाजलाई यथास्थितिमै अल्झाउने चिन्तन हो । ‘एमाले’का नेताहरूमा आज यस्तो चिन्तन हावी छ । तर, उनीहरूले यस्ता कुरुप पक्षलाई सिद्धान्तको जामा लगाइदिने गरेका छन् । स्वार्थको यस्तो द्वन्द्व कुनै न कुनै बिन्दुमा स्वार्थको मिलन हुने बित्तिकै एकतामा परिणत हुन पनि बेर लाग्दैन । त्यसकारण, उनीहरूको नीति र अभिव्यक्तिमा कुनै स्थिरता हुने गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *