भर्खरै :

“नेवाः संस्कार र चिकित्सा ज्योतिष” पुस्तक सार्वजनिक

भक्तपुर, ७ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ज्योतिष विज्ञानलाई हरेक माक्र्सवादीले आलोचनात्मक ढङ्गले हेर्ने बताउनुभएको छ ।
ज्योतिषी वीरेन्द्रप्रसाद कायस्थद्वारा रचित ‘नेवाः संस्कार र चिकित्सा ज्योतिष’ पुस्तक विमोचन गर्दै अध्यक्ष बिजुक्छेँले ज्योतिष शास्त्र अनुभवको आधारमा लिपिबद्ध गरिएको विद्या हो भन्नुभयो ।
ज्योतिष विद्यामा सरकारले चासो नराखेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विदेशी पुस्तकको सट्टा आफ्नै मौलिक कृति ‘नेवाः संस्कार र चिकित्सा ज्योतिष’ पुस्तक प्रकाशन हुनु सकारात्मक छ ।”
ज्योतिष विज्ञानको महत्वबारे प्रकाश पार्दै अध्यक्ष रोहितले भन्नुभयो, “इटाली, ग्रिसजस्ता पूर्वेली देशमा सामुद्रिक यात्रामा जाँदा कुन समयमा कति वेगले आँधीबेहरी आउँछ भन्ने थाहा पाउन ज्योतिषकहाँ नक्षत्रको ज्ञान लिन्थे ।”
बाग्मती प्रदेशका सभासद् सृजना सैँजूले अन्धविश्वासमा जकडिएको समाजमा संस्कार र ज्योतिष ज्ञानलाई विज्ञानको आँखाले विश्लेषण गर्न सके नयाँ पुस्ताको निम्ति खुराक हुने बताउनुभयो ।
पुस्तक जानकारीमूलक र अनुसन्धानमूलक हुने चर्चा गर्दै उहाँले विमोचनमा व्यक्त विचार विश्वविद्यालयको प्रशिक्षणजस्तो भएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् संस्कृतिविद् डा. जगमान गुरुङले नेवार संस्कृति लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै संस्कृतिको उन्नयन गर्न सङ्कुचित भावना राख्न नहुने बताउनुभयो ।
उपकुलपति गुरुङले नगर सभ्यताको चर्चा गर्दै भन्नुभयो, “मठ, मन्दिर र दरबार काठको थुप्रोमात्र होइन त्यो अमुर्त संस्कृति हो, तन्त्र, मन्त्रभित्र पनि ज्योतिष विज्ञान रहेको हुन्छ ।”
नेवारी संस्कृति, सम्पदा र संस्कार जोगाउन स्कूल र कलेजमा पनि पठन–पाठनको बन्दोबस्त हुनुपर्ने उहाँको भनाइ थियो ।
बाल विकास विशेषज्ञ एवम् अनुसन्धानकर्ता सानु अमात्यले नयाँ पुस्तालाई असल संस्कार दिनसके सही मार्गमा हिँडाउन सजिलो हुने विचार व्यक्त गर्नुभयो ।
सन्तानलाई सम्पत्तिमा होइन संस्कारमा धनी बनाउन सके स्वस्थ र समृद्ध समाज बनाउन सक्ने विचार व्यक्त गर्दै उहाँले संस्कारले नै जीवनमा आउने सङ्कटबाट मुक्ति पाउँछ भन्नुभयो ।
संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले नेवार संस्कारभित्र विकसित, सामाजिक तथा सांस्कृतिक विश्वास जित्दै आएको ज्योतिष विज्ञानकै एक अभिन्न अंश चिकित्सा ज्योतिष पनि हो भन्नुभयो ।
मौलिक एवम् अतुल्य संस्कृतिले समृद्ध भएको नेवाः संस्कार नेपाल र नेपालीको मूल पहिचान हो, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभभयो, “अङ्ग्रेज साम्राज्यको विस्तारपछि आयुर्वेद चिकित्सा ओझेलमा पर्न गयो, आयुर्वेदका विज्ञले सत्य निरूपण गर्न नसक्दा र राज्यले महत्व नदिँदा आयुर्वेद चिकित्सा प्रणाली पछाडि पर्न गएको हो ।”
बुढानीलकण्ठ स्कूलका सहायक प्रअ दीपकप्रसाद कायस्थले मौलिक संस्कार विश्वकै निम्ति उदाहरणीय भएको उल्लेख गर्दै संस्कार र संस्कृति एक विधि हो, असल संस्कारले मात्र सही मार्गमा हिँडाउन सकिन्छ भन्नुभयो ।
चिकित्सा शास्त्रलाई विज्ञानसँग तुलना गर्नुपर्नेमा जोड दिँदै उहाँले सही संस्कारले जीवनमा आउने सङ्कटबाट मुक्ति पाउँछ भन्नुभयो ।
महिला ज्योतिष एवम् प्राध्यापक रोडना घिमिरेले संस्कार र ज्योतिष ज्ञानलाई उचित ढङ्गले प्रयोग गर्न सके मनोदशा निवारण हुने विचार व्यक्त गर्नुभयो ।
घर बनाउनुअघि गरिएको माटो परीक्षणमा पनि विज्ञान रहेको उल्लेख गर्दै उहाँले भाषा प्रशिक्षण जरुरी छ भन्नुभयो ।
जोशी समाजका केन्द्रीय अध्यक्ष सुवर्णराम जोशीले प्रकाशित पुस्तक उपयोगी, पठनीय र सङ्ग्रहनीय भएको उल्लेख गर्दै संस्कृतिको संवद्र्धनमा जोड दिनुपर्छ भन्नुभयो ।
जोशी समाजका सहअध्यक्ष एवम् उपप्राध्यापक दीनानाथ पण्डितले पुस्तकको समीक्षा गर्दै पुस्तक नेवारदेखि बाहुन समुदाय र विभिन्न जनजाति तथा संस्कृतिसित सम्बन्धित भएको हुँदा सबैको निम्ति उपयुक्त छ भन्नुभयो ।
संस्कार, संस्कृति चाडपर्वहरू मनाउने नाउँमा त्यसको मर्म नबुझी देखासिकी गरेर आडम्बर र भीड मनोविज्ञानको संस्कृतिमा मानिसहरू लागिरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माकले घर बनाउनुअघि माटो परीक्षण गराउने काममा पनि वैज्ञानिक पक्ष रहेको उल्लेख गर्दै व्यावहारिक र विज्ञानसम्मत संस्कारलाई निरन्तरता दिनुपर्छ भन्नुभयो ।
पुस्तकका लेखक वीरेन्द्रप्रसाद कायस्थको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य सिमन्त शिल्पकारले गर्नुभएको थियो ।
इ. नरेश खत्रीले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । बाँसुरीको धुनमा पानसमा दीप प्रज्ज्वलित र राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।

One response to ““नेवाः संस्कार र चिकित्सा ज्योतिष” पुस्तक सार्वजनिक”

  1. Basanta Shrestha says:

    म पनि यो पुस्तक प्राप्त गर्न इच्छुक छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *