भर्खरै :

“पुँजीवादले महिलालाई सौन्दर्य र नाफाको वस्तु बनाउँछ”

बाँके, ७ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समसामयिक राजनीतिक विषयमा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष एवम् नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले समाजवादी देशका महिलाहरू हरेक क्षेत्रमा पुरूषभन्दा कम नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी देशमा महिला हिंसा तथा बलात्कारको घटना घटेको सुन्न र पढ्न पाइँदैन । तर, पुँजीवादी देशहरूमा महिलालाई सौन्दर्य वस्तु र नाफा कमाउने वस्तु बनाइने भएको हुँदा महिला हिंसाको घट्ना बढी हुने गर्छ ।”
कम्युनिस्ट पार्टीले शासन गरेका देशमा महिलाहरू कति सुरक्षित र सम्मानित हुन्छन् भन्ने उदाहरण समाजवादी देशहरू चीन, प्रजग कोरिया र क्युवाबाट थाहा पाउन सकिने उहाँले बताउनुभयो ।
केन्द्रीय अध्यक्ष थापामगरले भन्नुभयो, “हरेक जाति, भाषा र क्षेत्रमा वर्ग विभाजन हुन्छ । महिलाहरू पनि धनी र गरिब वर्गका छन् । नेमकिपा निरपेक्ष महिला स्वतन्त्रताको पक्षमा नभई कामदार महिलाहरूको मुक्ति र समानताको लागि सङ्घर्षरत छ ।”
सर्वसाधारण जनतामा राजनीतिक सचेतना नहुँदा शासक दलका नेताहरूले जनताको भावनामाथि खेलवाड गरिरहेको, निर्वाचनमा झूठा आश्वासन दिएर जनताको मत लिइरहेको र सरकारमा पुगेपछि तिनै शासक पार्टीले जनतालाई ठगिरहेको उहाँले बताउनुभयो ।
शासक दलका तथाकथित कम्युनिस्टहरू नक्कली भएको घटनाक्रमले पुष्टि गरिरहेको चर्चा गर्दै केन्द्रीय अध्यक्ष थापामगरले प्रश्न गर्नुभयो, “सरकार चलाउने दलहरूले जाँड–रक्सी खुवाएर चुनाव जितिरहेका छन् भने तिनीहरूले समाजलाई कसरी जाँड–रक्सी मुक्तक्षेत्र घोषणा गर्न सक्लान् ?”
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले संसद् विघटन गरी नयाँ निर्वाचनमा जाने प्रस्तावलाई नेमकिपाले औचित्यपूर्ण मानेको उल्लेख गर्दै निर्वाचन देशद्रोही र जनविरोधी नेताहरूलाई सजाय दिने र पुँजीवादविरूद्ध घृणाभाव जगाई समाजवादी विचार प्रचार गर्ने राम्रो अवसर भएको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो, “संसद् पुनःस्थापनालाई एमसीसी सम्झौता नेपाली संसद्बाट पारित गराउने आश्वासनसँग सट्टापट्टा गर्न खोजिएको त होइन ?”
केन्द्रीय सदस्य ज्याख्वले भन्नुभयो, “नेपाली जनता देशको परिवर्तनप्रति जुझारू छन्, अतिक्रमित भूमि फिर्ता माग्न आन्दोलित हुन्छन्, देश विकासमा समर्पित छन् । तर, शासक दलहरू जनभावनाविपरीत विदेशी शक्तिसामु पाउ मोल्छन् ।” शासक दलहरू फुट्नुमा नेपाली जनतालाई कुनै दुःख नभएको तर, शासक दलहरू सत्तास्वार्थका लागि आपसमा लडिरहँदा विदेशी शक्तिले आक्रमण गर्ने र देशको सार्वभौमसत्ता कमजोर हुने खतराप्रति केन्द्रीय सदस्य ज्याख्वले चिन्ता व्यक्त गर्नुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले शासक पार्टीहरूको अकर्मण्यताको कारण ग्रामीण भेगका जनता कठिन जीवन निर्वाह गर्न बाध्य भइरहे पनि सुन्दर भविष्य निर्माण गर्न तिनीहरू समाजवादी क्रान्तिप्रति समर्पित रहेको बताउनुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित हुनु आवश्यक भएको चर्चा गर्दै व्यक्तिमा स्वार्थ र घमण्डको भावना उत्पन्न भएमा पतनको दिन सुरू हुने बताउनुभयो । उहाँले भन्नुभयो, “शासक दलहरूले धमिलो पानीमा माछा मार्ने कार्य गरिरहेका छन् । नक्कली कम्युनिस्टहरूबाट देश र जनतालाई जोगाउनुपर्ने अहिलेको प्रमुख दायित्व हो ।”
नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनमा सर्वहारा वर्गका महिला नेतृहरू क्लारा जेट्किन र रोजा लक्जेम्वर्गको भूमिकाबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कामदार जनताको सङ्घर्षशील भावनाले मात्र समाजवादी क्रान्ति सफल हुन्छ । बलात्कार गरी हत्या गर्ने जघन्य अपराधीहरूलाई फाँसीको सजाय दिइनुपर्ने अडान नेक्रामहिला सङ्घको छ ।”
आयोजक समितिका अध्यक्ष कोकिला शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कल्पना थापा (भण्डारी), नवीन शाहीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *