भर्खरै :

कोरोना सङ्क्रमण रोक्न सबै उपाय अपनाउनु आवश्यक

कोरोना भाइरस फैलिएको पनि वर्ष दिनभन्दा बढी भयो । तर, अझै यो रोग अन्त्य भएको छैन । रोग अन्त्य नभए पनि सर्वसाधारण जनतालाई कुनै चिन्ता र चासो छैन । रोगको परवाह नै नगरी सर्वसाधारण नागरिक भीड, हूल नभनी जहाँ पनि झुम्न थालेका छन् । कहीँकतै जाँदा मास्क राख्ने मानिसहरूको सङ्ख्या नगण्य या कमैमात्र देखिन्छ । भौतिक दुरीको त अहिले ख्यालै गरेको देखिँदैन । त्यस्तै स्यानिटाइजर लाउने या साबुनले हात धुने बानी पनि घटेको देखिन्छ । सर्वसाधारण जनताको हिँडडूल, साथीभाइको भेटघाट, राजनीतिक प्रशिक्षण, भेला, सभा, किनमेल आदिको स्थिति हेर्दा अब नेपालमा कोरोना भाइरस छँदै छैन भन्ने अनुभूति हुन्छ ।
यसैबीच नेपाल सरकारले छिमेकी देश भारतमा एकैदिन ४० हजारभन्दा बढीमा कोरोना सङ्क्रमित भएको कारण देखाइ सभा, जुलुस र भीड नगर्न सूचना जारी ग¥यो । नेपालमा पनि सङ्क्रमण फैलिने डरले सरकारले आम जनताको ध्यानाकर्षण गरेको हो । सरकारले भेला नगर्न आह्वान गरेर आफ्नो जिम्मेवारी पूरा हुँदैन । कोरोना सङ्क्रमण भारतबाट फैलिने सम्भावना भएको हुँदा भारतबाट नेपाल छिर्ने नेपाली र भारतीयहरूको स्वाब परीक्षण गर्नुपर्ने हुन्छ । एकातिर सरकारले नेपाल–भारतबीच ओहोरदोहोर हुनेहरूको स्वास्थ्य परीक्षण गर्नुपर्छ भने अर्काेतिर स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था सरकारले निःशुल्क गर्नुपर्छ ।
रोग फैलिन नदिन सङ्क्रमितहरूलाई राख्ने थलो क्वारेन्टिनको पर्याप्त व्यवस्था गर्नुपर्छ । खोप दिने अभियानलाई निरन्तरता दिइनुपर्छ । खोप कुनै एक देशबाट सम्भव नभएमा अर्काे देशबाट लिइनुपर्छ । खोप रोक्ने, क्वारेन्टिनको व्यवस्था नगर्ने हो भने नेपालमा फेरि यो रोग फैलिन सक्छ । कोरोना प्रकोपको रूपमा समुदायमा फैलिएमा उद्योग, कारखाना, व्यापार व्यवसायमा असर पर्छ । पसल खुल्दैन । स्कूल, कलेज र कार्यालयमा असर पर्छ । अन्ततः काम बन्द भएर रोजगारीको समस्या हुन्छ । फेरि समाजमा आकुलब्याकुल हुन्छ । घरमै बसेर जीवन कटाउनुपर्ने हुन्छ । यसको लागि आम नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्ने र सरकारले पनि सङ्क्रमण नफैलाउन, रोगको निदान गर्न भएभरको उपाय अँगाल्नुपर्छ र रोग फैलिन नदिन रोकथाम गर्ने उपाय अपनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *