भर्खरै :

समाजवादी शिक्षा व्यवस्थाबारे केही कुरा

सन् १८४८ मा प्रथमपटक प्रकाशित माक्र्स र एङ्गेल्सकृत कम्युनिस्ट घोषणापत्रमा शिक्षाबारे यस्तो कुरा उल्लेख छ– ‘सार्वजनिक विद्यालयमा सबै बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिने । बालबालिकालाई अहिलेजस्तो कारखानामा काम गराउन प्रतिबन्ध लगाउने । शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्ने ।’
सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले शिक्षाबारे सूत्रवतरूपमा लेख्नुभएको यही हरफ समाजवादी शिक्षा व्यवस्था सञ्चालनको निम्ति मार्गदर्शक बनेको छ । राज्यले सम्पूर्ण बालबालिकाको शिक्षाको जिम्मेवारी लिने र शिक्षालाई उत्पादन श्रमसँग मिलाउने शिक्षा नै समाजवादी शिक्षाको आधारभूत विशेषता हो । माक्र्सको यो सिद्धान्तलाई लागु गर्दा विभिन्न देशले विभिन्न अनुभवहरू सँगालेका छन् । समाजवादी देशहरूले थोरै समयमा गरेको आर्थिक–सामाजिक प्रगतिको एक मुख्य कारण क्रान्तिपछि त्यहाँ लागु गरिएको समाजवादी शिक्षा व्यवस्था हो ।
समाजवादी शिक्षा क्रान्तिको आधार
कुनै पनि देशमा कामदार वर्गको नेतृत्वमा हुने क्रान्तिबाट समाजवादी व्यवस्था स्थापना हुन्छ । समाजवादी व्यवस्थामा उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण वा सामाजिकीकरण गरिएका हुन्छन् र सत्ताको बागडोर मजदुर वर्गको हातमा हुन्छ । सीमित पुँजीपति एवम् सामन्त वर्गद्वारा बहुसङ्ख्यक जनतामाथि हुँदै आएको शोषण एवम् दमनको अन्त्य हुन्छ ।
क्रान्ति एक निरन्तर प्रक्रिया हो । कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभएझैँ अहिलेसम्मको मानव समाजको इतिहास नै वर्गसङ्घर्षको इतिहास हो । मजदुर वर्गले शासनसत्ता आफ्नो हातमा लिइसकेपछि पनि समाजवादी क्रान्तिलाई जारी राख्नुपर्ने हुन्छ । राज्यसत्ता कब्जा गर्न कामदार वर्गमा राजनीतिक एवम् वर्गीय चेतना आवश्यक हुन्छ भने समाजवाद निर्माणको निम्ति पनि समाजवादी शिक्षा उत्तिकै आवश्यक हुन्छ । शिक्षाबिना न सामाजिक विकास सम्भव हुन्छ न त राष्ट्रिय समृद्धि नै । त्यसैले शिक्षा क्रान्तिको निम्ति एक निर्णायक तत्व हो भने शिक्षाले क्रान्तिको रक्षा पनि गर्दछ ।
समाजवादप्रति उत्तरदायी नागरिक
पुँजीवादी समाजमा सामूहिक हितभन्दा व्यक्तिगत हितलाई प्राथमिकता दिइन्छ भने समाजवादी समाजमा समाजको उन्नतिबाट व्यक्तिले स्वतः प्रगति गर्छ भन्ने अवधारणा रहेको हुन्छ । पुँजीवादी समाजमा एक बालकलाई आमाबुबाले आफ्नो सम्पत्तिको रूपमा लिई उसको स्याहारसुसार, पढाइलेखाइको जिम्मेवारी आफैले लिन्छन्, मानिस बुढो भएपछि छोराछोरीले हेरविचार गर्छन् र आफूले कमाएको सम्पत्तिको हकदार छोरा वा छोरीमात्र हुन्छन् । त्यसैले छोराछोरी पनि आमाबुबाप्रति मात्र उत्तरदायी हुन्छन् । मेरो पढाइको निम्ति मेरा बाबाआमाले यति रूपैयाँ खर्च गर्नुभयो, अब मैले त्यो लगानी उठाउनुपर्छ भन्ने विचार उसको दिमागमा खेलिरहन्छ ।
यता समाजवादी शिक्षा व्यवस्थाले ‘मेरो छोरा’ वा ‘मेरी छोरी’ को ठाउँमा ‘समाजको छोरा वा छोरी’ भन्ने भावनाको विकास गराउँछ । व्यक्ति समाजको सम्पत्ति हो वा मानव जातिकै सम्पत्ति हो भन्ने भावना नै समाजवादी भावना हो । समाजको अस्तित्वविना कोही बाँच्न र हुर्कन सक्दैन ।
शिक्षालाई उत्पादन श्रमसँग कसरी जोड्ने
समाजवादी शिक्षा व्यवस्थाले श्रम र श्रमिकप्रति आदरभाव जगाउँछ र विद्यार्थीलाई उत्पादनमुखी काम गर्न उत्साहित गर्छ । श्रमले नै मानव समाजको विकास एवम् समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । यो संसारका अनगिन्ती भव्य सम्पदाहरू र विकास निर्माणहरू मानव श्रमकै उपज हुन् ।
शोषणमा आधारित पुँजीवादी व्यवस्थामा बसीखाने शोषक–सामन्तहरू मिठोमिठो खान्छन्, राम्रोराम्रो लगाउँछन् र तजाततै उनीहरूकै रवाफ हुन्छ भने भारी बोक्ने, भाँडा माझ्ने, बाटो र चर्पी सफा गर्ने, खेत खनजोत गर्ने र कारखानामा काम गरी गुजारा चलाउने श्रमिकले अघाउँजी खान पाउँदैनन्, एकसरो कपडा लाउन पाउँदैनन्, ओत लाग्ने छानो हुँदैन र अन्य हेलाहोचो सहनु पर्दछ । समाजवादी व्यवस्थामा काम नगर्ने, अल्छी वा ठगले खान पनि पाउँदैन र काम नगर्नेलाई घृणा पनि गरिन्छ ।
सन् १९४९ को क्रान्तिपछि चीनमा शिक्षालाई उत्पादन श्रमसँग जोड्ने समाजवादी सिद्धान्त लागु गरियो । हरेक प्राथमिक विद्यालयले विद्यार्थीको कार्यशाला बनाए । ती कार्यशालाहरू नजिकका कारखानासँग साझेदारीमा सञ्चालन हुन्थे । कारखानाहरूले कच्चा पदार्थ उपलब्ध गराउँथे र विद्यार्थीलाई कसरी काम गर्ने र सामानको गुणस्तर कायम गर्ने भन्ने तालिम दिन्थे । यस्ता प्राथमिक कक्षाका केटाकेटीलाई व्याडमिन्टनका ककहरू प्याकेजिङ गर्ने, खेलौनाहरूमा रड्डरोगन गर्नेजस्ता सजिला कामहरू दिइन्थ्यो । ३–४ कक्षासम्मका केटाकेटीलाई कक्षाकोठा तथा आँगन सफा गर्नेजस्ता सजिलो काम गर्न दिइन्थ्यो ।
५–६ कक्षाका विद्यार्थीले १५ दिनमा जम्मा ६ घण्टा जति समय उत्पादनमुखी काममा लगाउनुपथ्र्यो । उनीहरूले बनाएका सामानहरू कारखानाले किन्थे र विद्यार्थीहरू नजिकका कारखाना र ग्रामीण कम्युनहरूमा समेत अध्ययन भ्रमण गर्थे ।
यता माध्यमिक तहका विद्यार्थी पनि विद्यालयको कार्यशालामा काम गर्नुको साथै वर्षमा एक महिने कलेज बिदामा घर नजिकैको कारखाना वा कम्युनमा काम गर्थे ।
चिनियाँ नेता माओ त्सेतुङ भन्नुहुन्थ्यो– “तपाईँ कालोपाटीमा हलो जोतेर अन्न उत्पादन गर्न सक्नुहुन्न ।”
समाजवादी देशका विद्यार्थीलाई आफ्नै पौरखले देश बनाउनु र आत्मनिर्भर हुनु गौरवपूर्ण काम हो भन्ने सिकाइन्छ । विद्यार्थीले किताबबाट मात्र नभई शारीरिक श्रमबाट पनि धेरै कुरा सिक्छन् । यसै सन्दर्भमा माओ त्सेतुङले सन् १९६६ मा शिक्षाको विषयमा एउटा महत्वपूर्ण निर्देशन दिनुभएको थियो । उहाँले भन्नु भएको थियो – “विद्यार्थीको मुख्य काम पढ्नु हो । पढ्नुको साथै उनीहरूले अरू कुरा जस्तै औद्योगिक काम, कृषि र सैनिक विषय पनि सिक्नुपर्दछ ।”
प्रजातान्त्रि जनगणतन्त्र कोरियामा सन् १९५३ मा विद्यालयमा ‘अनिवार्य काम प्रणाली’ लागू गरिएको थियो । जसअनुसार प्राथमिक तहका विद्यार्थीले वर्षमा १० दिन, निम्न माध्यमिक तहका विद्यार्थीले २ देखि ४ हप्ता र माध्यमिक तहका विद्यार्थीले ५ हप्ता र कलेज तहमा पढ्ने विद्यार्थीले ३ महिनासम्म काम गर्नुपथ्र्यो ।
एकजना बालकले पुस्तक र शिक्षकका शब्दहरूबाट भन्दा आफ्नो निजी अनुभवबाट बढी सिक्छ । त्यतिमात्र होइन, शारीरिक र मानसिक विकासको निम्ति श्रम गर्नु धेरै आवश्यक छ ।
एउटा समाजवादी देशमा हुने विकास निर्माणका काममा जनसहभागिताको कारण तीव्रतर परिवर्तनहरू भइरहेका हुन्छन् । प्राविधिक क्षेत्रमा दैनिक नयाँनयाँ प्रगतिहरू भइरहेका हुन्छन् । त्यसैले एक विद्यार्थीले समय र स्थितिअनुसार नयाँनयाँ सिप सिकिराख्नुपर्ने हुन्छ ।
सैद्धान्तिक ज्ञानमात्र पाएको व्यक्ति व्यावहारिक जीवनमा असफल हुनसक्छ । विद्यालयमा पढाएको कुरालाई प्रयोगात्मकरूपमा व्यावहारिक क्रियाकलापसँग जोड्दा त्यस्तो शिक्षा प्रभावकारी हुन्छ । उत्पादन कार्यमा संलग्न विद्यार्थीले आधुनिक उत्पादन प्रविधिका साथै ज्यावल र यन्त्रहरू चलाउन सिक्छन् । विद्यार्थीलाई उत्पादनमुखी काममा लगाउँदा भने उनीहरूको पढाइमा हानि नपुगोस् भन्ने कुरामा ख्याल गरिएको हुन्छ ।
शिक्षालाई उत्पादन श्रमसँग जोड्न सकिएमा बेरोजगारी समस्या समाधान हुन्छ । शिक्षा आर्जन गर्न विद्यार्थी थप उत्साहित हुन्छन् किनभने सिप र योग्यता भएको व्यक्तिले रोजगारी पाउने सम्भावना बढी हुन्छ ।
समाजवादी व्यवस्थामा शारीरिक श्रम र मानसिक श्रमको पारिश्रमिकमा देखिएको अन्तरलाई घटाउँदै लगी आर्थिक समानता कायम गरिन्छ । एउटा इन्जिनियरको तलब र गाडी चालकको तलबमा खास अन्तर हुँदैन । यसले गर्दा समाजवादी देशमा शारीरिक श्रमप्रति सम्मान बढ्दै जान्छ ।
अनिवार्य र निःशुल्क शिक्षा
समाजवादी देशमा शिक्षा अनिवार्य र निःशुल्क हुन्छ । समाजको सानो समूह र थोरै व्यक्तिले मात्र शिक्षा पाउने पुँजीवादी व्यवस्थाको रोगको उपचार गरी सबैको निम्ति शिक्षाको अवसर दिइएको हुन्छ । यसलाई व्यक्तित्व विकासमा समान अवसर पनि भन्न सक्छौँ । समाजवादी व्यवस्थामा शिक्षालाई अधिकारको रूपमा स्थापितमात्र गरिएको हुन्न, बरु शिक्षालाई अनिवार्य पनि बनाइएको हुन्छ । शिक्षालाई निःशुल्क गरेपछि अनिवार्य गर्न सकिन्छ ।
प्रजग कोरियाको संविधानको धारा ४५ मा ११ वर्षको अनिवार्य शिक्षाबारे उल्लेख गरिएको छ, त्यस्तै धारा ४७ मा विद्यालयका विद्यार्थीलाई निःशुल्क शिक्षा दिने र कलेज एवम् विश्वविद्यालयका विद्यार्थीलाई भत्ता दिने बन्दोबस्त गरिएको छ ।
त्यहाँ सन् १९५६ मा प्राथमिक तहमा अनिवार्य शिक्षा लागु गरिएको थियो । त्यस्तै सन् १९५८ मा माध्यमिक तहमा र सन् १९६७ मा नौ वर्षे अनिवार्य प्राविधिक शिक्षा र सन् १९७२ मा ११ वर्षे अनिवार्य शिक्षा लागु गरिएको थियो ।
समाजवादी क्युवाको संविधानको धारा ३९ मा र चीनको संविधानको धारा १९ मा अनिवार्य र निःशुल्क शिक्षाबारे उल्लेख छ ।
अनिवार्य शिक्षा लागु गर्न शिक्षा निःशुल्क हुनैपर्छ । निःशुल्क शिक्षाविनाको अनिवार्य शिक्षा नाममात्रको हुनजान्छ । समाजवादी देशमा जनतालाई शिक्षा दिने पूर्ण जिम्मेवारी राज्यले लिने भएकोले अनिवार्य शिक्षा पूर्ण सफल हुन्छ ।
पुँजीवादी देशमा पैसाअनुसारको शिक्षा प्राप्त हुन्छ, निःशुल्क शिक्षा पनि नाममात्रको हुन्छ, कुनै न कुनै बहानामा शिक्षालयहरूले शुल्क उठाइरहेका हुन्छन् । किनभने, सबै पुँजीवादी एवम् सामन्तवादी समाजमा धनी र गरिब वा पुँजीपति र श्रमिक या सामन्त र किसान गरी दुई वटा वर्ग हुन्छन् । धनी वर्गको शासनसत्तामा गरिबलाई राम्रो शिक्षा दिने, अनिवार्य र निःशुल्क शिक्षा लागु गर्ने कुरा नारामा सीमित हुन्छ । समाजवादी देशको अनिवार्य र निःशुल्क शिक्षाको अर्थ पढाइ शुल्कमात्र लिइँदैन भन्ने होइन । राज्यले विद्यार्थीको निम्ति आवश्यक सम्पूर्ण शैक्षिक सामग्री, विद्यालयको पोसाकलगायत खाजा र छात्रावासको समेत बन्दोबस्त गरेको देखिन्छ ।
पुँजीवादी देशमा अभिभावकले कामबाट फुर्सत नपाउँदा छोराछोरीलाई पर्याप्त समय दिनसकेका हुँदैनन् । कतिपय अभिभावकसँग केटाकेटीको पठनपाठनमा सघाउने क्षमता पनि हुँदैन । अधिकांश समय केटाकेटीसँग बिताउने आमाले कखरा पनि चिनेको हुँदैन भने शिक्षण विधि र पाठ्यक्रम एवम् पाठ्यपुस्तकमा छिटोछिटो परिवर्तन भएको अवस्थामा साक्षर वा प्रवेशिका उत्तीर्ण गरेको अभिभावकले छोराछोरीको पाठ बुझेर पढाउन वा सहयोग गर्न सक्दैनन् । पैसा नहुनेले घरमा कोही शिक्षक बोलाएर पढाउन वा ‘ट्युसन’ को व्यवस्था गर्न सक्दैनन् । राज्यले त्यसको निम्ति केही पनि बन्दोबस्त गरेको हुँदैन ।
त्यस्तै पुँजीवादी समाजमा अधिकांश केटाकेटीको घरको वातावरण राम्रो हुँदैन, गृहकार्य गर्न शान्त कोठा हुँदैन, आरामपूर्वक बस्ने कुर्सी हुँदैन । घरको कोठा सा¥है सानो हुँदा एकै ठाउँमा कोचिएर बस्नुपर्ने हुन्छ । पढाइको निम्ति आवश्यक कापीकलम जस्ता न्यूनतम शैक्षिक सामग्री पनि पाउन गा¥हो हुन्छ । छोराछोरीको पढाइमा हौसला दिने मान्छेको अभाव हुन्छ । त्यसैले पुँजीवादी समाजमा व्यक्तित्व विकासमा समान अवसरको कुरा ‘आकाशको फल’ मात्र हुन्छ ।
समाजवादी व्यवस्थामा गाउँ र सहरबिचको भेद हटाउने प्रयासअन्तर्गत गाउँगाउँमा समेत विद्यालय सञ्चालन गरिन्छ भने विद्यालय नभएका गाउँका केटाकेटीलाई समुदायमै पढाउन शिक्षक पठाइएको हुन्छ ।
काम गर्दै पढ्ने प्रणाली
विभिन्न उत्पादनशील काममा लागेका मजदुर र किसानले कामको साथै अध्ययनसमेत गर्ने बन्दोबस्त समाजवादी देशमा मात्रत गरिएको छ । ८ घण्टा काम, ८ घण्टा अध्ययन एवम् मनोरञ्जन र ८ घण्टा आरा मगर्ने नीति समाजवादी देशहरूमा लागु हुन्छ ।
कलेज शिक्षा नपाएका तर शिक्षामा निरन्तरता दिन चाहने नागरिकलाई कामसँगै पढ्ने बन्दोबस्त चीनमा लागु छ । चीनमा किसान कलेज, मजदुर कलेज, रात्रि विद्यालय तथा दूर शिक्षामा सहभागी भई श्रमिकहरू आफ्नो अध्ययन जारी राख्न सक्छन् । त्यस्तै प्रौढ मावि र प्रौढ प्राविधिक तालिम केन्द्रहरूसमेत खोलिएका छन् ।
प्रजग कोरियामा पनि मजदुरहरूलाई मजदुरकै कलेजमा नयाँ प्रविधि र सिप सिकाइन्छ । हरेक दिन उद्योगको काम सकेपछि २ घण्टा राजनीतिक एवम् प्राविधिक विषयमा कक्षा सञ्चालन हुने गरेको पाइन्छ । ग्रामीण कृषि मजदुरहरू कृषि कलेजमा गई आफ्नो मनपर्ने विषय अध्ययन गर्दछन् । यसबाट जीवनमा अध्ययन गर्ने बानी बस्नुका साथै त्यसअनुकूलको वातावरण पनि बन्दै जान्छ ।
व्यवहारिक शिक्षा
“समाजवादी शिक्षाको उद्देश्य जनतालाई क्रान्तिकारी कम्युनिस्ट तथा सिर्जनशील बनाउनु हो । समाजवादी शिक्षाले समाजवादी प्रणाली तथा कामदार जनताको क्रान्तिकारी उद्देश्य पूरा गर्नुपर्दछ । समाज, जनता र समाजवाद र साम्यवादको निम्ति सङ्घर्ष गर्ने कम्युनिस्ट क्रान्तिकारी बनाउनुपर्दछ ।” प्रजग कोरियाका नेता किम इल सङले सन् १९७७ सेप्टेम्बर ५ मा कोरियाली मजदुर पार्टीको पाँचौँ केन्द्रीय समितिको बैठकमा ‘समाजवादी शिक्षामा शोधपत्र’ शीर्षकमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा उपर्युक्त कुरा उल्लेख छ ।
जसरी पुँजीवादी शिक्षाले पुँजीवादी व्यवस्थाको सेवा गर्छ, त्यसरी नै समाजवादी शिक्षाले समाजवादी व्यवस्थाको सेवा गर्नुपर्छ । समाजवादी शिक्षाले निःस्वार्थरूपले देश र जनताको सेवा गर्न उत्प्रेरित गर्दछ । विद्यार्थीलाई सामाजिक काममा लगाएर उनीहरूमा सामूहिक भावनाको विकास गराउने, समाजमा विद्यमान खराब पक्ष सुधार गरी सामाजिक परिवर्तन ल्याउने र शोषण र दमनको प्रतिकार गर्ने, श्रमिकहरूको व्यवस्था स्थापना गर्न सङ्घर्ष गर्ने र समाजवादी व्यवस्था रक्षाको निम्ति एक ढिक्का भएर लड्ने शिक्षा दिनु नै समाजवादी शिक्षाको मुख्य लक्ष्य हो ।
कामरेड किम इल सङ अगाडि भन्नुहुन्छ – “एक कम्युनिस्टले प्रकृति र समाजको साथै साम्यवादी विचारबारे पनि राम्रो ज्ञान राख्नुपर्छ ।”
कुनै पनि मान्छेमा वैज्ञानिक विश्व दृष्टिकोणको आवश्यकता पर्छ । ईश्वर र धर्मलाई प्रतिक्रियावादी वर्गले सत्ता टिकाउने आधार हतियार बनाएको छ । ईश्वरले पृथ्वी र चराचर जगतको सृष्टि गरेको कुरा विज्ञानले स्वीकार गर्दैन । धर्मले ईश्वर, भूतप्रेत, स्वर्गनर्कको कुरा गर्दछ । त्यसैले शिक्षाले विज्ञान वा प्रकृतिका नियमविपरीतका कुराको खण्डन गर्दै समाजमा वैज्ञानिक चिन्तनको विकास गर्न मद्दत गर्नुपर्छ ।
त्यस्तै साम्यवादी चिन्तनले मानिसलाई क्रान्तिकारी बनाउँछ । क्रान्तिकारी विचार सङ्घर्षको महत्वपूर्ण हतियार हो । त्यस्तो विचारले मानिसलाई दृढ बनाउँछ, साहसी बनाउँछ, शत्रुसँग रत्तीभर पनि नझुक्ने स्वाभिमान बनाउँछ ।
मजदुर वर्गको हितको निम्ति काम गर्न प्रतिक्रियावादी वर्गका अवशेषहरूलाई समूल नामेट पानुपर्नेमा जोड दिँदै का. किम इल सङ भन्नुहुन्छ – “शिक्षाको सम्पूर्ण क्षेत्रमा हामीले सामन्तवाद र पुँजीवादका सबै अवशेषहरूलाई समाप्त पार्नुपर्छ त्यसपछि समाजवादी शिक्षा, समाजवादी समाज र मजदुर वर्गको इच्छाअनुसार विकास हुन्छ ।”
क्रान्तिपछि पनि प्रतिक्रियावादी सोचहरू बाँकी सरहिरको हुन्छन् । पुँजीवाद एवम् सामन्तवादका प्रभावहरू एकैबाजी जनताको दिमागबाट निकाल्न सकिन्न, तर नयाँ विचारको प्रभावले मानिसमा पुरानो विचारप्रति अविश्वास पैदा हुन्छ ।
कोरियाली नेता किम इल सङ शिक्षालाई क्रान्तिकारी अभ्याससँग जोड्नुपर्ने कुरामा यसरी जोड दिनुहुन्छ – “शिक्षालाई व्यवहारसँग जोडेपछि मात्र यसले आफ्नो उद्देश्य पूरा गर्दछ ।” उहाँ थप्नुहुन्छ, “सिद्धान्तको निम्ति सिद्धान्त र ज्ञानको निम्ति ज्ञान वा क्रान्तिकारी अभ्यासबाट पृथक शिक्षा हाम्रो समाजको निम्ति काम लाग्दैन ।”
पाठ्यक्रममा राजनैतिक तथा सैद्धान्तिक शिक्षा
चीनमा अहिले पनि सबै विद्यार्थीलाई क्रान्ति, क्रान्तिकारी व्यक्तित्वहरूको जीवनी र माक्र्सवादको अध्ययन र अध्यापन गराइन्छ । त्यहाँ माक्र्स, लेनिन र माओका जीवनी, कार्य र विचारको अध्यापन हुन्छ प्रजग कोरियामा पनि सबै विद्यार्थीलाई जुछे विचार पढाइन्छ । का. किम इल सङ लेख्छन् – “जुछे विचारले विश्वकै वैज्ञानिक र क्रान्तिकारी दुष्टिकोण सिकाउँछ, यसले विद्यार्थीलाई क्रान्ति र निर्माणमा सहभागी गराउनुको साथै उनीहरूलाई स्वतन्त्र, सिर्जनशील र क्रान्तिकारी बनाउँछ ।”
नेता किम इल सङको विचारमा वर्गीय शिक्षा कम्युनिस्ट शिक्षाको मुख्य कुरा हुनुपर्छ । यसबाट विद्यार्थी निःस्वार्थरूपमा मजदुर वर्गको निम्ति सङ्घर्ष गर्न उत्प्रेरित हुन्छन् । क्रान्तिका शत्रुलाई घृणा नगर्ने मानिसले दृढतापूर्वक सङ्घर्ष गर्न सक्दैनन् ।
समाजवादी शिक्षामा व्यक्तिगत स्वार्थको ठाउँमा सामूहिक हित गर्ने शिक्षा सिकइन्छ । पाठहरू हुन्छन् । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने नारा समाजवादी व्यवस्थामा सार्थक भएको देखिन्छ ।
समाजवादी शिक्षामा नागरिकमा कम्युनिस्ट आचरण र जीवनशैलीको विकास गर्ने, सर्वहारा अन्तर्राष्ट्रवादी भावनाको विकास गर्ने, समाजवादी देशभक्तिको भावनाबाट प्रेरित गर्ने शैक्षिक पाठ्यक्रम एवम् पाठ्यपुस्तकको विकास गरिउको हुन्छ ।
वैज्ञानिक र प्राविधिक शिक्षा
प्रजग कोरियामा एउटा नारा व्याप्त छ – ‘सम्पूर्ण जनताले नयाँ प्रविधि सिकौँ र नयाँ प्रविधि बनाऔँ ।’ प्राविधिक र सांस्कृतिक क्रान्तिले समाजवादी निर्माणमा ठूलो भूमिका खेल्छ ।
“साधारणतया माध्यमिक तहको शिक्षामा सम्पूर्ण विद्यार्थीहरू आधुनिक उद्योगसँग जोडिन विशेष प्रकारको प्राविधिक विषयको अध्ययन गर्न उत्साहित गर्नुपर्दछ” भन्ने किम इल सङको भनाइ यहाँ मननीय छ ।
शारीरिक शिक्षा
विद्यार्थीको वहुआयामिक विकासको निम्ति शारीरिक शिक्षा दिइन्छ । यो राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय हो । क्रान्तिकारी सङ्घर्षमा भाग लिन र शक्तिशाली र समृद्ध समाज निर्माण गर्न विद्यार्थी र युवाहरूको शरीर स्वस्थ र तन्दुरुस्त हुनुपर्छ ।
त्यसैले सम्पूर्ण शैक्षिक संस्थाहरूले विद्यार्थीलाई नियमित शारीरिक तालिम दिन्छन् ।
समाजवादी शिक्षाका सफलताहरू
क्युवामा सन् १८८९ मा महान् स्वतन्त्रता सेनानी जोसे मार्टीले अभिव्यक्त गरेको एउटा भनाइ प्रचलित छ – “पृथ्वीको हरेक व्यक्तिलाई शिक्षा पाउने अधिकार छ, त्यसको गुन तिर्न उसले अरूलाई शिक्षा दिने दायित्व पूरा गर्नुपर्छ ।” क्युवामा शैक्षिक क्रान्तिको सफलताको गूढ कुरा यही हो । क्रान्तिअघि ३० प्रतिशतमात्र जनता साक्षर थिए भने अहिले शतप्रतिशत जनता साक्षर भएका छन् । क्युवाको शिक्षा व्यवस्था विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ । विद्यालय जाने उमेरका ९९ प्रतिशत केटाकेटी विद्यालय जान्छन् । क्युवाको निरक्षरता दर विश्वकै सबभन्दा कममध्येमा पर्दछ । ७ प्रतिशत जनताले कलेजको स्नातक तह उत्तीर्ण गरेका छन् भने १३ लाख स्नातक प्राविधिक विद्यालयबाट उत्तीर्ण भएका छन् । ४ प्रतिशतले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । दुई सयजना मानिसको भागमा एकजना डाक्टर पर्दछ (सन् २०२०मा १११ जनाको निम्ति १ डाक्टर उपलब्ध छ – सम्पादक) ।
सवा एक करोड जतिको जनसङ्ख्यामा ७० हजार त चिकित्सकमात्र छन् । विश्वका ९० भन्दा बढी देशमा ४७ हजार क्युवाली स्वास्थ्यकर्मीहरू सेवा गर्दैछन् । क्युवाले आफ्नो कुल बजेटको २३ प्रतिशत शिक्षामा लगानी गरेको छ । लगानीअनुसार सफलता पनि पाइरहेको छ ।
प्रजग कोरियामा पनि क्रान्तिपूर्व विद्यालय जानेमध्येका दुईतिहाइ केटाकेटी विद्यालय शिक्षाबाट वञ्चित थिए र अधिकांश युवाहरू (२३ लाख) अशिक्षित थिए । सन् १९८० मै प्रौढ साक्षरतादरसमेत ९९ प्रतिशत पुग्यो । सन् १९८७–८८ सम्ममा १६ वर्षदेखि माथिका १३.७ प्रतिशत जनताले स्नातक उत्तीर्ण गरे । सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्यअनुरूप १९८८ सम्ममा १३ लाख जनतालाई स्नातक तहको शिक्षा प्रदान गरियो । कोरिया स्वतन्त्र हुनुअघि त्यहाँ एकमात्र विश्वविद्यालय थियो र हरेक प्रान्तमा एउटा वा दुईवटा माध्यमिक विद्यालय थिए भने त्यहाँ अहिले सयौँ विश्वविद्यालय र कलेजहरू छन् ।
शिक्षाको क्षेत्रमा चीनले पनि अतुलनीय फड्को मारेको छ । क्रान्तिपूर्व र क्रान्तिपछिको शैक्षिक तथ्याङ्कमा आकाश–जमिनको फरक छ । सन् १९९८ मा कुल ६४ लाख भन्दा बढी विश्वविद्यालयको विद्यार्थी भएकोमा ३ वर्ष (सन् २००१) मा यो सङ्ख्या १ करोड २१ लाख ४० हजार पुग्यो । हाल चीनमा ११ सय विश्वविद्यालयहरू छन् । त्यस्तै सन् १९९८ बाट सन् २००१ सम्ममा स्नातकोत्तर गर्ने विद्यार्थी सङ्ख्यामा ९३ प्रतिशत र विद्यावारिधि गर्ने विद्यार्थी सङ्ख्यामा ७१ प्रतिशतले वृद्धि भएको छ ।
माथि उल्लिखित केही समाजवादी देशहरूले गरेको शैक्षिक प्रगतिबाट समाजवादी शिक्षा व्यवस्थाको स्थिति बुझ्न निश्चय पनि सहयोग गर्दछ । क्रान्तिअघि र पछिका शैक्षिक तथ्याङ्कहरूले पुँजीवादी शिक्षा व्यवस्थाभन्दा समाजवादी शिक्षा राम्रो भएको पुष्टि गर्दछन् ।
अन्तमा,
समाजवादी शिक्षा लागु गर्न समाजवादी व्यवस्था नै चााहिन्छ । पुँजीवादी व्यवस्थाले जनताको आँखामा छारो हाल्न समाजवादी शिक्षाका केही असल प्रावधानहरूको नक्कल गर्ने गरे तापनि त्यस व्यवसथाले अत्यन्त बहुमत जनताको व्यक्तित्व विकासमा समान अवसरको सिद्धान्तलाई व्यवहारिकरूपमा लागु गर्न सक्दैन । त्यसैले, पुँजीवादी राज्य व्यवस्थालाई ध्वस्त पारी नयाँ समाजवादी बन्दोबस्त स्थापना गर्नैपर्छ । समाजवादी क्रान्तिबाट मात्र अनिवार्य र निःशुल्क शिक्षा तथा शिक्षालाई उत्पादन श्रमसँग जोड्न प्रणाली लागु गर्न सकिन्छ ।
स्रोतः विद्यार्थी (वर्ष ३४, अङ्क १, २०६२ कार्तिक) को बुलेटिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *