भर्खरै :

प्राध्यापक श्रेष्ठ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत

भक्तपुर १६ चैत । नेपालभाषाका लेखक एवं वामपन्थी चिन्तक स्वर्गीय प्रा. माणिकलाल श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपालभाषा साहित्य तःमुँज्याको आयोजनामा भएको उक्त सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले स्व. श्रेष्ठको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै उहाँको सर्वाङ्गीण व्यक्तित्व चिन्न अझै धेरै समय लाग्ने विचार व्यक्त गर्नुभयो ।
“कुनै पनि अन्धविश्वासमा नलाग्ने अनिश्वारवादी उहाँ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो”, सांसद सुवालले भन्नुभयो ।
युवावस्थामा राणाशासनविरुद्ध लाल कम्युनिस्ट पार्टीमा लागेर तीन वर्ष जेल जीवन बिताउँदा उहाँले जेलभित्रका बन्दीहरूलाई पढाएर जनताको सेवा गर्नुभएको घटना सुनाउनुहुँदै सांसद सुवालले भन्नुभयो “जनताको सेवा गर्ने भावना भएका मान्छेका लागि जेलको पर्खालले पनि छेक्न सक्दैन ।”
संसदीय व्यवस्थाका कट्टर आलोचक उहाँ जनमत सङ्ग्रह ताका बहुदलको पक्षमा उभिनुभएको थियो भन्नुहुँदै सांसद सुवालले उहाँले लेख्नुभएको “स्तालिन अझै जिउँदै छ” भनेझैँ अहिले हामीलाई उहाँ अझै जिउँदै हुनुहुन्छ जस्तो लागिरहेको बताउनुभयो ।
२०१५ सालको संसदीय निर्वाचनमै उहाँले संसदीय व्यवस्थामा वाक स्वतन्त्रता भए पनि जिउने स्वतन्त्रता नहुने विचार राख्नुभएको थियो, जुन आजका दिनसम्म पनि सान्दर्भिक रहेको बताउनुहुँदै सांसद सुवालले उहाँले निर्देश गरेको बाटोमा लाग्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सांसद् सुरेन्द्रराज गोसाईले स्व. माणिकलाल माक्र्सवादी चिन्तक, जुछे विचारका ज्ञाता, माओ त्सेतुङ विचार धाराका व्याख्याता हुनुहुन्थ्यो भन्नुहुँदै भक्तपुरका विभिन्न मञ्चमा सरल भाषामा गहन कुरा बुझाउने क्षमता भएका उहाँ जनताका शिक्षक हुनुहुन्थ्यो भन्ने प्रस्ट पार्नुभयो ।
उहाँले अझ अगाडि भन्नुभयो, “माणिकलाल सरले कहिल्यै पदको निम्ति काम गर्नुभएन, त्यसैले उहाँ निःस्वार्थी, निर्भिक र अनुकरणीय व्यक्ति हुनुभयो ।”
बाग्मती प्रदेशसभाका अर्का सांसद सृजना सैँजूले वाम विचारमा चट्टानी अडानमा उभिनुभएका प्रा.माणिकलाल श्रेष्ठले साम्राज्यवादविरुद्ध गर्नुभएको निरन्तरको सङ्घर्षबाट हामीजस्ता नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने धारणा राख्नुहुँदै उहाँले देखाउनुभएको बाटोमा हिँड्ने सङ्कल्प नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
आयोजक नेपालभाषा साहित्य तःमुंज्याका सल्लाहकार लक्ष्मणराज जोशीको सभापतित्वमा भएको उक्त सभामा माणिकलालका पुत्रद्वय सितुलाल र मलखलालले पनि आफ्ना पिताको विचार सङ्क्षेपमा राख्नुभएको थियो भने सभामा आशाकुमार चिकंबन्जारले पनि बोल्नुभएको थियो ।
ने.सं ११०० मा भक्तपुरको तालाक्वमा भएको पहिलो नेपालभाषा साहित्य तःमुँज्या (सम्मेलन) को समुद्घाटन प्रा. श्रेष्ठले गर्नुभएको थियो भने ने.सं ११३० मा तीसौँ तःमुँज्याको मञ्चमा उहाँलाई सम्मान गरिएको थियो ।
स्वर्गीय प्रा. माणिकलाल श्रेष्ठको स्मरणमा एक मिनेट मौन धारण गरी सुरु भएको उक्त सभामा स्व. श्रेष्ठको तस्वीरमा पुष्पार्पण पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *