भर्खरै :

वागीश्वरी माविमा लमजुङको मङ्गला मावि र कलेजका प्रमण्डल

भक्तपुर, १६ चैत । वागीश्वरी मावि च्याम्हसिंहमा लमजुङको मङ्गला मावि र मङ्गला कलेजको एक प्रतिनिधि मण्डलले अवलोकन भ्रमण गरेको छ । लमजुङको मध्य नेपाल नगरपालिका वडा नं. ३ सोती पसलस्थित मङ्गला मावि र कलेजका सल्लाहकार, स्थानीय जनप्रतिनिधि, शिक्षक कर्मचारीहरूको संयुक्त शैक्षिक भ्रमणको क्रममा वागीश्वरी माविको सभाकक्षमा द्विपक्षीय अन्तरक्रियासमेत भएको थियो ।
अन्तरक्रियाभन्दा अघि भ्रमण टोलीले विद्यालय र कलेजको सबै कक्षको अवलोकन गरेको थियो । अन्तरक्रियामा प्रअ कृष्णप्रसाद धन्छाले वागीश्वरी स्कूलले गरिरहेका असल अभ्यासहरूका साथै विद्यालयको तथ्य तथ्याङ्क श्रव्यदृश्यको माध्यमबाट प्रस्तुत गर्नुभएको थियो भने कलेजका प्रचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजको अवस्था बताउनुभएको थियो ।
प्रअ धन्छाले भन्नुभयो, “सामुदायिक स्कूल सपार्न समुदायकै विश्वास जित्नुपर्ने रहेछ । त्यो विश्वास जित्न आफ्ना सन्तान आफ्नै स्कूलमा भर्ना गर्नुपर्ने रहेछ । त्यस पछि स्वतः नतिजाको बढी चिन्ता हुँदो रहेछ । अनि नतिजा राम्रो भएपछि समुदायको विश्वास आफै बढ्दो रहेछ । अहिले हामीलाई विद्यार्थी भर्ना लिन हाम्मेहम्मे भइरहेको छ । हाल विद्यालयमा झन्डै ३५ सय र कलेजमा करिब एक हजार गरी करिब ४५ सय विद्यार्थी वागीश्वरीको एउटै छातामुनि अध्ययन गरिरहेका छन् ।”
प्राचार्य धनकुमार श्रेष्ठले कलेज क्युएए प्राप्तिको अन्तिम चरणमा रहेको जानकारी दिनुहुँदै कानुनीरूपमा दुई छुट्टाछुट्टै संस्था भए पनि व्यावहारिकरूपमा स्कूल र कलेज एउटै भावनामा काम गरिरहेको बताउनुभयो ।
वागीश्वरी स्कूल र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सामुदायिक स्कूल कलेजको प्रगति गर्न सरकार र विदेशीको मुख ताक्नुभन्दा स्थानीय समुदायकै बढी भर पर्नुपर्ने शिक्षा आफूहरूले अनुभव गरेको बताउनुहुँदै विद्यालय र कलेज नाफाका लागि नभई सेवाका भावले सञ्चालित रहेको कुरा यहाँ बर्सेनि प्रदान गरिने ५०–६० लाख रुपौयाँको छात्रवृत्तिले पुष्टि हुन्छ भन्नुभयो ।
भ्रमण टोली मङ्गला माविका प्रअ विष्णुहरि बास्तोलाले वागीश्वरीको प्रगतिका कुराहरू सुन्दा आफ्नो मन कटक्क दुखेको चर्चा गर्दै यहाँ देखे, सुनेका कुराहरू टोलीका साथीहरूले मङ्गला स्कूल कलेजमा सक्दो कार्यान्वयन नगर्ने हो भने यो भ्रमणको औचित्य नहुने प्रस्ट पार्नुभयो भने कलेजका प्राचार्य तीर्थराज तिवारीले वागीश्वरीबाट धेरै सिक्ने अवसर पाएकोमा आभार व्यक्त गर्नुभएको थियो ।
अन्तरक्रियाको क्रममा टोलीका अन्य सदस्यहरूले पनि वागीश्वरीसँग सम्बद्ध विभिन्न प्रश्नहरू गर्नुभएको थियो । भ्रमण टोलीमा ५५ जना सदस्यहरू रहेका थिए ।
यसैबीच वागीश्वरी माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा आम हाजिरी जवाफ प्रतियोगिता चैत ९, १० र १३ गते सम्पन्न भएको छ । कक्षा ११ का ६०० विद्यार्थीहरू प्रतिस्पर्धा गरेकोमध्ये फाइनलमा तिनउ समूहका विद्यार्थीहरू प्रथम, सेती समूह दोस्रो र कर्णाली समूह तेस्रो भएका छन् ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले विजयी विद्यार्थीलाई बधाइ तथा पुरस्कार वितरण गर्दै एमसीसी देशहित विपरीत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरू राष्ट्र र समाजप्रति सधैँ बफादार हुनुपर्छ ।”
कार्यक्रमका सभापति एवम् विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले देश निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने धारणा राख्दै देशलाई अप्ठ्यारो परेको बेला विद्यार्थी सङ्घर्षको मैदानमा उत्रिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू मङ्गलेश्वर ध्वजू र भानुभक्त हुमागाइँले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *