भर्खरै :

हलो अड्किएको कि अड्काएको ?

नेपालमा निकै समय भो राजनीतिक हलो अड्किएको र अड्किएकै छ । यसरी अड्किएको हलो कुन व्यक्ति वा कुन शक्तिले कहिले झिक्छन् त्यसको सङ्केतसम्म पनि देखिएको छैन । संसार आफ्नै गतिले अघि बढिरहेको छ । तर, नेपाल भने हलो अड्किएर अडिएको अडिएकै छ । यस्तो अस्वाभाविक अवस्था लामो समय अडिनु प्रगति होइन अगतिको सङ्केत हो । राजनीतिक दलहरू र तिनका परिचालकहरू – नेताहरूको व्यक्तिगत महत्वाकाङ्क्षा, लोलुपता एवं लुब्धता, अपरिपक्वता, अकर्मण्यता तथा अयोग्यताका कारण यो हलो अड्किएको हो । हाम्रा नेताहरू आफ्नो नेतृत्वमा उत्तराधिकारी तयार गर्न पनि नखोज्ने वा नसक्ने, आजीवन आफैमात्र नेतृत्वमा बसिरहने प्रवृत्तिले पनि यो राजनीतिको हलो अड्किएको हो जस्तो लाग्छ । यो राजनीतिक हलो अड्किएको मुद्दामा गत शनिबार काठमाडौँको एउटा डबलीमा केही नागरिकले चार थान राजनीतिक नेतासँग खुला छलफल गरे । त्यो जिज्ञासा अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी दलका नेता महन्त ठाकुर, नेपाली काङ्ग्रेसका नेता डा. मीनेन्द्र रिजालले आ–आफ्ना पार्टीका तर्फबाट नागरिक अगुवाहरूले प्रस्तुत गरेका जिज्ञासाहरूको उत्तर दिएका थिए । प्रश्नहरूको उत्तर दिँदा एमाले नेता नेपाल निकै असजिलोमा थिए । साँचै हो नेपाल तुलनात्मक रूपमा सबैभन्दा अप्ठेरोमा छन् पनि । अदालतले राजनीतिमा निर्णय गर्ने अवस्था आयो । यो राम्रो हो र ?
परिणाम यस्तो भो
राजनीतिमा अन्तिम निर्णय गर्ने अधिकार जनतामा हुन्छ र हुनु पनि पर्छ । किनभने यो देशको सार्वभौम अधिकार जनतामा छ र जनता त सर्वेसर्वा हो । तर सर्वोच्च अदालतमा गत फागुन ११ गते र २३ गतेको दुइटा फैसलाले राजनीति जनताबाट अदालतमा गएको त होइन ? भन्ने प्रश्न खडा गराए । एउटै नामका दुइटा पार्टी भएर किन दर्ता भए ? यस्तो हुनुमा सम्बद्ध राजनीतिक दल एकातिर जिम्मेवारी छन् भने एउटै नामका दुई राजनीतिक पार्टी किन दर्ता गरियो ? यो अर्को गम्भीर प्रश्न भो । यो सामान्य कुरा हो र सरोकारवाला संस्थाहरूले समयमा बुद्धि नपु¥याउँदा आज यो अवस्थामा देश पुगेको हो । साँचै आज यो मुलुक बसौँ कि उठौँ निर्णय गर्न असहज अवस्थामा उभिएको छ । यो अवस्था सिर्जना गर्नेमा ठुला राजनीतिक दल र तिनका ठूला नेता नै हुन् भन्दा बेठीक नहोला । साथै नेपालको निर्वाचन आयोग पनि कम जिम्मेवार छैन । एउटै नामका दुई पार्टी किन र केका आधारमा दर्ता गरियो । जसका कारण नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको घटनालाई खारेज ग¥यो र दुवै दललाई पूर्ववत् दुईटै दलमा विभाजन हुन बाध्य पारियो । यी दुई पार्टी एक हुँदा त्यो नामको अर्को पार्टी दर्ता भइसकेकोले नयाँ नाम ल्याउनु भनेको भए हुनेथियो । त्यसैबेला हुन्थ्यो आजको रडाको आउँदैनथ्यो भन्ने लाग्छ । यता प्रधानमन्त्री ओली प्रधानमन्त्री पद नछोड्ने उता प्रचण्डलाई कबुलअनुसार प्रधानमन्त्री पद चाहिने । परिणाम यसो भयो ।
यसपालाको नगद प्रधानमन्त्री हो ?
पुनःस्थापित एमालेमा बेहाल छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री पनि छन् । उनले मध्यावधि निर्वाचन गर्न भनी प्रतिनिधिसभा विघटन गरे तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित ग¥यो । यता सरकारले संसद्लाई काम नै दिएन । सभामुख माओवादी केन्द्रका छन् । अनबन यति चरम अवस्थामा छ कि संसद् झञ्झट भएको छ प्रधानमन्त्रीलाई । माओवादी केन्द्रको कटाक्ष छ प्रधानमन्त्री ओलीसँग तर ओली सरकारप्रतिको समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता नलिन दबाब छ रे । तर अस्ति शनिबार प्रचण्डले सार्वजनिक गरे म अब धेरै दिन पर्खन सक्दिनँ सडकमा भएका साथीहरूबाट समर्थन नगर्न दबाब छ रे तर अब जे भए पनि पर्खन्न भनेका छन् । हेरौँ के गर्छन् प्रचण्डले ¤ माधव नेपालले आफू सा¥है अप्ठेरोमा परेको गुनासो गरेका छन् । माधव नेपालले सर्वोच्च अदालतले घोक्र्याएर पुरानै पार्टीमा पठायो । मलाई कुन दिन त्यहाँ (एमाले) बाट घोक्र्याएर निकाल्छन् भन्ने छ भनेर मनको बह पोखेका छन् । यो ‘घोक्र्याएर’ भन्ने शब्द नेपालले दोहो¥याएका छन् । वास्तवमा घोक्रेठ्याक लगाएर निकालिनुभन्दा माधवजीले आफ्नो उत्तराधिकार नयाँ पुस्ताका काडरहरूलाई हस्तान्तरण गरी हलुका दायित्व लिएर पार्टी नेतृत्वबाट बाहिर आए राम्रो । झलनाथ खनाललाई पनि यही परामर्श छ । यता प्रचण्डजी थाक्नु भो थाक्नुभएको छैन । आफैले आत्मसात गरी नेतृत्वबाट पन्छिनु राम्रो होला । महन्त ठाकुरको एकपल्ट प्रधानमन्त्री हुने धोको छ क्यार । कहिले पूरा हुन्छ । यसपालाको नगद त्यही हो कि ?
पदमा हुँदा चूप अघिपछि भन्ने ?
साँचै महन्त ठाकुरहरू जहिले पनि पछि पर्ने । मधेस आन्दोलन र थरूहट आन्दोलनका कारण जेल परेकाहरूको रिहाइ गर्ने, मुद्दा फिर्ता लिने त्यसवापत सरकार बचाउन उहाँहरूलाई समर्थन गर्ने कुरा आएको थियो । तर त्यसबारे अहिले केही भएको छैन । प्रधानमन्त्रीले हाम्रा माग पूरा गर्छ त भन्नुभयो । हामीले गरेर देखाइदिनोस् । त्यसपछि हामीले गर्ने कुरा गरेर देखाइ दिन्छौँ भन्दै हामी सबै राजनीतिक आन्दोलनबाटै राजनीतिमा आएका हौँ । सबै गङ्गा नुहाएझँै गरेर पवित्र भए तर अपवित्र त हामी थारू र मधेसी मात्रै भएका छौँ भन्ने गुनासो गर्दै महन्थ ठाकुर भन्छन् हाम्रो मुद्दाको कुनै सुनवाइ छैन । हाम्रा सांसद जेलमा छन्, कार्यकर्ता र नेतामाथि मुद्दा छ । हामी त कामको खोजीमा छौँ । त्यसपछि मात्र हाम्रो समर्थन र विरोधको कुरा आउँछ । साँचै मधेसी मित्रहरू एउटा चरित्र छ । सरकारको राजनीतिक, प्राज्ञिक र संवैधानिक नेतृत्वमा पुगेको बेला मधेसी वा थारूहरूको विशेष हित र कल्याणका खातिर केही ठोस मुद्दा उठाएको देखिँदैन । मेरा दुई–चार जना मधेसी परममित्र हुनुहुन्छ । उहाँहरू योजना आयोगदेखि अदालत र अन्य संवैधानिक निकायका प्रमुख वा सदस्य भइसक्नुभएको छ । स्वयं ठाकुर पनि कैयौँपल्ट मन्त्री भइसक्नुभयो त्यस्तो बेला मधेस र मधेसीका मद्दुा उठाएको पाइँदैन । सरकार मधेस र थारूहरूको मुद्दा सम्बोधन किन गर्दैन भनी एकजनाले पनि राजीनामा गरेको छैन । यो एउटा बुँदा हो । आफू ठाउँमा पुग्दा सिन्को नभाँच्ने । ठाउँमा नभएको बेला कराउने । विलक्षण चरित्र छ मधेसवादीहरूको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *