भर्खरै :

तपाईँ कति खुसी हुनुहुन्छ ?’ कसरी थाहा पाउने ?

गत हप्ता संयुक्त राष्ट्र सङ्घको ‘विश्व सुखी रिपोर्ट’ मा प्रकाशित भएको खबरले धेरै नेपालीहरू अचम्मित भएका छन् । उक्त रिपोर्टका अनुसार नेपालीहरू दक्षिण एसियामै सबभन्दा बढी सुखी रहेका छन् । प्रधानमन्त्री नै हाँस्य कलाकार भएपछि जनता त्यसै सुखी हुने भइहाल्यो भन्दै यस रिपोर्टलाई कसैले प्रधानमन्त्रीले गर्ने ठट्टासँग जोडेर अर्को ठट्टा गरे । ५ दशमलव २६९ अङ्क प्राप्त गरेर नेपाल ८७ औँ स्थानमा परेको छ भने हाम्रो छिमेकी राष्ट्र भारत १३९ औँ स्थानमा परेको छ । यो रिपोर्ट बनाउन ‘कुन कुन मापदण्डलाई आधार बनाएको छ ?’, ‘वास्तविकता र सत्यता के हो ?’ र ‘खुसी सूचाङ्कको परिभाषा के हो ?’ भन्नेबारे यो छोटो लेखमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
खुसी सूचाङ्क सर्वेक्षणमा सहभागीहरूले दिएको जम्मा अङ्क औसत गणना गरी हिसाब गरिन्छ । खुसी सूचाङ्क सर्वप्रथम ग्लोबल हेप्पीनेस काउन्सिलद्वारा सिर्जना गरिएको हो । यस समूहले २०१२ देखि प्रत्येक वर्ष विश्व खुसी रिपोर्ट जारी गर्दै आएको छ । खुसी सूचाङ्कको परिभाषा सबभन्दा पहिले भुटान ग्रोस नेसनल हेप्पीनेस इङ्डेक्सबाट आएको हो । सन् १९७२ मा भुटानले धन, आराम र आर्थिक वृद्धिजस्ता अन्य मापदण्डको आधारमा खुसीलाई प्राथमिकता दिन सुरु ग¥यो । उनीहरूले बहु मापनयोग्य मापदण्डमा आधारित खुसीको लागि सूचाङ्क निर्माण गरे । जीवनको आनन्द वा खुसीको साथ मानिसहरूलाई उनीहरूको वर्तमान सन्तुष्टि मूल्याङ्कन गर्न सरल तरिकाको रूपमा यस सूचाङ्कलाई धेरै अध्ययनहरूमा प्रयोग गरिएको छ ।
यस विशाल सर्वेक्षणमा हरेक वर्ष प्रत्येक देशका लगभग एक हजारदेखि तीन हजारसम्म सहभागीहरूसँग अन्तर्वार्ता लिइन्छ । यी सहभागीहरू ‘¥याण्डम’ तरिकाले छानिएका हुन्छन् । सहभागीहरू १५ वर्षमाथि उमेरका हुन्छन् । यस खुसी सर्वेक्षणमा प्रत्येक सहभागीहरूलाई उनको आफ्नै भाषामा उस्तै प्रश्नहरू सोधिएको हुन्छन् । यो वर्ष सबै १४९ देशहरूको औसत खुसी ५ दशमलव ३८ हो । खुसी सूचाङ्कको मान शून्यदेखि आठको सीमाभित्र रहेको हुन्छ । यो खुसी सूचाङ्क एकदम चाखलाग्दो त छ तर एकल सङ्ख्याले खुसी निर्धारित गर्ने अन्तर्निहित सिद्धान्तहरूको वर्णन गर्न सकिँदैन । धेरै महत्वपूर्ण मापदण्डहरूलाई समेटेका छन् जुन सम्भवतः आनन्दको भिन्नतालाई वर्णन गर्न सक्छ । खुसी सूचाङ्क यस अर्थमा महत्वपूर्ण छ कि खुसीलाई अवलोकनमात्र गर्नुको सट्टा यी मापदण्डहरूले हामीलाई खुसीको अनुमान गर्न सजिलो बनाउँछ ।
खुसी सूचाङ्कमा ७ मुख्य मापदण्डहरू समेटिएका छन् ।
प्रतिव्यक्ति ग्राहस्थ उत्पादनः
सकल घरेलु उत्पादन केबल एक देशले वार्षिक आधारमा उत्पादन गर्ने सबै वस्तुहरू र सेवाहरूको मूल्य हो । यो सङ्ख्या सामान्यतया कुनै पनि देशको राष्ट्रिय सरकारको तथ्याङ्क विभागद्वारा गणना गरिन्छ । प्रत्येक देशले जीडीपी स्वतन्त्ररूपमा गणना गर्दछ । देशको कुल जनसङ्ख्याद्वारा कुलगार्हस्थ उत्पादनलाई भाग गर्दा आउने सङ्ख्या नै प्रतिव्यक्ति आय हो । देशको धन जनताको खुसीसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।
सामाजिक समर्थनः
अर्को खुसी नाप्ने मापदण्ड ‘सामाजिक समर्थन’ हो । यस मापदण्डअन्र्तगत “यदि तपाईँ समस्यामा पर्नुभयो भने, के तपाईँसँग आफन्त वा साथीहरू छन् जसमाथि तपाईँलाई आवश्यक परेको बेला सहयोग गर्छ भनेर भरोसा गर्नुहुन्छ ?” सर्वेक्षणमा सहभागीहरूलाई प्रश्नहरू सोधिएको हुन्छ । सहभागीले हो वा होइनमा मात्र जवाफ दिन सक्छ । ‘हो’ जवाफ बराबर १ अङ्क हुनेछ र होइन जवाफ शून्य बराबर अङ्क हुनेछ । सबै उत्तरहरूको औसतले सम्बन्धित राष्ट्रमा रहेको सामाजिक समर्थनको प्राप्ताङ्कलाई प्रतिनिधित्व गर्दछ ।
स्वस्थ जीवन प्रत्याशाः
स्वस्थ जीवन प्रत्याशाले सम्पूर्ण जनसङ्ख्याको अनुमानित आयुको औसतलाई प्रतिनिधित्व गर्दछ । १०० भन्दा बढी विभिन्न स्वास्थ्य मापदण्डको आधारमा डब्ल्यूएचओद्वारा गणना गरिएको हुन्छ ।
जीवन छनौट गर्ने स्वतन्त्रताः
जीवन छनौट गर्ने स्वतन्त्रता खुसी सूचकको अर्को प्रमुख मापदण्ड हो । सामाजिक समर्थनको साथ सर्वेक्षण परिणामको आधारमा निर्धारित गरिन्छ । सहभागीहरूलाई “तपाईँ आफ्नो जीवनमा छनौट गर्ने स्वतन्त्रतासँग सन्तुष्ट हुनुहुन्छ ?” भनेर सोधिएको हुन्छ । यसमा सबै सहभागीहरूको उत्तर एकदेखि दशसम्मको सीमामा रहेर दिइन्छ र त्यसको औसतले सम्बन्धित देशको प्रतिनिधित्व गर्दछ ।
उदारताः
यस मापदण्डअन्तर्गत सहभागीहरूलाई “के तपाईँले गत महिना पैसा दान गर्नुभयो ?” भनेर प्रश्न सोधेर सहभागी कति उदार रहेछ भनेर जाँचिन्छ । यस मापदण्डले सबै प्रतिक्रियाहरूको ‘हो एक र होइन शून्य’ को औसत निर्धारण गर्दछ । यो यस्तो मूल्यवान पाठ हो किनकि धेरै व्यक्तिहरू खुसी साझा गर्नमा ध्यान केन्द्रित गर्दा सम्पूर्ण विश्व अझ राम्रो ठाउँमा हुने विश्वास गरिन्छ । अर्को पक्षबाट हेर्दा वास्तवमा उदारताको परिभाषा सर्वेक्षणले गरेको भन्दा धेरै फराकिलो छ । व्यक्तिहरू उदार हुनका लागि परोपकारी संस्थामै पैसा दिन जरुरी छैन । सडकमा कुनै अपरिचितलाई सहायता गर्नु पनि उदारताको सङ्केत हो ।
भ्रष्टाचारको धारणाः
‘भ्रष्टाचारको धारणा’ पनि खुसी सूचकाङ्क को एक प्रमुख मापदण्डको रूपमा निर्धारित गरिएको छ । यो निम्न २ प्रश्नहरूको उत्तरको औसतमा गणना गरिन्छ । क. “भ्रष्टाचार सरकारमा छ कि छैन ?” र “के भ्रष्टाचार व्याप्त छ वा छैन ?” विश्वव्यापी सर्वेक्षणमा आधाभन्दा बढी सहभागीहरूले भ्रष्टाचार व्याप्त छ भनेर विचार व्यक्त गरे । यसबाट विश्व राजनीति अझै पनि खराब छ भन्ने पुष्टि गर्दछ ।
डिस्टोपियाः
यस मापदण्डअन्तर्गत यस्तो ठाउँको कल्पना गरिन्छ जहाँ बस्दा मान्छे खुसी रहँदैन । यसको गणना उच्चकोटीको गणितको प्रयोग हुने हुँदा यसमा जटिलता रहेको हुन्छ  ।
विभिन्न मापदण्डको आधारमा तयार गरिएको खुसी मापन कतिको विश्वासिलो र भरपर्दो छ त ? एउटा उदाहरण लिउँ, न्युजील्यान्ड खुसी सुचाङ्कमा पहिलो राष्ट्र हो । त्यस मुलुकमा १ लाख मान्छेमा सात जनाले आत्महत्या गर्छ जबकि ८७ औँ स्थानमा रहेको हाम्रो देशमा ६ जना मान्छेले आत्महत्या गर्छ । आत्महत्या खुसी भएर त गर्ने होइन होला । अर्को अचम्मको विषय कहिल्यै चुनाव नहुने, महिलाले आफै गाडी चलाउनसमेत स्वतन्त्रता नपाएको राष्ट्र साउदी अरब विश्वमा २१ औँ स्थानमा छ जुन बढी खुसी देशहरूमध्ये पर्छ । त्यसैगरी नेपालको भन्दा झन्डै ५० गुणा धेरै आय भएको हङकङवासीको खुसी करिब नेपालको जति नै छ जुन अस्वभाविक देखिन्छ । यसबाट यो निष्कर्ष निकाल्न सकिन्छ खुसी नाप्ने माध्यम Gross Happiness Index पूर्ण छैन । खुसी कति लाग्छ भन्ने विषय केलाई कति महत्व दिने भन्ने कुरा जीवनलाई हेर्ने दृष्टिकोणमा भर पर्छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *