भर्खरै :

मौसमले गरेको लकडाउनको पनि पालना गरौँ

केही दिनदेखि काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ । काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञ र चिकित्सकहरूले सावधान हुन आग्रह गरिरहेका छन् । केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शनिबार एकाएक उच्च तहमा पुगेको थियो । सोमबारसम्म पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ । उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुन सक्छ । छातीरोग विशेषज्ञहरूका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ । त्यसले गर्दा विशेष गरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढेको छ । स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने बताइएको छ । वायु प्रदूषण बढेसँगै वायुमण्डलमा भाइरसको मात्रा विस्तार हुने क्रम पनि धेरै हुने भएकाले भाइरल सङ्क्रमणको जोखिम पहिलेभन्दा निकै बढ्ने सम्भावना छ । यसले फोक्सोका दीर्घरोगीलाई त निकै गा¥हो बनाउने मात्र नभई दमलगायतका रोग भएका मानिसहरूले पनि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।
अहिलेको वायु प्रदूषणले आँखामा समेत निकै गम्भीर असर पर्न सक्छ । आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ । अहिलेको वायुमा कार्बन मोनोक्साइड, नाइट्रस अक्साइड आदि (हानिकारक ग्यास) को मात्रा छ । त्यसले गर्दा –अक्युलर सर्फेस डिस्अडर– अर्थात् आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्न सक्छ । त्यस्तै –ड्राई आई सिन्ड्रोम– अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छन् । प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने तथा भाइरस वा ब्याक्टेरिया प्रवेश गरेमा सङ्क्रमण हुने जोखिम बढेको छ । आँखासम्बन्धी विशेषज्ञहरूका अनुसार प्रदूषणको दीर्घकालीन प्रभाव भनेको आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु हुनसक्ने सम्भावना पनि बढ्छ । वायु प्रदूषणका कारण रेटिना पनि बिग्रिने खतरा हुन्छ । अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन विज्ञ चिकित्सकहरूले सुझाव दिएका छन् । प्रदूषण कम गर्न खासै केही गर्न नसकेको नेपाल सरकारले रोगबाट बचोस् भन्ने ध्येयले देशैभर चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गत वर्ष कोरोना महामारीका कारण सरकारले लकडाउन गरेको थियो । अहिले मौसमले पनि लकडाउन गरेको छ । मौसमले गरेको लकडाउनको पनि पालना गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *