भर्खरै :

जनस्वास्थ्यमा चेतनामूलक प्रदर्शनी कार्यक्रम

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा दोस्रो वर्षमा अध्ययनरत नर्सिङ्गका विद्यार्थीहरूले बुधबार विभिन्न खोप, लिटो र सर्वोत्तम पीठो बनाउने तरिका, मधुमेह, उच्च रक्तचाप आदिबारे जानकारी दिने उद्देश्यले कलेजको प्राङ्गणमा प्रदर्शन गरे ।
प्रदर्शनीमा क्षयरोगबाट बचाउन बीसीजी, भ्यागुते रोग, लाहुरेखोकी र निमोनिया रोगबाट बचाउन डीपीटी, झाडापखालाबाट बचाउन रोटा भाइरस, मेनिन्जाइटिस र निमोनियाबाट बचाउन पीभीसी, इक्सेफ्लाइटिक्सबाट बचाउन जेई, दादुराबाट बचाउन दिइने टीडीबारे नर्सहरूले प्रदर्शनी हेर्न आएका महिलाहरूलाई जानकारी दिए ।
बीसीजी खोप बच्चा जन्मनेबित्तिकै दिइन्छ । रोटा भाइरस ६ र १० हप्तामा, पीभीसी ६ र १० हप्ता तथा ९ महिनामा, दादुरा रूबेला ९ र १५ महिना तथा जेई १२ महिनामा लगाइन्छ ।
त्यस्तै प्रदर्शनीमा सुईबाट पर्ने असरहरू रातोपना हुने, ज्वरो आउने, सुन्निने आदिबारे पनि जानकारी दिइएको थियो । मधुमेह लाग्दा मानिसले सेवन गर्ने आहार, उच्च रक्तचाप हुने व्यक्तिले खाने आहार र सुत्केरी अवस्थामा खाने आहारबारे, अन्य गेडागुडी, फलफुल र तरकारीको महत्वबारे पनि जानकारी दिइएको थियो ।
शरीर सुरक्षा गर्ने, शरीर विकास गर्ने, शक्ति प्रदान गर्ने आहार र ५ वर्षमुनिका बालबालिकालाई खुवाइने आहारबारे पनि प्रदर्शनीमा जानकारी दिइएको थियो ।
प्रदर्शनी जानकारीमूलक थियो । प्रदर्शनीमा अधिकांश महिलाहरू सहभागी थिए । नर्सहरूले सहभागी मानिसहरूलाई खोप, विभिन्न रोग, सुई लिँदा पर्ने असर, परिवार नियोजनका साधन, रोगीले खाने आहार र लिटो र सर्वोत्तम पिठोबारे जानकारी दिएका थिए । प्रदर्शनीमा रहेका नर्सहरू प्रदर्शनीको आवश्यकताबारे जानकारी दिन उत्साहित देखिन्थे । आफूले अध्ययन गर्दाको अनुभव र अध्ययनलाई अभ्यास गर्ने या जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी गरेको नर्सहरूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *