भर्खरै :

छोरीप्रतिको विभेदको ऐना ‘परित्यक्ता

साहित्यकार एवम् लेखक भुवन ढुङ्गाना आजभोलिका युवा पुस्ताको लागि त्यति परिचित नाम होइन । केही महिनाअघि प्रकाशित भएका आख्यानहरूको हुलमा भेटिएको आकारमा सानो चिटिक्क परेको पुस्तकको गातामा अङ्कित हरियो पातमा बेरिएको जेरीको चित्रले जो कोहीलाई आर्कषण गर्नु अस्वाभाविक होइन । बाहिर अङ्कित जेरीको चित्रले पुस्तक भित्र मिठाई नै मिठाईँ होला भनी पाठकलाई आश लाग्नु अस्वाभाविक होइन । तर, पुस्तक पढ्दै जादा छिटो सिध्याउने आशामा छानिएको सानो र पातलो पुस्तक त जीरे खोर्सानी निस्केछ । दोह¥याई तेह¥याई पढ्दा पनि भेउ पाउन मुश्किल । जीरे खोर्सानी त निलियो तर त्यसको ज्यानमारा पीरोले दिमाग रन्थनियो र लेखकको भावको गहिराइमा पुग्न हम्मेहम्मे भयो ।
“डन जअ्ज द बुक बाई इट्स कभर” भन्ने अङ्ग्रेजी कहावतको झल्झली याद आइरह्यो ।
लेखकका बारेमा खोतल्दै गर्दा थाहा भयो उनी बौद्धिक, भावपूर्ण र संवेगात्मक अभिव्यक्तिको लागि माहिर हुन् । कथा र कविता लेखनमा सिद्धहस्त लेखक ढुङ्गानाको यो पछिल्लो आख्यान “परित्यक्ता” लेखक आफ्नै जिन्दगीको यात्रा र क्षणिक पलहरूको संस्मरणजस्तो लाग्छ । पुस्तकको सुरुवात र अन्त्य अझ धेरैजसो अध्यायको सुरुवात र अन्त्य पनि ‘परित्यक्त’ शब्दबाटै गरेर आफ्ना पुस्तकको मूल थिम (विषय) लाई पाठकको मस्तिष्कबाट ओझेल हुन नदिने प्रयास गरेको प्रस्ट अनुभूति गर्न सकिन्छ । हरेक प्रसङ्ग जोड्दै आफ्नो भोगाइको संस्मरण गर्दै कसरी जन्मेदेखि अझ आमाको पेटमा भ्र्र्र्रुण भएर रहँदादेखि नै छोरीहरू परित्यक्त हुनुपर्छ भन्ने तथ्यलाई लेखकले बारम्बार उजागर गर्न खोजेको छ ।
आज कोही बालक वा बालिका जन्मनु वा नजन्मनु र जन्माउनु वा नजन्माउनुमा विज्ञान, प्रविधि र चिकित्सकको ठूलो हात हुन्छ । तर केही दशक अगाडि विकल्प थिएन । त्यसैले म अन्ततः जन्मिए भन्ने लेखको अभिव्यक्तिले पाठकको मनमा कतै चसक्क घोच्छ । लेखकले आमाको सपनामा कुठाराघात हुने गरी म तेस्रो सन्तान पनि छोरी नै जन्मिए भन्दा आज पनि लैङ्गिक विभेद जरैदेखि उखेल्न नसकेको नेपाली समाजप्रति ठूलै व्यङ्ग्य गरेको महसुस हुन्छ । लेखकले आफू २५ वर्षको हुँदा मात्रै प्रसव वेदनाको रहस्य थाहा पाएको र त्यस बखत आफू जन्मदा पनि आमालाई यस्तै व्यथा लागेको हुनुपर्छ भनेर सो कुराको स्मरण गर्नुभएको प्रसङ्गले जो कोहीलाई भावुक बनाउँछ । ‘जिन्दगी उसैले मात्र बुझ्छ जसले भोगेको हुन्छ’ यहाँ पनि लेखकले छोरीको (महिलाको) व्यथा बुझ्न महिला नै हुनुपर्छ । यो पुरुषले अनुभुत गर्न सक्दैन भन्ने सन्देश दिन खोजेको प्रस्टसँग बुझिन्छ ।
पुस्तकमा एउटा प्रसङ्ग एकदमै दमदार र घतलाग्दो छ । लेखकले “के आमालाई छोराको प्रसववेदना बढी हुन्छ ?” यस प्रश्नमा अन्तरनिहित अर्थलाई घोत्लिने हो भने लाग्छ मानौँ छोरा जन्मिँदा प्रसव वेदना बढी हुने भएर छोरालाई काखा र छोरी जन्मिँदा प्रसव वेदना नहुने हुनाले उनी पाखा हुने हाम्रो समाजको मान्यता हो । महँगो वस्तुको माया धेरै र सस्तोको थोरै भए जस्तो । त्यसैले लेखक प्रश्न तेस्र्याउँछन्, “प्रसव वेदना उस्तै हो भने छोरा र छोरीलाई जन्मिँदै हेर्ने दृष्टिकोणमा फरक किन ? लैङ्गिक भिन्नता के छोरी पराइ घर जानैपर्ने कारणले मात्रै हो त ?”
“म उत्सवविहीन जन्मिएकी छोरी” भन्ने लेखकको उद्गारले २१ औँ शताब्दीको दोस्रो दशकमा पुगेको युगमा पनि हाम्रो समाजलाई ठूलो व्यङ्ग्य गरिरहेको भान हुन्छ । पुस्तकभरि लेखकले यस्ता धेरै मार्मिक प्रश्न र वाक्यहरू उल्लेख गरेका छन् जुन एकदमै सान्दर्भिक छ ।
नेपाल करिब ५२ प्रतिशत महिलाहरूले ओगटेको देश हो । राजनैतिक र सरकारी पदहरूमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक र कानुनी प्रावधान भएको देश पनि हो । त्यसैले होला, राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश आदि पदहरू महिलाहरूले चलाइसकेका छन् । यद्यपि, महिला हिंसा दशको नौ भएको छैन । आज पनि दिनानुदिन बलात्कारका घटना, प्रेमिकाले प्रेम अस्वीकार गरेपछि गरिने घातक तेजाब आक्रमणका घटनाहरू रुटिन नै भइसकेका छन् । आठ वर्षकी बालिका होस् या अस्सी वर्षकी वृद्ध आमा नै किन नहोस् कोही पनि सुरक्षित नभइरहेको अवस्था हो । लेखक भुवन ढुङ्गानाले बाल्यकालमा सबै कुरा स्मरण योग्य हुँदैन तर अहिले आफ्नो पहिचान छोरी भनेर थाहा पाउँदा आफ्नै छायाँदेखि डर लाग्न थालेको कुरा झट्ट सुन्दा सामान्य लागे पनि त्यसको भावको गहिराइ समुद्रको गहिराइभन्दा धेरै भएको अनुभूति हुन्छ (पेज नं १५) ।
यहाँ लेखकले आमा भइसकेपछि हेरिने दृष्टिकोणलाई युद्धको अनुभूति जुन एक्लै लड्नुपर्ने र भोग्नुपर्ने बताएका छन् । यस्तो युद्धसँग लडिरहँदा पुरुषले स्त्री शोषण गरिरहन पर्दैन बस् एउटा लथालिङ्ग घर दिए पुग्छ भनेको छ । जसले हाम्रो समाजमा महिलाले घरलाई व्यवस्थित राख्नुपर्ने अलिखित नियम र कानुनको याद दिलाउँदै सो जिम्मेवारीप्रति महिलाको मनोदशालाई पनि प्रस्ट पारेको छ । जिन्दगीमा प्रसव वेदना पार गरेर आमा बनिसक्दासम्म युद्धमा लडेर आएको अनुभव हुन्छ र जहाँ उभिएर मानिसहरू आफ्नो बाल्यकाललाई फर्केर हेर्छन् र सोच्ने गर्छन् यदि त्यो बालापन फर्काएर ल्याउन मिल्ने भए । तर, लेखक आफै जवाफ दिन्छन्, “जिलेबी यस्तो चिज हो जसको स्वाद फर्किरहन्छ तर बालापन फर्किन सक्दैन ।”
लेखकले पुस्तकको पछिल्लो भागमा आफू अध्ययन गरेको भारतमा गएको र आफ्नो बाल्यकालका साथीहरू (अजय चौहान र गिरिधर) लाई भेटेको अविस्मरणीय क्षणहरू उल्लेख गरेका छन् । यसैक्रममा उनले आफ्नो पुरानो विद्यालय भ्रमण गरेको र त्यहाँ करिब ४० वर्ष अगाडिदेखि नृत्य सिकाउने पूर्णिमा दिदीलाई पनि भेटेर सम्झनास्वरूप तस्बिर खिचाएको संस्मरण पनि गरेका छन् ।
उनी नेपाल फर्केपछि अर्को बज्रपात प¥यो । अचानक रजस्वला रोकिन्छ र यहाँ उनी फेरि आमा बन्दै त छैन भन्ने प्रश्न उठ्छ । उनलाई चिकित्सककहाँ जाँदा मनमा धेरै प्रश्नहरू खेलिरहेको हुन्छ र लाग्छ चिकित्सकले त्यही त भन्ने होइन जुन चिजको डर लागिरहेको छ । उनले पहिले आफूसँग साथ भएको क्षण सम्झिन्छन् र अहिले एक्लो र परित्यक्त महसुस गर्छिन् । यस क्षणबाट उनले प्रस्ट्याउँछ कि समय सधैँ एकैनास रहँदैन र मानिसको स्वभाव र व्यवहार पनि । पछि चिकित्सकले उमेर पुगेपछि महिलाहरूको रजस्वला रोकिनु सामान्य कुरा भएको बताउँदा ढुक्क हुन्छिन् । यसरी यस उपन्यासमा आफू जन्मिनुअघि र जन्मिसके पछिको भोगाइ र जीवन बुझाइबारे र अन्ततः आफू वृद्ध हुन लागेको अवस्थासम्मको बेलीविस्तार पाठकहरूसामु पस्केका छन् । महिलाको मनोविज्ञान र मनोदशा प्रत्येक प्रसङ्गमा प्रस्ट झल्किन्छ । हाम्रो समाजमा महिलाको जीवन बाहिरबाट हेर्दा जिलेबीजस्तो गुलियो र सुन्तलाको जस्तो मनमोहक रङ्ग भए पनि यो सा¥है नराम्ररी जेलिएको र अप्ठ्यारो पनि भन्ने कुरालाई प्रतिकात्मकरूपमा प्रस्तुत गरिएको छ ।
महिला वा छोरी कसरी जन्मेदेखि परित्यक्त हुनुपर्ने भन्ने अवस्थाको बोध गराउन लेखक सफल देखिए पनि यसको समाधान के हो भन्ने पक्ष भने मौन छ र नारी विद्रोहको स्वर पनि पुस्तकमा नभेटिनुले परम्परागतरूपमा नारीको वेदनामा प्रस्तुत गर्नुमात्र लेखकको ध्येय हो कि भन्ने पाठकलाई शङ्कालाग्नु स्वाभाविक हो । राजनैतिक पृष्ठभूमिका लेखकमा यो विद्रोही आवाज मलीन हुनु अस्वाभाविक हो कि ?

(इजिता मुनंकर्मी, ख्वप कलेजमा बीबीएसको अन्तिम परीक्षाको परीक्षाफल कुर्दै बसेकी विद्यार्थी हुन् – सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *