नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
नेपालको विसं २००७ सालको क्रान्ति
पृष्ठभूमि
एसियाको लगभग मध्य भाग एवम् हिमालयको काखमा अवस्थित एउटा सानो मुलुक नेपाल बहुभाषिक, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देशको रूपमा परिचित छ । सिद्धार्थ गौतम बुद्ध, भृकुटी, अरनिको एवम् नेपालीहरूको वीरगाथाहरूबाट यो मुलुक चर्चित छ । भूपरिवेष्ठित भएर पनि नेपालका अन्य भौगोलिक अवस्थाहरू विशेषतापूर्ण छन् । आर्य, मङ्गोल, अस्ट्रोलोइड आदि जातिबाट प्रभावित नागगण जाति, गोपाल, महिषपाल, किरात, लिच्छवी, कोलिय, मल्ल, शाक्य आदिको सङ्गम स्थलको रूपमा रहेको यो मुलुकमा अचेल ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ्ग, मगर, थारु, राजवंशी, राई, लिम्बू, चेपाङ्ग, राउटे, थकाली, शेर्पा, तामाङ्ग आदि मानिसहरू बस्दै आएका छन् ।
आजभन्दा लगभग ३६ सय वर्षअगाडि गोपाल वंशका राजाहरूले राज्य सञ्चालन गरेदेखि यो देशको राजनीतिक अस्तित्व स्थापित भएको विवरण विभिन्न वंशावली र पुराणहरूमा पाइन्छ । गोपालपछि महिषपाल वंशी राजाहरूले राज्य गरे । यस अवधिलार्ई प्राग्ऐतिहासिक कालको रूपमा लिइन्छ । त्यसपछि किरातकाल अनि लिच्छवीहरूले ईश्वी संवत्को सुरुवातमा यहाँ शासन गरेको विश्वास गरिन्छ । लिच्छवी राजा मानदेव प्रथमभन्दा अघिका लिच्छवी राजा र किरातहरूको शासन अवधिलाई आद्य इतिहासकाल मानिन्छ भने नेपालको इतिहासका वैज्ञानिक एवम् ऐतिहासिक प्रमाणहरू मानदेव प्रथम (इसं ४६४–५०५) देखि प्राप्त भएकोले यो अवधिदेखि नेपालमा इतिहासकाल सुरु भएको भनिन्छ । लिच्छवीपछि मल्ल वंशका राजाहरूले यहाँ राज्य गरे । लिच्छवी र मल्ल दुवै राजवंशहरू आफू सूर्यवंशी भएको ठान्दछन् । इसं १७६९ सम्ममा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकाका तीनवटै मल्ल राज्य तथा अन्य क्षेत्रहरू जितिसकेपछि नेपालमा शाह वंशको शासनकालको सुरुवात भयो । राजा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूको शासनकालमा नेपाली सेना र जनताको सहयोगबाट नेपालको एकीकरण कार्य अघि बढ्दै गएर भीमसेन थापाको मुख्तियारीकाल विसं १८७१ सम्ममा नेपालको सिमाना पूर्वमा टिस्टा नदीदेखि पश्चिममा काँगडासम्म पुगेको थियो । तर, सन् १८१४–१८१६ को नेपाल अङ्ग्रेज युद्धमा नेपाल पराजित भएपछि सुगौली सन्धिले गरेको व्यवस्थाअनुसार अब नेपाल पूर्वमा मेची र पश्चिममा महाकाली नदीको बीचमा सीमित भयो ।
राणाशासनको उदय
पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूको शासनकालमा शाह, थापा, पाण्डे, बस्नेत, पौडेल, कुँवर(पछि राणा) थरका सामन्त, भाइ भारदारहरूको प्रभाव जम्दै गयो । यिनीहरू फत्तेजङ्ग शाह, भीमसेन थापा, दामोदर पाण्डे, कीर्तिमान सिंह बस्नेत, रंगनाथ पौडेल, बालनरसिंह कुँवर आदि तिनीहरूका प्रतिनिधि पात्रमात्र हुन् । राजदरबारभित्र महारानीहरूबीचको द्वन्द्व र षड्यन्त्र, राजा र राजपरिवारका अन्य सदस्यहरूबीच द्वन्द्व र षड्यन्त्र, सामन्त भाइ भारदारबीचको द्वन्द्व हुनेगथ्र्यो । यसको मुख्य उद्देश्य शक्ति र सत्ता प्राप्ति नै थियो । यसले गर्दा राजदरबार कमजोर हुँदै गयो । राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मीको आफ्नो छोरालाई राजा बनाउने इच्छा र त्यसबाट श्रृजित अन्य षड्यन्त्रहरूको कारणले गर्दा १४ सेप्टेम्बर १८४६ को रातमा भएको कोतपर्व, १८४६ अक्टोबर ३१ मा भएको भण्डारखाल पर्वमा धेरै भारदार र सामन्तहरूको हत्या गरेपछि चतुर एवम् धूर्त जङ्गबहादुर प्रधानसेनापति तथा प्रधानमन्त्री भए । उनी आफ्ना धेरै विरोधीहरूलाई पाखा लगाउँदै शक्तिशाली भए । सन् १८४७ मा राजा राजेन्द्रलाई पनि पदच्युत गर्दै उनका छोरा युवराज सुरेन्द्रलाई राजा तुल्याए । भूतपूर्व राजा राजेन्द्रलाई वीरगञ्जनिरको अलौ भन्ने स्थानबाट राजेन्द्रलाई पक्री कैद गरे । राजा सुरेन्द्र जङ्गबहादुरबाट निकै प्रभावित थिए । जङ्गबहादुरलाई ब्रिटिस रेजिडेन्टको पनि समर्थन थियो । राजा सुरेन्द्रबाट सन् १८४९ मा उनी ‘राणाजी’ उपाधि पाएपछि जङ्गबहादुर कुँवरबाट अब राणा भए । साथै राजपरिवारसँग राणाहरूले वैवाहिक सम्बन्ध कायम गर्न पाउने भएर सन् १८५६ को राजाको अर्को लालमोहरबाट जङ्गबहादुरले कास्की र लमजुङ्गको श्री ३ महाराज पद प्राप्त गरेपछि उनी निकै शक्तिशाली भए । सन् १८५७ मा प्रधानसेनापति र प्रधानमन्त्री पद पाएपछि जङ्गबहादुरले राजाका सम्पूर्ण अधिकारहरू आफू र आफ्नो परिवारमा सीमित पारे । यसै बेलादेखि शाहवंश राजकीय नाममात्रको शासक, जङ्गबहादुर र उनका उत्तराधिकारी राणाहरू वास्तविक शासकको रूपमा स्थापित भए । यसरी सन् १८४६ देखि नेपालमा जङ्गबहादुरको नेतृत्वमा राणाहरूको जहानियाँ , निरङ्कुश शासन व्यवस्थाको सुरुवात भयो र क्रमशः शक्तिशाली हुँदै गयो । जङ्गबहादुरले आफूपछि हुने प्रधानमन्त्रीहरूको रोलक्रम बनाए । जसअनुसार जङ्गबहादुरपछि ज्येष्ठताको आधारमा उनका भाइहरू, उनका छोराहरू, नातिहरू र त्यसपछि मात्र भतिजाहरूको नाम रोलक्रममा समावेश गरिएको थियो ।
राणाकालीन विदेश नीति
जङ्गबहादुर सदैव आफू अङ्ग्रेजहरूका विश्वस्त सहयोगीका रूपमा देखाउन चाहन्थे । अङ्ग्रेजहरूको सहयोग र आशीर्वादमा नै नेपालमा आफ्नो शासन सत्ताको सुरक्षा हुन्छ भन्ने उनको ठम्याइ थियो । उनको यस ठम्याइलाई सम्पूर्ण राणा प्रधानमन्त्रीहरूले आफ्नो विदेशी नीतिको मूल आधार मानेका थिए । सन् १८५७ मा भारतमा अङ्ग्रेजहरूको इस्ट इन्डिया कम्पनी सरकारको विरुद्ध त्यहाँका राजकुमार र सिपाहीहरूले मराठाका पेश्वा(शासक) नाना साहेवको नेतृत्वमा विद्रोह गरे । जसलाई भारतको सिपाही विद्रोह भने तापनि भारतीयहरू यसलाई आफ्नो पहिलो जनआन्दोलन ठान्छन् । यो विद्रोहलाई दबाउन उनले ३००० सेना पठाएपछि अरू थप ९००० सेनासहित आफै गए । विद्रोह दबाए । निकै लुटपाट मच्चाए । अङ्ग्रेजबाट स्याबासी पाए जङ्गबहादुरले । त्यसैको फलस्वरूप बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (नयाँ मुलुक) नेपालले पायो । विद्रोह असफल भएपछि हजारौँ भारतीय विद्रोहीहरू नेपाल पश्चिम तराईको जङ्गलमा बसे । यसरी आउनेहरूमा मराठाको पेश्वा नाना साहेब र उनकी पत्नी पनि थिइन् । विद्रोहीहरू पक्रन जङ्गबहादुरले अङ्ग्रेज सेनालाई नेपालभित्र प्रवेश गर्न दिए । आफूले पनि पक्रेर अङ्ग्रेजलाई बुझाए । नाना साहेबकी पत्नीलाई भने शरण दिए । यसै सन्दर्भमा सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले जङ्गबहादुरलाई English dog-man, Jung Bahadur of Nepal भनी टिप्पणी गरेका छन् । सन् १८५५–५६ को नेपाल–तिब्बत युद्धमा तिब्बतलाई पराजित गरी सन् १८५६ मा थापाथलीमा सन्धि गरी तिब्बतमा नेपालले Extra-Territorial Right प्राप्त गरे । राणा प्रधानमन्त्री वीर शमशेरले अङ्ग्रेज सरकारको मागअनुसार गोर्खाली प्रबकहरूलाई अङ्ग्रेज सेना भर्ती हुने सुविधाको सुरुवात गरे । यिनले इन्जिनियरिङ्ग विषय पढ्न ५ जना नेपाली विद्यार्थीहरूलाई जापान पठाएका थिए । पढाइ सकाएर यी विद्यार्थीहरू चन्द्र शमशेरको शासनकालमा फर्के । सन् १९०३ मा अङ्ग्रेज सैनिक मिसनका नेता Young husband लाई Tibet Campaign मा चन्द्र शमशेरले सघाएका थिए । सन् १९१४–१८ को प्रथम विश्वयुद्धमा चन्द्र शमशेरले अङ्ग्रेजलाई तन, मन र धन दिएर सघाए । फलस्वरूप सन् १९२३ मा नेपाल र बेलायतबीच समानस्तरमा एउटा मैत्री सन्धि भयो । जसको पहिलो बुँदामा नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता बेलायतले स्वीकारेको र आफूजस्तै मानेको थियो । अर्को राणा प्रधानमन्त्री जुद्धशमसेरले पनि दोश्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा अङ्ग्रेजलाई नै नेपाली जवान सेना, नगद जिन्सी अनेक दिएर सक्दो सहयोग गरे । धेरै तक्मा र स्यावासी पाएका थिए । नेपाली जवानहरूले भिक्टोरिया क्रस (Victoria Cross) पनि प्राप्त गरे । सन् १९४२ मा भारतीयहरू अङ्ग्रेजको विरुद्ध भारत छोडो आन्दोलन गर्दा आन्दोलन दबाउन जुद्ध शमशेरले अङ्ग्रेजलार्य नै मद्दत गरे ।
नेपालमा आफ्नो सत्ता टिकाउन दक्षिणतिर बाट समर्थन प्राप्त गर्ने प्रयास भारतमा अङ्ग्रेजको शासकालभरि नै राणाहरूले गरेका थिए । सन् १९४७ मा भारत स्वतन्त्र भइसकेपछि अन्तिम राणा प्रधानमन्त्रीले मोहन शमशेरले भारतसित सन् १९५० को शान्ति एवम् मैत्री सन्धि गरेर भारतको सहयोग र समर्थन पाउने प्रयास गरे । सन् १९४९ मा संयुक्त राष्ट्र सङ्घको सदस्यताको लागि आवेदन दिए । फ्रान्स अमेरिका आदिसँग सम्बन्ध बनाउने प्रयास गरे ।
राणा सरकारको गृहनीति
राणाकालीन नेपाली समाज परम्परागत सामन्ती प्रथा, वर्णाश्रम व्यवस्था र थुप्रै सामाजिक एवम्् आर्थिक असमानता शोषण तथा कुरीतिहरूबाट भरिपूर्ण थियो । जातिगत भेदभावहरू, बालविवाह, बहुविवाह, अनमेल विवाह, सतिप्रथा, दासप्रथा, झुमा, देउकीप्रथा अन्धविश्वासहरू धामी, झाक्री, बोक्सीहरू तथा थुप्रै विसङ्गतिहरूबाट समाज भरिएको थियो । जातअनुसारको काम हुन्थ्यो । शोषण र दमन पराकाष्ठामा पुगेको थियो । आय आर्जनका मुख्य श्रोतहरू ठूल–ठूला जमीन, व्यापार, उद्योग, खनिज सम्पदा वन आदि राणाहरूकै मातहतमा थियो । राज्यलाई कर तिर्नु, नियम, कानुन र राणाहरूको हुकुमी शासनलाई मान्नु जनताको मुख्य कर्तव्य थियो । परम्परा एवम् जातिगत पेशा अपनाएर बाध्य भएर जीवनयापन गर्नु जनताले आफ्नो नियती मान्नुपथ्र्यो । सामान्य र निम्नस्तरको खेती व्यापार उद्योग र थोरै निम्नस्तरको सरकारी सेवा पनि पाउँथे । यिनीहरू नै तत्कालीन नेपाली जनताका पेशा थिए । सामन्ती प्रथाको कारणले गर्दा किसानहरू सा¥है मर्कामा थिए । समाजमा दरबारिया पण्डित र राणाहरूको विशेष स्थान र पहुँच हुन्थ्यो । राणाहरूकहाँ चाकडी जाने चलन पनि थियो । एउटा रेडियो एउटा राख्न र तराईतिर एकचोटि जान पनि राणा सरकारको स्विकृति चाहिन्थ्यो । नवीन शिक्षा, ज्ञानविज्ञान प्रविधि र राजनीतिका चेतना आदिबाट नेपाली समाजलाई निकै टाढा राखिएको थियो । तर, समयको बदलिँदो परिस्थितिलाई कसैले रोक्न सक्दैन । केही सुधार तथा परिवर्तनहरूलाई जस्तोसुकै अनुदान एवम् निरङ्कुश शासकले पनि केही न केही रूपमा स्वीकार्न बाध्य हुनैपर्दछ । त्यसैले राणाकालमा नेपालमा केही सुधारात्मक र उल्लेखनीय सुधार र परिवर्तनहरू भएका थिए । जुन पर्याप्त त पक्कै थिएन ।
सन् १८५३ अर्थात् विसं १९१० मा जङ्गबहादुरको प्रधानमन्त्रित्वकालमा मुलुकमा लिखित ऐन प्रकाशन गरियो, जसलाई नेपालको पहिलो मुलुकी ऐन मानिन्छ । केही प्रशासनिक कार्यालयहरू एवम् दरबार स्कूलको स्थापना गरी त्यहाँ राणाकालका विद्यार्थीहरूलाई पश्चिमी शिक्षा दिलाए । नेपाल–भारत सिमानामा जङ्गे पिलर खडा गरी सीमा सुरक्षा गरे । राणा प्रधानमन्त्री वीर शमशेरको शासनकाल (सन् १८८५–१९०१) मा वीर अस्पताल, सिंहदरबार, वैद्यखाना, वीर पुस्तकालय र भक्तपुर तथा काठमाडौँमा खानेपानीका लागि वीर धाराहरूको स्थापना भयो । लगभग ११४ दिनको देव शमशेरको प्रधानमन्त्रित्वकालमा साप्ताहिकरूपमा गोरखापत्रको सन् १९०१ मा प्रकाशन भयो ।
दरबार हाई स्कूलमा सर्वसाधारणले पनि पढ्न पाउने, त्रिचन्द्र कलेजको स्थापना, सैनिक अस्पताल, भक्तपुर अस्पताल र अन्य अस्पतालहरू, फर्पिङ्ग जलविद्युत् योजना सप्तरीको चन्द्रनहर सतीप्रथा एवम् दासप्रथाको उन्मुलन आदि व्यवस्थाहरू चन्द्र शमशेरको पालामा भए । अर्को राणा प्रधानमन्त्री जुद्ध शमशेरको समयमा कृषि तथा उद्योगको विकासका लागि उद्योग परिषद् सन् १९३७ मा सर्वप्रथम पहिलो वाणिज्य बैङ्कको रूपमा नेपाल बैङ्कको स्थापना, कागजी मुद्रा(नोट) को प्रकाशन विभिन्न कारखानाहरूको स्थापना आदि गरी देशको आर्थिक अवस्थालाई सुधार्ने प्रयासहरू गरिए । क्षेत्रपाटीको कन्या मन्दिर स्कूल, डिल्ली बजारको पद्मकन्या स्कूल खोले । नेपालमा महिलाहरूको लागि पनि शिक्षाको अवसर प्रदान गरियो पद्म शमशेरको प्रधानमन्त्रित्व कालमा । सन् १९४८ मा नेपालको वैधानिक कानुन–२००४ नामक संविधानको घोषणा गरिनु पद्म शमशेर राणाको अर्को योगदान रह्यो नेपालको सैवैधानिक इतिहासमा ।
राणापरिवारभित्रको द्वन्द्व र षड्यन्त्रहरू
सन् १८६७ मा प्रधानमन्त्री जङ्गबहादुरले प्रधानमन्त्रीको उत्तराधिकारीअघि नियम ९च्यिि या क्गअअभककष्यल० बनाए । जसअनुसार ज्यष्ठताको आधारमा पहिला आफू आफ्ना भाइहरू त्यसपछि आफ्ना छोराहरू, नातिहरू त्यसपछि भतिजाहरूको पालो आउँथ्यो । विवाहिता पत्नीबाट जन्मेका सन्तानहरूको मात्र नाम राखी मठ्या दाजु भलवीरको नाम जङ्गबहादुरले उक्त उत्तराधिकारी रोलक्रममा राखिएन । उनले आफ्नो नजन्मेका छोरा नातिहरूको पनि नाम राखे । आफ्ना मठ्या दुई जना छोराहरू बबर जङ्ग र रणवीर जङ्गको नाम राखे । यस्तो पक्षपातपूर्ण रोलक्रम नै राणा परिवारभित्रको द्वन्द्व, षड्यन्त्रको पहिलो कारण बन्न पुग्यो ।
सन् १८५१ मा जङ्गबहादुरले बेलायतको भ्रमण गरेका थिए । सो अवसरमा उनका भाइ बद्रीनरसिंह र अन्य बमबहादुर, जयबहादुर, करवीर खत्री आदिले जङ्गबहादुरलाई जातिच्यूत भएको भनी प्रचार गरी जङ्गबहादुर नेपाल फर्केपछि उनको हत्या गर्ने योजना बनाएका थिए । तर, बम बहादुरको कारणले गर्दा षड्यन्त्र असफल भयो र अपराधीहरूले दण्ड पाए ।
सन् १८७७ मा जङ्गबहादुरको मृत्यु भएपछि उनका भाइ रणोद्दीपसिंह प्रधानमन्त्री तथा श्री ३ महाराज भए । रोलक्रमको कारणले गर्दा जङ्गबहादुरका छोरा नातिहरू (जङ्ग खलक) र धीर शमशेरका छोरा नातिहरू (शमशेर खलक) बीच द्वन्द्व र षड्यन्त्र चल्दै गयो । सन् १८८२ मा धीर शमशेर र उनका छोराहरूलाई मार्न थापाथली दरबारमा योजना बनाएका थिए । नरेन्द्रविक्रम, वमवीर विक्रम, विक्रम सिंह थापाहरूले जसलाई जङ्गबहादुरका छोरा जगतसिंहहरूको पूरा समर्थन थियो । तर, सफल भए पनि षड्यन्त्रकारीहरूलाई कठोर सजाय दिइयो । यस घटनालाई ३८ साल पर्व भनिन्छ ।
विसं १८४२ मा आफ्नै भतिजाहरू डम्बर शमशेर, चन्द्र शमशेर, खड्ग शमशेर आदिको गोलीद्वारा प्रधानमन्त्रीका रणोद्वीप सिंहको हत्या भयो । साथै जङ्गबहादुरका सन्तानहरू जगतजङ्ग, युद्धप्रताप जङ्ग आदिको हत्या भयो । जङ्ग खलक सर्वनाश भयो । यस घटनालाई नेपालको इतिहासमा ४२ साल पर्व भनिन्छ । यस हत्याकाण्डपछि जङ्गबहादुरले बनाएको रोलक्रम लत्याए । धीर शमशेरको जेठा छोरा वीर शमशेर नेपालका प्रधानमन्त्री र कास्की–लमजुङ्गका श्री ३ महाराज भए । भाइ खड्ग शमसेरको स्वभावबाट निकै त्रसित भएका वीर शमशेरले उनलाई पाल्पाको बडा हाकिम पदमा नियुक्त गरी उतैतिर धपाए ।
सन् १९०१ मा भाइ चन्द्र शमशेरबाट देव शमशेर प्रधानमन्त्री पदबाट पदच्युत हुनुप¥यो । यतिमात्रै होइन धनकुटा, दार्जलिङ, मुसुरीमा भागी भागी जीवन बिताउनुप¥यो । चन्द्रशमशेर निकै चलाख, धूर्त र षड्यन्त्रकारी भए पनि उनी सदैव आफ्नै भाइहरूबाट त्रसित हुन्थे । उनी आफू सुत्नेकोठा समेत गोप्य राख्थे । अब राणा परिवारमा ठ्या र मठ्याबीच वैमनस्यता बढ्दै गयो । चन्दशमशेरले शमशेर खलकलाई ‘क’, ‘ख’ र ‘ग’ मा विभाजन’ गरे । यसले पारिवारिक झगडालाई झनै बढायो । किनभने ‘क’, ‘ख’, र ‘ग’ श्रेणीका राणाहरूको अधिकार हैसियत पनि फरक फरक थियो । ‘ख’ र ‘ग’ श्रेणीका राणाहरू निम्न तहका भएकाले सदैव हीनताबोध हुन्थ्यो । अर्का प्रधानमन्त्री जुद्ध शमशेरका रानीहरू र छोराहरूबीचमा नै द्वन्द र षड्यन्त्रहरू चलिरहेको थियो । मोहन शमशेरहरूले उनलाई पद छोड्न उतिकै दबाब दिइरहेको थियो । उनीहरूकै दबाबमा परेर उनले ‘क’ श्रेणीका राणाहरूलाई आ–आफ्नो रोल क्रमबाट हटाएर उपत्यकाबाट निष्काशित गरेका थिए । यसले गर्दा कमान्डर इन चीफ भएका रुद्र शमशेर धनकुटाको बडा हाकिम भई जान परेको थियो ।
सन् १९०५ मा गेहेन्द्र शमशेरलाई विष खान लगाई हत्या गरियो । मोहन शमशेरकै दबाबमा परेर बिरामी भएको बहाना गरी पद्म शमशेर सन् १९४८ मा काठमाडौँ छाडी भारततिर लागे । अनि मोहन शमशेर प्रधानमन्त्री एवम् श्री ३ महाराज भएर राणाशासन व्यवस्था अन्त्यको लागि ‘ग’ श्रेणीका राणाहरू अर्थात् सुवर्ण शमशेरहरू भारतमा राणाविरोधी गतिविधिमा लागे, नेपाल प्रजातान्त्रिक काङ्ग्रेस नामको पार्टी नै खोले । पछि नेपाली काङ्ग्रेसमा विलय भयो । राणाविरोधी आन्दोलनमा यी ‘ग’ श्रेणीका राणाहरूले पनि तन, मन, धन दिएर लागे ।

(लेखक त्रिविका सेवा निवृत्त सह प्राध्यापक हुनुहुन्छ ।)
Leave a Reply