नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
हालै सामाजिक सञ्जालमा देखिएको एउटा दृश्यले मनै कटक्क काट्छ । निमुखा गरिब जनताको मुखमा पर्नुपर्ने बोराका बोरा खाद्यान्न नालीमा फालिएको त्यो घटनाले दैलेख, हुम्ला, मुगुजस्ता अभावग्रस्त पछाडि जिल्लाहरूको लागि खाद्य संस्थानले अनुदानमा वितरण गर्नुपर्ने चामल समयमा नपुग्दा गोदाममै कुहिएको, पछि वितरण भएको कागजमा देखाउनका लागि भए पनि त्यही चामल गाडीबाट भीरमा खसालेको समाचार सम्झन पुग्छु । त्यही कुहिएका धूलोमाटो मिसिएको चामल पनि भुइँमा सोहोर्दै आफ्नो पटुका, पछ्यौरी र फाटेको लबेदामा पोका पार्दै लगिरहेका पुरूष र महिनाहरूले दिएको जवाफ पनि कति दर्दनाक रहेछ । स्मरण गरौँ– “नखाइकन भोर्क मर्नुभन्दा कुहिएकै भए पनि खाएर–अघाएर मरौँ । आखिर गरिबले अभावमै त मर्नुपर्छ । क्या गरूँ ?”
कुरा धनुषा विदेह नगरपालिका, तीनखौडिया चोक वडा नं. ५ स्थित कछरिया बजारको हो । जनकपुरदेखि १७ किलोमिटर पूर्वमा रहेको उक्त बजारको नालीमा ७०–८० बोरा त कुहिएको अवस्थामा चामलका बोराहरू भेटिए । त्यस्तै सोयाबिन, नुन, चिनी, दालका पोकाहरू छरपस्त यत्रतत्र फ्याँकिएका थिए । गत वर्ष देखापरेको कहरमा गरिब निमुखा जनतालाई बाँड्नुपर्ने ती खाद्य सामग्रीहरू त्यहाँका मेयर र वडाध्यक्षसमेतको निर्देशनमा फाल्न ल्याएको बुझियो । त्यसरी फाल्नलाई त पक्कै पनि दिएको होइन होला त्यो राहत ।
गरिब मजदुरहरू एक छाक खान नपाई तड्पी तड्पी मर्नुपर्ने बेला थियो त्यो । तर ‘माल पाएर के गर्नु चाल पाए पो’ । सङ्कटमा नपाएको ती सामग्रीले अहिले ६–७ महिनापछि कसरी नालीमा फालेको अवस्थामा देखाप¥यो ? छानबिनको डायरामा ल्याउनका लागि अहिले स्थानीयवासीहरूको त्यहाँ आवाज उठिरहेको छ ।
अभाव झेलिरहेका स्थानीयवासीहरूसम्म ती सामग्रीहरू समयमै पुगेका भए राहत हुन्थ्यो, केही भए पनि उनीहरूको सङ्कट मोचन हुन्थ्यो । प्रदेशले पठाएको भन्या छ, घरघरमा ती राहत सामग्री पुग्यो पुगेन निरीक्षण गर्ने कुनै निकाय नै भएन । स्थानीय निकायको गैरजिम्मेवारीले हद नाघेको त्यो अवस्थाले त्यहाँका नेताहरूको दिवालियापन प्रस्ट हुन्छ । चुनावमा उठ्नु, जित्नु, पदमा रहनु भनेको जनताको समस्या सुल्झाउन, देशको विकास गर्न नभई आफ्नो निहित स्वार्थ सिद्ध गर्न नै हो भन्नेबारे मधेसका गरिब, निमुखा जनताले अब बुझ्न थालेका छन् ।
गैरजिम्मेवार ती वडाध्यक्ष र मेयरलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरिरहेका छन् स्थानीयवासीहरू । तर प्रदेश सरकार, केन्द्र सरकार र मधेसका अगुवा नेता भनाउँदाहरू जनताको मागप्रति उदासीन छन् । यस्ताले के देश हाँक्ला ? आफ्ना नेता र जनप्रतिनिधिहरूप्रति शसङ्कित छन् त्यहाँका जनता ।
Leave a Reply