नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
कम्युनिस्टहरू एक हुनुपर्छ भन्ने माग गलत होइन । तर, कम्युनिस्ट एकता कसैले फुकेर, भाषण गरेर या आह्वान गरेर हुने होइन । कम्युनिस्ट एक हुन सबभन्दा पहिले आफ्नो दल सच्चा कम्युनिस्ट हुनुपर्छ । कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति गर्नुपर्छ । सिद्धान्त र विचार छोडेर कम्युनिस्ट एकताको आह्वान गर्नु बेइमानी हो, झूटको खेती हो । आफ्नो दललाई बलियो बनाउने र बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्ने र राजस्वमा रजाईँ गर्ने उद्देश्यले कम्युनिस्ट एकताको आह्वान गर्नु ठीक होइन । अहिले देशमा आफूलाई कम्युनिस्ट भनिने दलहरूले अरू कम्युनिस्ट पार्टीलाई एक हुन आह्वान गरेका छन्–सत्ता स्वार्थको लागि ।
दल–दलबीचको सिद्धान्त र विचार प्रस्ट नभइकन सतही राजनीति गरेर कुनै दलबीच एकता हुँदैन । एकता भइहालेमा त्यो नटिक्ने कुरा समयले देखाइसकेको छ । कार्ल माक्र्सले ‘सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो’ त्यसै भनेका होइनन् । नेपालमा पार्टी एकता गर्न सिद्धान्त र विचारको ख्यालै गर्दैनन् । पार्टी एक हुने, दल ठूलो बनाउने र सरकारको नेतृत्व गर्नुलाई नै कम्युनिस्टको उद्देश्य ठानेको छ । निर्वाचनमा पार्टी मिलेर निर्वाचन लड्यो, जित्यो र सरकारको नेतृत्व गर्न एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो । त्यो दलले झन्डै दुई– तिहाइ मत प्राप्त गरेर शासन पनि चलायो । तर, त्यो पार्टी तीन वर्ष पनि टिकेन । यसको मूल कारण विचार र सिद्धान्तको आधारमा कम्युनिस्ट पार्टी एक नहुनु हो, सत्ता स्वार्थको निम्ति पार्र्टी एकता हुनु हो ।
अहिले फेरि केही कम्युनिस्ट भनिने दलका नेताहरूले कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने बताएका छन् । एमाले आफै विभाजनको स्थितिमा पुगिरहेको बेला, एमालेकै माधव–खनाल पक्षले समानान्तर कमिटी गठन गर्ने तयारी गरिरहेको बेला ऋषि कट्टेलको नेकपासँग पार्टी एकताको प्रसङ्ग उठाइरहेको छ । गोपाल किँरातीको नेकपाले माओवादी केन्द्रलाई एक हुन आग्रह गरेको छ । माओवादी केन्द्रका एक नेताले पनि कम्युनिस्टहरू एक हुनुपर्ने बताएका छन् । मोहन वैद्य र नेत्रविक्रम चन्द समूहका नेताहरूको संयुक्त मोर्चा बनेको थियो । तर, अहिलेसम्म संयुक्त कार्यक्रम भएको या गरिएको जानकारी प्रकाशमा आएको छैन ।
परिस्थितिले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउनेमा शङ्का छैन । तर, परिस्थिति नहुँदै, सिद्धान्त र विचारको छलफलै नगरी, माक्र्सवाद, लेनिनवादलाई नेपालमा कसरी लागु गर्ने, कम्युनिस्ट पार्टी कसरी बलियो बनाउने, कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने आदिबारे चिन्तन, मनन गरी कुनै दलको नेताले कुनै कार्यक्रममा फुकेर कसरी कम्युनिस्ट एकता हुन्छ ? आफूलाई कम्युनिस्ट भन्ने दलहरू माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको कुरा गर्दैनन् । जसरी भए पनि निर्वाचनमा जित्ने, ठूलो दल बनाएर सरकारको नेतृत्व गर्ने ध्याउनामात्र राखेर कम्युनिस्ट पार्टी बलियो हुँदैन, कम्युनिस्ट आन्दोलन अघि बढ्दैन ।
निर्वाचन बहिष्कार गर्ने कम्युनिस्टहरू पनि छन् । सरकारमा जाने या सरकारको नेतृत्व गर्नु नै कम्युनिस्टको उद्देश्य ठान्ने दलहरू पनि छन् । ‘जनयुद्ध’को तयारी नहुँदै वम विस्फोट गराएर आतङ्क मच्चाउने दलहरू पनि छन् । मधेसी दल, माओवादी र एमालेबाट अलग भएका दलहरू पनि समाजवादको नारा अघि सार्दै अघि बढिरहेका छन् । जनतामो मत तान्न, जनतालाई आकर्षण दिएर मत लिने कम्युनिस्ट खोल ओढेर पुँजीवादी राजनीति गर्ने, पुँजीपति वर्गको पक्षपोषण गर्ने दलहरू पनि छन् । यस्ता विचार बोकेका, चरित्रका कम्युनिस्ट भनिने दलहरूसँग एकता गरेर के कम्युनिस्ट पार्टी एकता हुन्छ ? भएको एकता टिक्छ ?
साम्राज्यवाद र विस्तारवादको विरोध नगर्ने दल पनि कम्युनिस्ट हुन्छ ? निजीकरणलाई बढावा दिएर जनताका लागि नभई नहुने खानेपानीसमेत निजीकरण गर्ने दल कसरी कम्युनिस्ट हुन्छ ? समाजवादको कुरा नगर्ने, वर्गसङ्घर्षको कुरा नगर्ने अनि सङ्घीयताको विरोध गर्ने दल कम्युनिस्ट हुन्छ कि हुँदैन ? कम्युनिस्ट एकता चाहने र एकताको निम्ति आह्वान गर्ने कम्युनिस्ट पार्टी सबभन्दा पहिले समाजवादी प्रचार अभियानमा लाग्नुपर्छ । कम्युनिस्ट र पुँजीवादी पार्टी, समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पार्न अघि सर्नुपर्छ । आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्ष आवश्यक छ भन्ने कुरामा दल जनताको घर आँगनमा पुग्नुपर्छ ।
Leave a Reply