अलकापुरी कान्तिपुरी नगरी
बाल्यकालमा एउटा चिनियाँ लोककथा सुनेको थिएँ । परापूर्व कालमा चीनका एक सम्राट विशाल बगैँचाबीच एक भव्य राजमहलमा बस्थे । बगैँचाको जुरेली (नाइटिङ्गेल, बुलबुल) चरोको आवाजतिर सम्राटको ध्यान कहिल्यै गएको थिएन । जुरो भएको, पुच्छरको मुन्तिर रातो अथवा पहेँलो र कालोकालो रङको हुने भँगेरोभन्दा केही ठूलो आकारको चरी हो जुरेली । यसलाई राम्रो स्वर भएकी, कोकिलकण्ठको रूपमा पनि लिइन्छ । लोकगीत आदिमा प्रेमीद्वारा प्रेमिकालाई सम्बोधन गरिने शब्द पनि हो जुरेली ।
एकदिन जापानका एउटा सम्राट चीन भ्रमणमा गए । ती सम्राटको चीनमा यथोचित सत्कार गरियो । फर्किने बेलामा जापानी सम्राटले एउटा अनौठो मधुर आवाज सुने र उनी त्यो आवाजमा मुग्ध भए । केही दिनपछि चीनमा आफूले बिताएको समय जिन्दगीकै सबभन्दा राम्रा दिनमध्ये भएको र राजमहलको बगैँचामा सुनिएको जुरेलीको आवाजले बेग्लै संसारको अनुभूति दिलाएको भनी चिठी पठाए । चिनियाँ सम्राट आफूले किन आजसम्म त्यो मिठो आवाज सुनिनँ भन्ने विष्मयमा परे । सम्राटले त्यो जुरेली चरी ल्याउन आदेश दिए । नभन्दै चिनियाँ सम्राट पनि जुरेलीको आवाजमा मोहित भए । जुरेली र सम्राटबीच गहिरो मित्रता भएछ । केही महिनापछि तिनै जापानी सम्राटले चिनियाँ सम्राटको निम्ति जुरेलीको आवाज निकाल्ने एउटा खेलौना उपहारस्वरूप पठाएछन् । खेलौना चरो दम दिएपछि गाउने गर्दथ्यो । त्यो खेलौना सम्राटकै कक्षमा राखियो । सम्राट नक्कली जुरेलीमै भुलिए । परिणामस्वरूप असली जुरेली उडेर वनतिरै गयो । एकदिन त्यो खेलौना बिग्रियो । खेलौना कसैले मर्मत गर्न सकेन ।
जुरेलीको आवाज सुन्न नपाएर सम्राट बिरामी भए । राजवैद्यले जुरेलीको आवाज सुनाएर बचाउन सकिने बताए । नभन्दै एकदिन उही जुरेली राजमहलमा फर्केर आइपुग्यो । सम्राटको आँखामा खुसीको आँसु टिलपिलाए । सम्राट र जुरेली सधैँको निम्ति मित्र भए ।प्रस्तुत चिनियाँ लोककथाको सार धेरै अर्थमा केलाउन सकिन्छ । उसबेला मेरा गुरुले कथा भन्दा मुख्यतः ती चिनियाँ सम्राटले नक्कली जुरेलीको कारण सक्कली जुरेली गुमाएको भनेर अथ्र्याउनुभएको थियो । तर, यहाँ उठाउन खोजिएको विषय हो प्रकृति (विशेषतः चरा) र मानिसबीचको सम्बन्ध ।
रुखविरुवा भन्नु नै प्राकृतिक वातावरण हो । जति धेरै रुख त्यति धेरै जीव हुन्छन् । नेपाली गाउँघरतिर धेरै चराचुरुङ्गी हुनु त सामान्य नै हो । एक अध्ययनअनुसार घर वरिपरि रुखबिरुवा भएका परिवार तथा बालबच्चा हिंसामा कममात्र संलग्न भएको पाइएको थियो । यस्ता परिवारको छिमेकीसँग सुमधुर सम्बन्ध भएको पनि देखाइएको थियो । प्रकृतिले मानिसको मनमा शान्ति दिने कुरामा विवाद हुन्न होला !
सन् १८०१ मा इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको व्यापार सन्धिपछि डा. फ्रान्सिस ब्युकानन–ह्यामिल्टन ब्रिटिस शासनअन्तर्गत रहेको भारतको कोलकातास्थित गभर्नर जेनरलको आदेशबाट नेपाल आउन लागेको राजनीतिक मिसनमा संलग्न भए । १५ एप्रिल १८०२ मा थानकोट आइपुगेपछि ह्यामिल्टनले लेखेका थिए – “हामी हिजो यहाँ आइपुग्यौँ। यहाँबाट हेर्दा काठमाडौँ नाङ्गो, कुरूप उपत्यकाजस्तो देखिन्छ जुन कृषिमा सुधार गरिनुअघिको स्कटल्यान्डजस्तै लाग्छ ।” एप्रिल १७, १८०२ मा सो टोली काठमाडौँ आइपुग्दा उनले उपत्यकाको प्राकृतिक सौन्दर्य र वनस्पतिको खुलेर मुक्तकण्ठले प्रशंसा गरे । उनले विभिन्न बोटबिरुवाका झन्डै ११ सय प्रजातिको अभिलेख तयार गरे, जसमध्ये ८०० प्रजाति पहिलोपटक फेला परेको ठानिन्छ ।यसमानेमा ह्यामिल्टनलाई नेपालको पहिलो वनस्पतिशास्त्रीका रूपमा पनि लिइन्छ । उनी भारत, नेपाल र म्यान्मारमा प्राकृतिक इतिहास अन्वेषकका रूपमा पनि परिचित छन् । यद्यपि, झन्डै ११ महिना लामो आफ्नो नेपाल बसाइका क्रममा ह्यामिल्टनले राजनीतिक प्रकृतिका सूचना पनि सङ्कलन गरेको बताइन्छ ।
ह्यामिल्टनकै हाराहारीमा काठमाडौँ आइपुगेका आदिकवी भानुभक्त आचार्यले त्यत्तिकै अलकापुरी कान्तिपुरी भनेका होइनन् ।
यति छन् भनी गन्नु कहाँ धनियाँ
सुखी छन् मनमा बहुतै दुनियाँ
जनकी यसरी सुखकी सगरी
अलकापुरी कान्तिपुरी नगरी ।
जब किरकिरे हाँस आइपुग्यो !
धेरै वर्षपछि २०७७ चैत ११ गते बुधबार कमलविनायक पोखरी (बहारे पुःखु) मा किरकिरे हाँस (नेवारीमा बहारे हायँ) देखियो । बहारे पुःखु नामकरण सोही हाँसको नामअनुसार भएको हुनुपर्छ । अङ्ग्रेजीमा कमन पोचार्ड नाम दिइएको हाँस युरोपबाट एसिया महादेशको गर्मी भूभागमा बसेर युरोपतिरै फर्किने क्रममा विश्राम गर्न एवम् चारो खोज्नको निम्ति यतातिर आएको हुनुपर्छ । एकादेशको कथाजस्तै बनेको किरकिरे हाँस (एउटामात्र किन नहोस्) को आगमनले यो लेखकलाई पनि सा¥है खुशी बनायो । ४०–५० वर्षअगाडि यस्ता हाँस बथानका बथान आउने गरेको पाका मानिस अझै पनि स्मरण गर्छन् ।

तस्वीरः मिलन गणेजू
झिङ्गटीका टुक्राले हिर्काएर हाँसलाई घाइते पारी छोपेको बताउने केही मानिस अद्यापि छन् । तर, आजको वातावरण त्यस्तो छैन । पोखरी वरिपरि प्राकृतिक वातावरण छैन, उपयुक्त जल वनस्पति तथा जलचरको अभाव छ, पोखरी वरपर अग्लाअग्ला घर बनेका छन्, पोखरी वरिपरिका रेस्टुरेन्टमा अनेक रङ्गका बत्ती बालिएका हुन्छन्, मानिसको हुलले साँझबिहान ठाउँ खाली नै हुँदैन, कहिलेकाहीँ चर्को आवाजले सङ्गीत पनि घन्काइएको सुनिन्छ । सायद, किरकिरे हाँस नबस्नाको कारण यीमध्ये नै होलान् । चराहरू फर्काउन सकिएको भए कति सुन्दर हुन्थ्यो होला यो भक्तपुर ! यहाँका विद्यार्थीले चराको बसाइसराइको पाठ कति सजिलै बुझ्थे होलान् ! युरोपसँग भक्तपुरको साइनो गाँस्ने ती चरालाई दूत नै बनाई पठाउँथे होलान् ! प्राणीशास्त्रका विद्यार्थीले चराले लामो उडानमा दिशा कसरी पत्ता लगाउँदा रहेछन् भन्ने नयाँ सिद्धान्त पो पत्ता लगाउँथे कि !
‘झङ्ग लाय्गु’
काठमाडौँ उपत्यकाका नेवारहरूमाझ चल्तीको आहान हो यो । झङ्ग लाय्गु (अभिधा अर्थ धोबिनी चरा समात्ने तर व्यञ्जन अर्थ कसैलाई झुक्याउने) । कालो र सेतो धर्सा भएको भँगेराजत्रो आकारको एक जातको चरा धोबिनी (म्याग पाइ–रबिन) लाई नेपाल भाषामा झङ्ग भनिन्छ । अलि पातलो बस्ती र रुख बुट्यान भएको ठाउँमा वसन्त ऋतुको साँझबिहान चिरबिर चिरबिर गरिरहेका हुन्छन् । कुनै समय जङ्गली झङ्ग समात्न घरमा पालिएको झङ्गको प्रयोग गरिन्थ्यो ।
पाल्तु चरालाई उपयुुक्त पोषण ख्वाएर हुर्काइएको हुन्थ्यो, त्यसैले बलशाली हुँदो हो । काठमाडौँका धोबिनी चरालाई ट्वाँटी (ग्रिलोटाल्पा अफ्रिकाना) अर्थात् एउटा खास जातिको फट्याङ्ग्राको लार्भा खुवाउने गरिएको लेखक सौरभले ‘असङ्गति’ मा पनि उल्लेख गरेका छन् । ट्वाँटीले किसानको फलेको आलु खाएर सिध्याएको यो लेखकले पनि देखेको छ । धोबिनी चरालाई ‘लडाकु’ बनाउन भने ट्वाँटी कामलाग्दो बन्छ । यसलाई गज्जबको रैथाने ज्ञान मान्न सकिन्छ ।

धोबिनी चराले आफ्नो बासक्षेत्र (टेरिटरी) बनाएको हुन्छ । पाल्तु झङ्गलाई भक्तपुर सहरको छेउछाउ, जस्तो – चोखाते, जगाती, सूर्यविनायकजस्ता ठाउँमा लगेर छोडिन्थ्यो । आफ्नो बासक्षेत्रमा प्रवेश गरेको घरपालुवा धोबिनी चरा र बनैया चराबीच ‘वाकयुद्ध’ सुरु हुन्छ । शत्रुतापूर्ण (अग्रेसिभ) व्यवहार चुलिँदै गएर अन्ततः आक्रमण प्रत्याक्रमण हुनथाल्छ ।
दुइटाको ठुँड जुधाजुधको रमिता हेर्न मानिस झुम्मिन्थे । बनैया धोबिनी चराले आत्मसमर्पणको भाव देखाएपछि त्यसलाई समातिन्छ, एउटा प्वाँख काटेर उडाइन्छ वा घरमा पाल्न लगिन्छ । धोबिनी चराको यस्तो नियति हेरेर संस्कृतिविद् सत्यमोहन जोशीले एउटै जातिका मानिसलाई भिडाएर स्वार्थसिद्धि गर्ने मानिसको प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै एउटा कविता लेखेका छन् । तर, आज विगतजस्तै धोबिनी चराका सङ्ख्या कहाँ भेटिनु ? चिन्ताको विषय छ ।
मनाउने हो कि बकुल्ला दिवस ?
२०७७ भदौको एकदिन भक्तपुरको हनुमानघाटमा सयौँ वर्षदेखि बकुल्लाले बास पाइरहेका काब्रोका पुराना केही रुख काटिएपछि वातावरण खोजकर्ताहरूले पत्रिका तथा सामाजिक सञ्जालमा असन्तोष पोखे तथा विरोध जनाए । (भक्तपुरको इन्द्रायणीको रुखका हविगत पनि त्यस्तै भएको छ ।) हरेक वर्ष असोज–कार्तिकमा चिसो बढेपछि तातो ठाउँमा गई फागुन चैतमा फर्किने यी चरा यसपालि अलमल्ल परेका होलान् ¤ पिपलका रुख (‘नारायण’ भएर होला) काटिएनन्, बकुल्लाले बस्ती फोहर पारेको, गन्ध आएकोजस्ता (कु) तर्क गरेर रुख काट्न लगाए ‘धार्मिक’ मानिसले । सायद तिनले बकुल्लाको महत्व के हुन्छ भन्ने थाहा पाएनन् । उत्तिबेलै ‘रुख देखे काटौँ काटौँ लाग्ने !’ शीर्षकमा ‘मजदुर’ दैनिकमा छापिएको वातावरण अध्येता कमलराज गोसाईको विचार सामाजिक सञ्जालमा छलफलको गतिलो विषय बन्यो । कतिपय विदेशी पर्यटक यहाँका बकुल्ला हेर्न र तस्बिर खिच्न आउने गरेको र उनीहरू मन दुखाएर फर्किएको एक पर्यटन व्यवसायीले प्रतिक्रिया व्यक्त गरे ।

ख्वप कलेजका विद्यार्थीले सन् २०१८ को जून–जुलाईमा गरेको एक अध्ययन प्रतिवेदनमा इन्द्रायणीको एउटा रुखमा बकुल्लाले ३८ वटा गुँड लगाएको र हनुमानघाटका चारवटा रुखमा १०१ वटा गुँड रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा जम्मा २१७ वटा बकुल्ला रहेको लेखिएको छ । यो वर्षको जेठ–असारसम्ममा कति होलान् हेर्न बाँकी नै छ । चैतको पहिलो सप्ताह बसाइसराइ गरी आएका बकुल्लाले नजिकैका रुखहरूमा गुँड लगाउन थालेका छन् । नयाँ ठाउँ भएकाले पनि रुखमा गुँड बनाउन सकस भइरहेको हुनुपर्छ ।
बकुल्लाले कीराफट्याङ्ग्रा, माछा, सर्प खाएर पर्यावरणीय चक्र चलाउँछ । हुन त ‘बकुल्लाको माया सानो हुन्छ’ भन्ने आहान नेपालभाषामा चल्ती छ । बचेराको निम्ति चारो खोज्न गएको माउ बुकल्ला बचेरालाई अर्को कीरा लगूँला भन्दै आफ्नै उदर भर्दै गर्ने भनाइ नेवार समुदायमा प्रचलित छ । तर, प्रकृतिको साथी बकुल्लाको बिचल्ली हुँदा मानिसकै स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ भन्नेतिर ध्यान जानु उचित छ ।
पर्यावरणसँग पर्यटन
‘न्युजिल्यान्डमा पहिलो नेपाली’ कृतिमा संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन् “माउरीहरू (न्युजिल्यान्डका आदिवासी) को भाषामा बैतोमोको अर्थ हुन्छ कुलो गडिएर भित्र पसेको खाल्डो । अनि त्यहाँको त्यो बैतोमो गुफालाई विश्व प्रसिद्ध जुनकिरी गुफा भन्दा रहेछन् । म त्यहाँ पुगेको बेलामा विश्वका विभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू आइपुगेका थिए । गुफा हेर्ने प्रतिव्यक्ति बा¥ह सिलिङ लाग्ने रहेछ । त्यहाँ बताइएअनुसार त्यो गुफा त न्युजिल्यान्ड सरकारको राष्ट्रिय आम्दानीको एउटा स्रोत रहेछ ।” यो विसं २०१० जेठको कुरा हो ।
भक्तपुरकै मात्र कुरा गर्दा पनि सल्लाघारीमा चमेरोको बासस्थान छ । आजभन्दा २–३ दशअगाडि सल्लाघारी मन्दिर र मूलसडकको दक्षिणपट्टि प्रशस्त चमेरो देखिन्थे । आजकल रानीपोखरीको छेउछाउतिर बस्छन् । मार्चमा आएर चमेरा नोभेम्बरसम्ममा कतै बसाइ सरी जाने चमेरालाई पर्यटन उद्योगसँग जोड्न सकिन्छ कि ! केही वर्षअघि गरिएको एक अनुसन्धान प्रतिवेदनमा करिब १४ सय चमेरा सल्लाघारीमै रहेको उल्लेख छ । सत्यमोहन जोशीले विसं २०११ मै पोखराको महेन्द्र गुफा पत्ता लगाएका थिए र आज यो पोखराको पर्यटन उद्योगको अभिन्न अङ्ग बनेको छ भने भक्तपुरले त्यस्तो गर्न सक्दैन र ?
दुई हप्ताअगाडि मार्च २१ को दिन भँगेरा दिवस मनाइयो । भूकम्पपछि बनेका भक्तपुरका घरमा ‘चखुँ प्वा’ अर्थात् भँगेराका खोपा पाइन्नन् । वरिष्ठ वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठ ‘नेपाल अध्ययन भाग –२’ मा यस्तो लेख्छन् – “भँगेराको चिरबिरे आवाजसँग निद्रा खुल्ने बिहानीको मोहिनी मेरो अतीतको सम्झना बनेर बसेको छ ।”हनुमन्तेबाट उहिल्यै माछा हराए, ग्वंग पुखुमा सिम कुखुरा आउन छोडे । यो राम्रो सङ्केत होइन । अरू जीवलाई अनुपयुक्त पर्यावरण मानिसको निम्ति कसरी उपयुक्त होला ? तर, कहिलेकाहीँ माटीकोरे (किंगफिसर) भक्तपुर नगरको वरपरका रुखबुट्यानमा आएका देखिन्छन् । जुरेली त झाडीहरूतिर अझै पनि पाइन्छन् । जतिसुकै टाढा पुगेर पनि घर फर्किनसक्ने परेवा र गौँथलीले मानिसको घर छोडिसकेका छैनन् । चैत वैशाखमा कोइलीको कुहुकुहु सुनिन छोडिहालेको छैन । कहिलेकाहीँ घरबगैँचामा चिवे, भद्राइ, मुनिया झुल्किन्छन् । बिहान सबेरै सुगा (प्याराकिट) को बथान उडिरहेका हुन्छन् । चिल धेरैमाथि आकाशमा फन्को मारिरहेका पाइन्छन् । सूर्यविनायकको जङ्गलमा अझै पनि लामपुच्छ्रे चरा उडिरहेका छन्, सालकले भक्तपुरको बास छोडेको छैन । कोकले, हुटिट्याउँ, काले झ्याप्सी, न्याउली, मालकौवा, फिस्टे, तोपचरा हेर्न धैर्य गर्नुपर्छ । प्रकृतिको यो अनुपम उपहारको संरक्षण नै मुख्य हाँक बनेको छ । नेपाल आउने ६० प्रतिशत पर्यटक जैविक विविधता हेर्न आउने भएकोले यस कुराप्रति पनि उत्तिकै ध्यान दिनु आवश्यक छ ।
प्रकृतिको संरक्षण स्थानीय तहले मात्र गर्न सक्दैनन् । प्रदेश र सङ्घीय सरकारले उल्लेख्य प्राविधिक सहयोग गर्नु र सल्लाह दिनु आवश्यक छ ।
प्रकृति नै नरहे, हामी पनि रहने छैनौँ ।
Leave a Reply