भर्खरै :

चीनबाट प्राप्त खोप अविलम्ब प्रयोग गर्नु जरुरी

नेपालमा कोभिड–१९ को दोस्रो लहर देखियो । कोभिड–१९ बाट भारतमा दैनिक ८० हजारभन्दा बढी मानिस सङ्क्रमित भइरहेका छन् । भारतसँगको खुला सिमानामा परीक्षण प्रभावकारी बनाउनु जरुरी छ । एक वर्ष अगाडि भारतसँगको खुला सीमा नाकामा परीक्षण र क्वारेन्टिनको राम्रो व्यवस्था नहुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेको थियो । यो वर्ष पाठ सिक्नु जरुरी छ । सरकारमा गएका पार्टीका कार्यकर्ताहरूलाई भारतसँगको खुला सिमानामा क्वारेन्टिनको व्यवस्थापन कार्यमा स्वयम्सेवक बनाएर खटाउनु उपयुक्त हुनेछ ।
चीनबाट प्राप्त कोभिड–१९ रोकथाम खोप काठमाडौँ उपत्यकालगायत जिल्ला–जिल्लामा अविलम्ब वितरण गर्नु आवश्यक छ । यही चैत ३ गतेको प्रतिनिधिसभाको बैठकमा चीनले सहयोग गर्ने खोप पेइचिङ विमानस्थलबाट नल्याइएको विषयबारे हामीले प्रश्न उठाएका थियौँ । संसद्मा उठेअनुसार सरकारले पेइचिङ विमानस्थलबाट खोप ल्याएको सकारात्मक हो । यतिखेर चीनबाट थप खोप ल्याएर जनतालाई कोभिड–१९ सङ्क्रमणबाट जोगाउनु आवश्यक छ ।
सरकारी अस्पतालहरूमा बिरामीको राम्रो उपचार नभएको जनगुनासो अझै सम्बोधन भएको छैन । वीर अस्पतालमा अर्बाैँ रुपैयाँको मेसिन खरिद गरिएको तर प्रयोग नै नगरी घामपानीमा राखी बिगारिएकोबारे स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । शिक्षण अस्पताल, महाराजगञ्ज अस्पताल, शहीद गंगालाल हृदयरोग केन्द्र, पाटन अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपन केन्द्र, भक्तपुर क्यान्सर अस्पताललगायत जिल्ला–जिल्लाका सरकारी अस्पतालमा भौतिक संरचना, चिकित्सकको व्यवस्थापन र उपकरणसमेतको व्यवस्था नहुँदा बिरामीको उपचार राम्रोसँग नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । स्वास्थ्य मन्त्रालयले खरिद गरेको अर्बौँ रुपैयाँको स्वास्थ्य सामग्रीको पोका खोल्ने कामसमेत नभएकोतर्फ पनि स्वास्थ्यमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।
बेवारिसे शव पहिचान नगरी जलाइँदा मृतकका सम्बन्धित परिवारहरू बेखबरमा रहेकोबारे डा. सुगमजङ्ग केसी लगायतको टोली माइतीघरमा महिनौँ शान्तिपूर्ण धर्ना बस्दै छ । सो टोलीको मागलाई सम्बोधन गर्ने गरी बेवारिसे शव पहिचान गर्ने व्यवस्थाको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
भक्तपुरको परम्परागत सीप प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनताको ७१ रोपनी जग्गा अधिग्रहण गरी २०३६ सालमा भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएको हो । हाल यो उद्योग क्षेत्रमा सञ्चालित टेक्सटायल, रङ्गरोगन, प्लास्टिकलगायत ध्वनी र रसायन प्रदूषण फालेका उद्योगहरूबाट जनस्वास्थ्यमा हानी भएको हुँदा जनता आन्दोलनमा छन् । आव ०७२÷७३ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार यो औद्योगिक क्षेत्र उपत्यकाबाहिर अविलम्ब स्थानान्तरण गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।
भारततर्फ उडेको धुलोको कण र नेपालमै झन्डै ५०० भन्दा बढी ठाउँमा लागेको डढेलोको कारण काठमाडौँ उपत्यकालगायत देशभरि वातावरण प्रदूषण भइरहेको छ । यसले नेपालीलाई दम, खोकीलगायत स्वासप्रश्वासको रोगी बनाएको छ । देशको सन्तुलित विकास गरी जनताको बसोबास विकेन्द्रित बनाएर काठमाडौँ उपत्यकालाई फोक्सोको बिरामीको थलो हुनबाट जोगाउन पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
(नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले प्रतिनिधिसभाको २०७७ चैत १८ गतेको बैठकको विशेष समयमा व्यक्त गर्नुभएको विचार– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *