“नेटो” शक्तिहरू रूसतर्फ लम्किँदै छन्
- जेष्ठ २५, २०८३
‘फूट गर अनि राज गर’ चाणक्य नीति उहिल्यै नै पढेको थिएँ । भारत वर्षका राजकुमार चन्द्रगुप्तलाई निष्कंटकरूपमा आफ्नो शासन सत्ता सञ्चालन गर्न र राज्य विस्तार गर्न अन्य विभिन्न राज्यका शासकहरूलाई लडाउने, भिडाउने, कुटील चालको माध्यमले आफ्नो पक्षमा ल्याउने र विरोधी पक्षलाई निमिट्यान्न पार्ने गुरू विष्णुगुप्त (चाणक्य) को शिक्षाले दिक्षीत हुनेहरूको कमी आज पनि छैन ।
त्यस्ता कुटिल चालहरू सदियौँ वर्षदेखि चल्दै आएको हो । नेपालमा पनि विभिन्न कालखण्डमा त्यस्ता चालहरू शासकहरूले लागू गर्दै आएका छन् । कुत्सित मनसाय बोकेका धूर्त तत्वहरूलाई शासक दलहरूले पालिराखेका हुन्छन् । जनताको बीच विभाजन ल्याएर विभिन्न अवसरहरूमा मौकाको फाइदा उठाउन खोजिरहेकै हुन्छ ।
कुरो नजिकिँदै आएको यसपालिको बिस्केट जात्राको हो । कोभिड–१९ को कारण गत वर्ष जात्रामा आबद्ध हुने सरोकारवालाहरूसँग नियमित छलफल गरी हरेक गतिविधिहरू सफलताका साथ सम्पन्न गर्न भक्तपुर नगरपालिका सफल छ । जात्रालाई औपचारिकतामा सीमित पारिएको थियो । यसपालि लकडाउन नभएको भिन्न स्थितिमा सरोकारवालाहरूको राय सुझावलाई ध्यानमा राखेर त्यस्तै आवश्यक निर्णय गर्न अर्को बैठक बोलाउन तयारी गरिरहेकै अवस्थामा भक्तपुर जिल्लाका प्रजिअको अध्यक्षतामा बसेको जिल्ला प्रकोप व्यवस्थापन केन्द्रको बैठकले भैरवनाथको रथ तान्ने जात्रा र लिङ्गो उठाउने र ढाल्ने जात्रा नगर्ने’ निर्णय गरेको सार्वजनिक भयो । उक्त निर्णय गरेको बैठकमा उपस्थिति रहेका प्रतिनिधिहरूको सूची हेरेँ । तर, त्यसमा जनप्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरू भेटिएन । जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको अगुवाइमा भएको उक्त बैठक निर्णय स्थानीयवासीहरूको निम्ति अनपेक्षित थियो । त्यसैले भक्तपुरमा असहज परिस्थिति उत्पन्न भयो । केही समय अगाडि भक्तपुरमा चल्ने बिस्केट जात्रा यसपालि नरोकिने समाचार सम्प्रेषण गर्ने जिल्ला प्रशासनले नेपाल सरकार र गृह मन्त्रालयको आदेशानुसार कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्नुपर्ने जनाइ जात्रा रोक्नुपर्ने निर्णय गरेको व्यहोराले जनतालाई चित्त बुझाउने स्थिति भएन । अरू सबै कार्यक्रम सामान्यरूपमा सञ्चालन भइसकेको अवस्थामा त्यसलाई अस्वाभाविक मान्न पनि सकिन्नँ ।
संसद्को सर्वोच्चता अदालत र निर्वाचन आयोगले खोस्दै गएको र स्थानीय जात्रा चलाउन पनि प्रजिअसँग स्वीकृति लिनुपर्ने, अदालत धाउनुपर्ने परम्परा बस्यो भने यसले जनभावनालाई ठेस पु¥याउँदै जानेछ । उनीहरूसँग स्वीकृति लिने होइन सुरक्षाको बन्दोबस्तको निम्ति जानकारीमात्रै दिने हो । जात्रा कसरी चलाउने भन्नेबारे त समुदायले नै निर्णय गर्नुपर्ने कुरामा जोड दिइयो ।
बैठकले जननिर्वाचित भनपा मेयरलाई जानकारी नै नदिई जात्रा रोक्ने एकल निर्णय गर्दा बिस्केट जात्रा तनावपूर्ण बन्ने सम्भावना बढेको थियो । सरोकारवालाहरूसँग समन्वय गर्न नसक्दा गत वर्ष पाटनको रातो मच्छिन्द्रनाथको जात्राको सिलसिलामा प्रहरीसँग भएको मुठभेड र त्यसले उत्पन्न गराएको अराजक स्थिति यसपालि भक्तपुरमा पनि नहोला भन्न सकिँदैनथ्यो । आन्दोलनकारीलाई खोरमा हाल्ने र छुटाउने मामिलामा समेत राजनीति गर्दै आइरहेका सत्ताधारीहरूले भक्तपुरमा पनि फेरि मौका छोप्ने दाउ नहेर्ला भन्न सकिन्न । जात्रालाई समेत घृणित कुटिल नीतिको रूपमा गाँज्ने अवस्था अब आउन दिनुहुँदैन । कुनै पनि हचुवा निर्णयको भरमा द्वन्द्व चर्काउने यस्ता चाललाई निरूत्साहित गर्नैपर्छ ।
भक्तपुर नगरपालिका सधँै नगरवासीको साथमा रहेको कुरा यसका विभिन्न गतिविधिहरूबाट जगजाहेर नै छ । भक्तपुर जिल्ला प्रशासनको निर्णयलाई सच्याउन सांसद प्रेम सुवाल र मेयर सुनिल प्रजापतिको पहलमा जात्रासँग सरोकारवालाहरूको अर्को बैठकले प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिङ्गो उठाउने र ढाल्ने जात्रालाई कोभिड–१९ को सङ्क्रमण जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णयले जनताको भावनालाई सम्मान गरेको ठहर्छ ।
जिल्ला प्रशासनले आम जनतासँग सम्बन्धित कुनै पनि कार्य गर्दा र जात्रासम्बन्धी महत्वपूर्ण निर्णय गर्दा स्थानीय निकायसँग छलफल वा समन्वय गर्नुपर्ने आवश्यकता पनि यसले दर्शाएको छ ।
बैठक निर्णयअनुसार जात्रालाई सुमधुररूपमा सञ्चालन गर्न भक्तपुर नपाको आयोजनामा जात्रा सुरू हुने थलो टौमढीमै जात्रासम्बन्धी सद्भाव सभा नै राख्यो । जात्रा सुरू हुनु पूर्वसन्ध्यामा राखिएको उक्त सभाले जात्रा सञ्चालनमा देखिएका अन्योल र शङ्काहरू छ्याङ्गै पारिदिएको उपस्थित जनसमुदायले अनुभव गर्न पाए । लड्डु लडाइ चिनी झार्ने स्थानीय जनतालाई एक–आपसमा भिडाइ तर मार्ने, धमिलो पानीमा माछा मार्ने सबै चालहरूबाट सचेत र सजग पार्न उक्त सद्भाव सभाले मनग्गे टेवा पु¥याएको अनुभूति भयो ।
यसपालिको जात्रा सद्भाव सभामा व्यक्त गरिएजस्तै सभ्य, भव्य र शान्तिपूर्वक शालिनताका साथ सम्पन्ने हुने कामना गर्दछु ।
Leave a Reply