तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
नेपाल आयल निगमले २०७७ चैत २३ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरूद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै शुक्रबार ज्ञापनपत्र बुझाएको छ । सङ्घको १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र हस्तान्तरण गर्दै संयोजक गुरूङले जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्नुपर्ने बताउनुभयो । निगम घाटामा जानुको कारण निगमभित्रै हुने गरेका आर्थिक अनियमितता, भ्रष्टाचार र कालोबजारी प्रमुख कारण रहेको गुरूङको भनाइ थियो ।
उहाँले भ्रष्टाचारी र कालाबजारीहरूलाई कडाभन्दा कडा कारबाही गर्न निगमको ध्यानाकर्षण गर्नुभयो । भारतको आईओसीसँग मात्र निगमले पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौता गर्नुले नेपालमा भारतको एकाधिकार कायम हुने गरेको उहाँदृ बताउनुभयो । भारतीय नाकाबन्दीको समयमा चीनसँग पेट्रोलियम पदार्थ अनुदानमा सहयोग लिएको निगमले भारतबाहेक अन्य मित्र देशबाट पेट्रोलियम पदार्थको आपूर्ति गर्नेतर्फ चासो नदेखाउनु आपत्तिजनक विषय भएको उहाँले बताउनुभयो ।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्ने, निगमभित्रको अनियमितता नियन्त्रण गरी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, कर्मचारीलाई बोनस तथा सेवा सुविधा वितरण रोक्नुपर्ने, भारतबाहेक अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपर्ने, भण्डारण क्षमता बढाई सस्तो र सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने मागहरू उल्लेख छन् ।
ज्ञापनपत्र बुझिलिँदै निगमका कार्यकारी निर्देशक पौडेलले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरूप्रति निगम सकारात्मक रहेको र निगमले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्ने वचन दिनुभयो ।
Leave a Reply