भर्खरै :

संस्कृति र स्वास्थ्य

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मनाइने ऐतिहासिक बिस्का जात्रा आजबाट सुरू हुँदै छ । बिस्का जात्राको पहिलो दिन आज भक्तपुरमा भैरवनाथको रथ तानिंदै छ । कला–संस्कृतिमा समृद्ध मल्लकालीन काठमाडौँ उपत्यकामा मनाइने प्रमुख मौलिक जात्रामध्ये बिस्का जात्रा पनि पर्दछ । विक्रम संवत्को नयाँ वर्षको रूपमा समेत बिस्का जात्रा मनाइने गरिन्छ ।
अघिल्लो वर्ष कोभिड–१९ महामारीबीच सरकारले घोषणा गरेको लकडाउनको कारण बिस्का जात्रा औपचारिकतामा मात्र सीमित गरिएको थियो । कहीं रथ तान्ने र लिङ्गो उठाइएको थिएन । त्यसो त यो वर्ष पनि कोभिड–१९ महामारीले नेपाललाई पनि अचेँट्दै ल्याएको छ । यद्यपि, जनताको भावनालाई कदर गर्दै स्थानीय तहले महामारी फैलिने जोखिम न्यूनीकरणका सबै सावधानीका उपाय अपनाएर जनजीवनमा गहिरो गरी बसेको बिस्का जात्रा मर्यादित र शान्तिपूर्वक मनाइँदै छ ।
युगौँदेखि मनाइँदै आएको चाड–पर्वसँग जनताको गहिरो भावनात्मक सम्बन्ध हुनु स्वाभाविक हो । बिस्का जात्रा पनि काठमाडौं उपत्यकाका रैथाने नेवा समुदायका जनताको भावनासँग नजिकबाट गाँसिएको जात्रा हो । लगातार धेरै वर्षसम्म मौलिक चाडपर्व नमनाउँदा कतै भोलि गएर ती सांस्कृतिक निधिहरू समाप्त हुने त होइन भन्ने जनताको चासो र चिन्ताका विषय हुन् । त्यसकारण अघिल्लो वर्षजस्तै यो वर्ष पनि जात्रा रोकिने हो कि भनी जनता चिन्तित हुनु उचित छ । संस्कृतिप्रेमी जनताको भावना कदर गर्दै स्थानीय पालिकाहरूले जनतासँगको सहकार्यमा बिस्का जात्रालाई निरन्तरता दिने भएका छन् । यसर्थ यो वर्षको बिस्का जात्रा अघिल्लो वर्षजस्तै सुनसान हुनेछैन ।
तर, कोभिड–१९ को सङ्क्रमण पनि दिनानुदिन बढ्दै छ । विभिन्न देशका अनुभवले भीडभाडबाट कोभिड–१९ सङ्क्रमणको सम्भावना पनि बढ्ने गर्छ । इटालीमा फूटबल खेल हेर्न जम्मा भएको भीडबाट कोभिड–१९ को सङ्क्रमण बढेको थियो । संरा अमेरिकामा सरकारले समयमै रोकथामको उपाय नअपनाउँदै सङ्क्रमणले विकराल रूप लियो । केही मानिसहरू कोभिडलाई ‘केही होइन’ भन्दै पालना गर्न सकिने सावधानीका उपायमा समेत हेलचक्र्याईँ गर्छन् । अरूलाई पर्दा कुरो आउँछ, आफूलाई पर्दा ज्वरो आउँछ’ भन्ने एउटा उखान छ । कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी परेका मानिसहरूको अनुभव सुन्दा र पढ्दा यो कतिपय मानिसले भनेजस्तो सामान्य कुरा नभएको बुझ्न सक्छौँ । त्यसकारण यतिबेला विशेषतः काठमाडौँ उपत्यकाका जनताले दुई वटा जिम्मेवारी एकै पटक बहन गर्नुपर्ने भएको छ । एकातिर जनताको काँधमा संस्कृतिको जगेर्ना गर्नु जिम्मेवारी छ भने अर्कोतिर कोभिड–१९ को बढ्दो महामारीलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाप्रति सजग हुनुपर्नेछ ।
आफ्नो स्वास्थ्यप्रति सजग हुने प्राथमिक दायित्व जनता स्वयम्को हो । दैनिक जीवनमा पालना गर्न सकिने सावधानीका आधारभूत उपायको पालनाले मात्र पनि महामारी नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने गर्छ । तर, आफ्नै लागि पालना गरिनुपर्ने त्यस्तो उपायको पालनामा हेलचक्र्याई हुँदा ठुला चुनौतीको सामना गर्न समाज बाध्य हुन्छ ।
संस्कृतिको शाब्दिक अर्थ हो, राम्रो र असल चालचलन । स्वास्थ्यलाई ध्यानमा राखी हामीले पालना गर्ने असल व्यवहार पनि संस्कृति हो । कोभिड–१९ को महामारीबीच मास्क लगाउनु, साबुन पानीले हात धुनु, भीडभाडमा कम जानु पनि नयाँ संस्कृति बनेको छ । समयले जन्माएको यो नयाँ संस्कृतिको पालना गरेर मात्र हामीले हिजोदेखिका संस्कृतिको जगेर्नाको अर्थ रहन्छ । त्यसकारण स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिस्का जात्रा मनाउन बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *