भर्खरै :

बाग्मती आयोजना स्थापनाको २७ वर्ष, नदी भएन ढलमुक्त

काठमाडौँ, २८ चैत । उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले स्थापना भएको बाग्मती आयोजना २७ वर्ष पूरा भए पनि ढलमुक्त हुनसकेको छैन । २०५१ चैत २८ गते बाग्मती ढल सुधार आयोजनाको नाममा स्थापना भएकोमा हाल अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नाम दिइएको छ । स्थापनाकालमा हालका राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनाको नेतृत्व गर्नुभएको थियो । भण्डारीपछि नेतृत्व गर्नुभएका पूर्वसांसद विदुर पौडेलको पालामा आयोजनाको अघि अधिकार सम्पन्न भनी नाम थपिएको थियो । नाममा अधिकार सम्पन्न थपिए पनि काममा त्यो लागू नभएको पूर्वअध्यक्ष नरेन्द्रराज बस्नेतको गुनासो छ ।
विसं २०६३ को परिवर्तनपछि अध्यक्ष बन्नुभएका कृष्ण केसीको पालामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नाम दिइएको थियो । नाम परिवर्तन, नेतृत्व परिवर्तन भई २७ वर्ष पूरा भए पनि बाग्मतीको पानी कालो हुन नरोकिएको समितिका सञ्चालक सदस्य माला खरेल स्वीकार्नुहुन्छ । “आयोजनाको कामबाट हामी नै सन्तुष्ट हुनसकेका छैनौँ”, उहाँले भन्नुभयो ।
समितिको २७ औँ स्थापना दिवसको अवसरमा बाग्मती सफाइ महाअभियानको ४१३ औँ हप्ताको बाग्मती नदी सफाइ पनि गुह्येश्वरी क्षेत्रमै गरिएको छ ।
कार्यक्रममा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेलले बाग्मती पहिलेभन्दा बढी फोहर हुन थालेको बताउनुभयो । सफाइ अभियानको ५० औँ हप्ताका अवसरमा गुह्येश्वरीस्थित नदी किनारमा स्नान गरेको स्मरण गर्दै उहाँले त्यसबेलाभन्दा पानी बढी कालो भएको बताउनुभयो ।
देशव्यापी जागरणका रूपमा सफाइ अभियान सुरू भए पनि स्थानीय सरकारले स्वामित्व लिएर सहयोग नगर्दा आशा गरेअनुरूपको काम हुन नसकेको अभियानकर्मीको गुनासो छ । सफाइ स्थानीय सरकारको कार्य क्षेत्र भए पनि बेवास्ता गरिँदा विभिन्न रोगको महामारी फैलने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *