भर्खरै :

चैत २९ गतेको मजदुर हेर्दाका केही टिप्पणी

चीनको पश्चिमी भागको सिनच्याङ्ग युगुर स्वायत्त प्रदेशबारे बेलायती प्रचार माध्यमहरूले केही वर्षदेखि नै नकारात्मक, झूट र फुटपारुवा ढङ्गका प्रचार गर्दै आएका छन् । हङ्गकङ्गमा बेलायती साम्राज्यवादले आफ्नो हैकम पुनःकायम राख्ने उद्देश्यले दीर्घकालीन प्रचार अभियान चलाएको हो भन्ने कुरा बेलायती साम्राज्यवादले भारत, चीन, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमाथि गरेको आक्रमणकारी उपनिवेशवादी नीतिबाट प्रस्ट हुन्छ । आजको संरा अमेरिकामा बेलायती साम्राज्यवादको उपनिवेश थियो । तर, पछि बेलायती साम्राज्यवादविरोधी अमेरिकी स्वतन्त्रता आन्दोलन (सशस्त्र सङ्घर्ष) ले संरा अमेरिका स्वतन्त्र भएको थियो ।
अमेरिकी ताम्रवर्णका आदिवासीहरूको हत्या गर्दै, आपसमा जुधाउँदै र बिफर रोगीका लुगा अमेरिकीहरूका गाउँमा फाल्दै, गाउँका गाउँ सखाप पार्दै आवाद योग्य जग्गा कब्जा गर्दै बेलायती साम्राज्यवादले अमेरिकामा उपनिवेश बनाएको थियो । युरोपका विभिन्न देशका राजबन्दी, व्यापारी, बेरोजगार र अपराधीहरूलाई बेलायती सरकारले अमेरिका पठाएपछि त्यहाँ बस्ती थपिँदै गयो । राजनैतिकरूपले सचेत युरोपेलीहरूको नयाँ पुस्ता बढ्दै गएपछि बेलायती साम्राज्यवादको विरोधमा अमेरिकाले स्वतन्त्रता प्राप्त गरेको थियो ।
बेलायती साम्राज्यवादले भारतका विभिन्न राज्य र राजा–महाराजाहरूलाई आपसमा भिडाउँदै गयो र बेलायती सशस्त्र निजी सेना, इस्ट इन्डिया कम्पनी र धर्मप्रचारक, व्यापारी भेषका सशस्त्र सैनिक गुप्तचरहरूको प्रयोगले भारतका
राज्यहरूलाई आपसी युद्ध गराउँदै विशाल भारतलाई सानो बेलायतले उपनिवेश बनाइ छाड्यो ।
त्यसरी न,ै चीन र अन्य पूर्वी देशहरूमा धर्म प्रचारक, तीर्थयात्री, व्यापारी, पर्यटक, दूतहरू बन्दै, भाषा, साहित्य, संस्कृतिको नाममा, गुुप्तचर विभाग र काजीहरूलाई हातमा लिएर बेलायतीहरू दरबारसम्म पुगे, ती देशहरूका अन्तरविरोधहरू थाहा पाएर आपसमा भिडाए, अफिम युद्धपछि अनेक युद्धको माध्यमबाट असमान सन्धिहरू गर्दै उपनिवेश र अर्ध–उपनिवेशहरू बनाए । सोभियत सङ्घको उदयपछि साम्राज्यवादी शक्तिहरू कमजोर भए, तर साम्यवादी शिविर र भर्खर स्वतन्त्र भएका भारत र चीनजस्ता पूर्व उपनिवेश देशहरूलाई पुनः लडाउँदै साम्राज्यवादी शक्तिहरूले उपनिवेशवादलाई पुनःस्थापना गर्ने कुटिल चाल चाल्दै छन् ।
ब्रिटिस–भारतले तिब्बतमाथि हमला गर्नुभन्दा पहिले नेपालका मल्ल राज्यहरू समाप्त पार्न पृथ्वीनारायण शाहलाई हात–हतियारले सघाएको थियो । नेपाल बेलायतको अर्ध–उपनिवेश बनेपछि बेलायतले ल्हासा कब्जा गर्न नेपालको सहयोग प्राप्त ग¥यो । पछि, म्याकमोहन लाइनको नक्सा बनाएर भारत र चीनजस्ता ठुला देशहरूलाई भिडाउने कुचाल चालियो ।
संरा अमेरिकाले अफगानिस्तानमा सोभियत सङ्घलाई फसाउने कुटिल राजनीति ग¥यो । अनि, उसैले अनेक मुसलमान (अरब) देशहरूको धार्मिक सेना पठाएर सोभियत सेनासँग भिडायो, सोभियत सेना फर्केपछि अफगानिस्तान र अन्य अरब देशहरू इरान, इराक, सिरिया, लिबिया आदि देशमा प्रत्यक्ष हस्तक्षेप गर्दै पेट्रो डलरलाई हतियार बेच्ने र अरबका जनतालाई जाति र धर्मको नाममा लामो युद्धमा फसायो ।
बेलायती र अमेरिकी साम्राज्यवादले जुन–जुन देशसँग मित्रताका सम्झौताहरू गर्छन् आखिर तिनीहरूले नै एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूलाई आपसमा भिडाउँदै त्यहाँका सबै प्राकृतिक स्रोत र साधनमा कब्जा गर्दै नव–उपनिवेश बनाउँदै जानेछन् । यसकारण सिनच्याङ्ग होस् या एमसीसी, अमेरिका मित्र भएर पस्ने र मालिक भएर देशहरू कब्जा गर्नेछ भन्ने बुझाउन तिनीहरूको इतिहास नयाँ पुस्तालाई पढाउनु आवश्यक छ । तिनीहरूको जालमा भारत र चीनजस्ता देशहरूसमेत फस्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *