भर्खरै :

आठौँ महाधिवेशनको तयारीमा क्युवाली कम्युनिस्ट पार्टी

हवाना, १२ अप्रिल । क्युवाली कम्युनिस्ट पार्टी (पीसीसी) को आठौँ महाधिवेशन आउन अब केही दिनमात्र बाँकी छ । आगामी अप्रिल १६–१९ सम्म समाजवादी देश क्युवाको सत्तारूढ कम्युनिस्ट पार्टीको सर्वोच्च अधिवेशन हुँदै छ ।
क्युवाली समाजवादी सरकारलाई अपदस्थ गर्न संरा अमेरिकाको गुप्तचर निकाय सीआईएले परिचालन गरेका लडाकुहरूले क्युवाको ‘बे अफ पिग्स’ भन्ने ठाउँमा गरेको हमलालाई पराजित गरेको ६० वर्ष पुगेको अवसर पनि यसपालिको आठौँ महाधिवेशनसँग जोडिएको छ । ६० वर्षअघि सीआईए परिचालित प्रतिक्रान्तिकारी लडाकुहरूलाई क्युवाली क्रान्तिकारी सेनाले पराजित गरेको थियो ।
महाधिवेशनको पूर्वसङ्घारमा क्युवाको राजधानी हवानाका सरकारी तथा सार्वजनिक कार्यालयमा राष्ट्रिय झन्डा फहराइएको छ । हवानाका मुख्य सडकहरूमा ‘पार्टी नै क्रान्तिको आत्मा हो’ नारा लेखिएका रातो रङ्गका व्यानर र विद्युत्तीय सूचना पाटीहरू झुन्ड्याएका छन् ।
“यो देशभक्तिपूर्ण सन्देशले हामीलाई हाम्रो राजनीतिक प्रणालीको रक्षाको लागि कम्युनिस्ट पार्टी अपरिहार्य भएको स्मरण गराएको छ”, मध्य हवानामा बस्ने निजी क्षेत्रका मजदुर मार्सिलो रामिरेजले सहरको सार्वजनिक आराम पार्कमा झुन्ड्याइएको विद्युत्तीय सूचना पाटीमा प्रकाशित नारा पढेर भन्नुभयो ।
हवाना विश्वविद्यालयको दर्शन र इतिहास विभागका वरिष्ठ प्राध्यापक फाबियो फर्नान्देजले क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन दसकौँअघि क्युवाले थालेको सामाजिक र आर्थिक सुधारको कार्यक्रमलाई गति दिन महत्वपूर्ण हुने बताउनुभयो ।
“क्युवाली कम्युनिस्ट पार्टीले समसामयिक राष्ट्रिय हितका विषयमा छलफल गर्न आह्वान गरेको छ”, उहाँले भन्नुभयो । सन् २०१९ मा पारित क्युवाको नयाँ संविधान कार्यान्वयनमा ल्याउन पार्टीले यो महाधिवेशनमा सुनिश्चित गर्ने फर्नान्देजको भनाइ थियो ।
क्युवा सरकारले कोभिड–१९ महामारी रोकथामको लागि गरिरहेको प्रयासबीच सत्तारूढ दलको महाधिवेशन हुन लागेको हो । क्युवामा सन् २०२० को मार्च ११ मा पहिलो कोभिड–१९ सङ्क्रमित फेला परेको थियो ।
क्यारिबियाली टापु देश क्युवामाथि संरा अमेरिकाले थोपरेको नाकाबन्दी यतिबेला अझ कडा गरिएको हुँदा क्युवाली जनताले अझ चर्को आर्थिक सङ्कट सामना गर्नुप¥यो ।
हवानाको सभा केन्द्रमा भेला भएका प्रतिनिधिहरूले पार्टीको विचारधारा, इतिहास, सांस्कृतिक प्रतिष्ठानका कार्य, भ्रष्टाचारविरूद्धको लडाइँका साथै पार्टी सङ्गठनको आन्तरिक गतिविधिबारे पनि छलफल गर्ने क्युवाली सञ्चार माध्यमहरूले जनाएका छन् ।
क्युवाले आर्थिक रूपान्तरण घोषणा गरेको पाँच वर्ष भएको छ । त्यसकारण यो महाधिवेशनमा विदेशी लगानी, गैरसरकारी व्यापारको नयाँ कानुनी ढाँचा र चालु मौद्रिक सुधारबारे पनि छलफल हुनेछ ।
हवाना विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र विभागका वरिष्ठ प्राध्यापक ओस्कर फर्नान्देजले यो पटकको महाधिवेशनले अर्थतन्त्रको हिसाबमा महत्वपूर्ण रणनीतिक निर्णय गर्ने बताउनुभयो ।
“महाधिवेशनले आर्थिक सुधारको बाटोलाई अझ प्रस्ट बनाउनेछ । आर्थिक तथा सामाजिक परिवर्तनमा सफलताको मापन गर्ने सूचकाङ्कलाई प्रस्ट रूपमा परिभाषित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *