भर्खरै :

मार्टीदेखि फिडेलसम्मः क्युवामा कम्युनिस्ट पार्टी

विखण्डन, क्षेत्रीय भावना, अस्थिरता र षड्यन्त्रको दोहोरो मिश्रणले उपनिवेशकालीन क्युवालाई निकै घाइते बनाएको थियो । त्यसको उपचार गर्न हतार भइसकेको थियो । थप आँसु खेर फाल्न सकिने अवस्था थिएन । क्युवालाई जोगाउनु थियो ।
घाउ भएको ठाउँमा बौद्धिकता, तर्क वितर्क र देशप्रेमको मात्राले प्राथमिक उपचार गर्ने प्रयास भयो । युवाहरू क्युवालाई जोगाउने बुटी बनाउनतिर लागे । त्यो बुटी भनेको एकता नै थियो । जनताबीच रहेको विभाजनबाट मुक्त पार्न त्यो निकै महँगो अचुक बुटी प्रयोग गरी स्वाधीनता प्राप्त गर्ने पहिलो प्रयास असफल भयो । क्युवाली युवाहरू स्वाधीनताको सपना केही समयका लागि स्थगन गर्न बाध्य भए । जनतामा एकता स्थापित गर्ने एउटा राजनीतिक हतियारको खाँचो परेको प्रस्ट थियो । त्यो राजनीतिक हतियार भनेको एउटा राजनीतिक पार्टी थियो ।
न्यायको आदर्शबाट अभिप्रेरित भएर पाइला पाइला गर्दै जोसे मार्टीजस्ता युवा राजनीतिक प्रतिभा प्रकाशमा आए । अपूर्ण क्रान्तिप्रति कटिबद्ध तर छरिएका शक्तिहरूलाई पुनः एक ठाउँमा ल्याउन उनी अघि सरे । तर, ‘आफै मुखिया र नेता बन्नुपर्ने भावनाले त्यो सुन्दर अग्रसरता कुरूप भद्दापनामा टुङ्गियो ।’ मार्टीले आन्तरिक द्वन्द्वले निम्त्याएको अन्योलको चित्रण गर्दै भने,“कसैले नखोसे पनि हामी हाम्रो हातमा भएको तरबार बित्थामा भुइँमा खसाल्दै छौँ ।”
“उनीहरूले हतियार शत्रुसामु होइन, कुनै कुसमयसामु बिसाउँदै छन् ।”
सन् १८६८ को अक्टोबर १० मा स्वाधीनताको राँको बालेको देशभक्तिपूर्ण जागरणबारे मार्टीले भित्रैबाट बुझेका थिए । उनले त्यो राँकोलाई एक दशकसम्म जोगाए । विडम्बना ¤ त्यो आन्दोलनले आफ्नो लक्ष्य हासिल गर्न सकेन । अपेक्षित सफलता हासिल गर्न सकेन । क्युवालीहरूलाई जुठ्यानमा पु¥याउने भावना अझै पनि कायम रहेको कुरा उनलाई थाहा थियो । त्यसकारण एकताको भावनाले निर्देशित एउटा अदम्य प्रयास जति आवश्यक हो, सम्भव पनि भएको उनले बुझेका थिए ।
प्रोत्साहित गर, एकै ठाउँमा ल्याऊ, परिचालन गर, शिक्षित गर–क्युवाको मुक्ति सङ्घर्षका दिनहरूका सधैँका सूत्र थियो यो । यसलाई व्यवहारमा उतार्नको निम्ति एउटा एकताबद्ध शक्तिको खाँचो थियो । त्यो भनेको राजनीतिक पार्टी नै थियो ।
युरोपमा पुरै उथलपुथल भइरहेको थियो । त्यस परिस्थितिमा माक्र्सवाद–लेनिनवादको मार्गनिर्देशनमा भ्लादिमिर इलिच लेनिनले जारकालीन रुसका सहर र खेतखलिहानमा पुस्तकका सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्दै थिए । वोल्शेविक सङ्गठनले त्यसको नेतृत्व गरिरहेको थियो ।
रुसका नेता लेनिन र क्युवाली नेता मार्टीले एक अर्कालाई चिनेका थिएनन् । तर, झन्डै एउटै लयमा उनीहरूले एउटै लक्ष्य प्राप्तिको निम्ति उस्तै तरिका प्रयोग गर्दै थिए । आपसमा सम्बन्ध नभएका दुई घटना समयको आफ्नै लयमा अघि बढ्यो । आपसमा सम्बन्ध नभए पनि दुवैको भावना र स्रोत भने एउटै थियो–न्यायप्रतिको भावना ।
क्युवाली क्रान्तिकारी पार्टीका आधारभूत विचारधाराभित्र रहेर हाम्रो मातृभूमि (क्युवा) को मुक्तिको लागि आवश्यक युद्ध गर्ने र क्युवाली बालबालिकाको दिगो खुसी र दक्षिण अमेरिकी महादेशको इतिहासमा क्युवाको भौगोलिक अवस्थितिका कारण खेल्नुपर्ने जटिल भूमिका खेल्ने लक्ष्य नै क्युवाली जनताका अहिलेका राजनीतिक अग्रदस्ता क्युवाली कम्युनिस्ट पार्टी स्थापनाका मूल आधार हो ।
“हाम्रा आर्थिक र सामाजिक सपनालाई मूर्त रूप दिने सिद्धान्त मार्टीको विरासत, माक्र्सवाद–लेनिनवाद, क्युवाली क्रान्तिका ऐतिहासिक नेता फिडेल क्यास्ट्रोका विचार र क्रान्ति आफै हुन्”, क्युवाली सेनाका जर्नेल राउल क्यास्ट्रोले भने ।
जोसे मार्टीका दिनदेखि अहिलेको क्युवाली कम्युनिस्ट पार्टीसम्मको बाटो निकै लामो छ । लामोमात्र होइन, यो बाटोमा धेरै उथलपुथल पनि छन् । सफलताका कथा पनि छन्, असफलताका कथा पनि । यो बाटो विकास र सिकाइको यात्रा हो । यो यात्रामा एक पटकमात्र होइन, पटक–पटक विलक्षण साहसिक कृति र बलिदानहरू भएका छन् ।
बाटोमा तगारा कम थिएनन् । न सङ्ख्यामा कम थिए, न ती झिनामसिना तगारा नै थिए । क्युवा अपराजयी टापु भएको कुरा थाहा हुनेलाई क्युवामाथि उपनिवेश कायम राख्नु असम्भव भएको थाहा थियो । साथै ‘पाकेको फल’ चाख्न चाहनेहरूलाई क्युवाली जनताबीचको एकता नै विस्तारवादी सोचको लागि सबभन्दा ठुलो तगारो भएको कुरा सुरुबाट थाहा थियो । त्यही भएर उनीहरू ऐनकेन प्रकारेण क्युवाली जनताको एकता रोक्न चाहन्थे ।
“उन्नाइसौँ शताब्दीभरि ‘भाग्य विधाता’ (Manifest Destiny), ‘मोनरो सिद्धान्त’ र ‘पाकेको फल’ जस्ता सिद्धान्त र नीति बनिरहे”, क्युवाली कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशनमा राउलले भने, “संरा अमेरिकाका विभिन्न सरकारले क्युवामाथि कब्जा गर्ने प्रयास गरिरहे । सन् १८९८ मा क्युवाली गुरिल्ला ‘ममबिसेस’ लडाकुहरूको साहसिक सङ्घर्ष पनि युद्धको अन्त्यमा संरा अमेरिकाको हस्तक्षेपको सफल हुन सकेन ।”
“उनीहरूले सैनिकरूपमा क्युवामाथि कब्जा जमाए । मुक्ति सेनालाई छिन्नभिन्न बनाइयो । जोसे मार्टीले स्थापना र नेतृत्व गरेको क्युवाली क्रान्तिकारी पार्टी विघटन गरियो । अनि कलिलो गणराज्यको संविधानको परिच्छेदमा प्लाट संशोधन समावेश गराइयो । सो संशोधनले क्युवाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न संरा अमेरिकालाई वैधानिक अधिकार दिएको थियो । सोही प्रावधानमा टेकेर क्युवाको ग्वान्टानामोमा संरा अमेरिकाले सैनिक आधार राखेको छ ।”
संरा अमेरिकी शासकहरूले क्युवामा स्वाधीनताको आगो निभाउन सकेनन् । तर, उनीहरूले धेरै देशभक्तहरूको ज्यान लिए । क्युवाका सबभन्दा पवित्र, भलादमी र बहादुर मानिसहरूले देशको लागि जीवन दिए । उनीहरू नै कम्युनिस्टहरूका आदर्श बने र आजको लडाइँका प्रेरणाका स्रोत बने ।
सन् १९२५ मा कार्लोस बलिनो र जुलिओ एन्टोनिओ मेल्लाको एकताले केही सन्देश दिन्छ ¤ बलिनो मार्टीसँग मिलेर क्युवाली क्रान्तिकारी पार्टी स्थापना गरेका बौद्धिकताका धनी व्यक्ति थिए भने मेल्ला इमानदारी र लगनशील व्यक्ति थिए । उनीहरू मिलेर पहिलो क्युवाली कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यत्तिबेला मेल्ला भर्खर २२ वर्षका थिए ।
सन् १९२५ मा क्युवाली कम्युनिस्ट पार्टी स्थापना भएको चार वर्षपछि जुलिओ एन्टोनिओ मेल्ला क्रान्तिकारी सङ्घर्षबीच मेक्सिकोमा प्रवास जीवन बिताउन बाध्य भए । उनी त्यत्तिबेला २६ वर्षका थिए । मेक्सिकोमा तानाशाह गेरार्डो मचाडोले भाडामा लिएका गुण्डाहरूले उनको हत्या गरे । “म क्रान्तिको लागि मरेँ”, उनले आफ्नो अन्तिम समयमा भनेका थिए । उनको विचार सधैँ प्रेरणादायी रहनेछ । पाँच वर्षभन्दा कम समयमा मचाडोको तानाशाही शासनलाई क्रान्तिकारी जनसङ्घर्षले पराजित ग¥यो । त्यो जनसङ्घर्ष पनि समाजवादी विचारधाराका पक्षपातीहरूले गरेका थिए ।
भेल्लिना, गुइटेरसलगायत अन्य क्रान्तिकारीहरूले क्रान्ति अघि बढाए । पाब्लो डे ला टोरियन्टे ब्राउ, राफेल त्रेजो, ब्लास रोका, राउल राओ र कार्लोस राफेल रोड्रिग्युज आदि क्रान्तिकारीहरू साम्राज्यवाद पक्षधर सरकारको विरोधमा उत्रे ।
स्पेनियाली गणतन्त्रको रक्षा गर्न त्यहाँको गृहयुद्धमा फासीवादी शक्तिविरुद्ध लड्न क्युवाली स्वयम्सेवकहरूको बिग्रेडमा सामेल भएर क्रान्तिकारीहरू स्पेन गए । पाब्लो डे ला टोसियन्टेको स्पेनमै निधन भयो ।
‘शताब्दी पुस्ता’ (द सेन्टिनेरी जेनेरेसन) का युवा सदस्यहरूलाई इतिहासका तिनै विचारले प्रभावित बनायो । तिनै सपनालाई आदर्श थपेर सन् १९५३ को जुलाई २६ मा उनीहरूले सान्टियागो डी क्युवाको सबभन्दा ठुलो सैनिक किल्लामा हमला गरे । इतिहासमा बलियो जग बसाल्दै गरेको नेतृत्वसहित उनीहरूले आफ्नो विचारमा मार्टीलाई बोकेका थिए । शताब्दी पुस्ताले माक्र्सका साथै मार्टीको विचारधारा पनि अङ्गीकार गरेका थिए । सान्टियागोको सैनिक किल्लामा हमला गरेको त्यो दिनबाट क्युवाको स्वाधीनताको निम्ति अन्तिम चरणको सङ्घर्ष सुरु भएको थियो । त्यही देशभक्तिपूर्ण भावनाका साथ विश्वविद्यालय विद्यार्थी सङ्गठन र जनताको समाजवादी पार्टीजस्ता अन्य क्रान्तिकारी सङ्घर्ष स्थापना भए ।
त्यस्तो थियो क्युवाको देशभक्तिपूर्ण, स्वाधीनता पक्षधर र साम्राज्यवादविरोधी सङ्घर्ष । त्यसको मूल्य निकै महँगो प¥यो । धेरैको जीवन बलिदान भयो । धेरैले अनेक थरी दुःख भोगे । तर, हरेक पटकको हमला र आक्रमणको क्युवाले सम्मानजनक प्रतिरोध ग¥यो । स्वाधीनता र सार्वभौमिकताका सबै आदर्शमाथि भएको घातको क्युवाले जवाफ दिइरह्यो ।
राउल क्यास्ट्रो भन्छन्,“क्युवाको नवउपनिवेश अवस्थाले सन् १८९९ देखि त्यहाँको आर्थिक र राजनीतिक क्षेत्रमा संरा अमेरिकालाई पूर्ण नियन्त्रण कायम रह्यो । तर, त्यसले क्युवाली जनतालाई निराश बनाएन । स्वतन्त्रता र स्वाधीनताको लागि क्युवाली जनताको सपना मरेन । ठीक ६० वर्षपछि सन् १९५९ को जनवरीमा कमान्डर फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवाली क्रान्ति विजय भएसँगै हामी स्वतन्त्र र स्वाधीन भयौँ ।”
क्रान्तिले शक्ति हत्याएपछि क्रान्तिलाई ध्वस्त बनाउने सपना देखेकाहरूविरुद्ध निर्विकल्प प्रतिरक्षाको लागि क्युवाली जनताबीच एकता कायम गर्नुप¥यो । केही विभाजनकारी चालबाजीलाई असफल बनाएपछि एउटा एकीकृत क्रान्तिकारी सङ्गठन स्थापना भयो । पछि समाजवादी क्रान्तिको लागि एकीकृत पार्टी स्थापना भयो । त्यसैबाट सन् १९६५ को अक्टोबर महिनामा क्युवाली कम्युनिस्ट पार्टीको स्थापना भयो ।
फिडेल र राउलको नेतृत्वमा सबै खालका चुनौती र निर्ममताको प्रतिरोध गर्नसक्ने क्युवाको विलक्षण क्षमता छ । यही गौरवका साथ निर्विकल्प औजारहरू इमानदारी, एकता, प्रतिरोध र विजयको परम्परा बोकेर हाम्रो क्युवाली कम्युनिस्ट पार्टी र जनता आज आठौँ महाधिवेशनको गम्भीर सङ्घारमा आइपुगेको छ ।
अविश्वसनीय चुनौतीको सामना गर्न सिकेको देश क्युवाले कहिले पनि कुनै पनि खतरालाई न त न्यूनाङ्कन गर्छ र न उ त्रसित नै बन्छ । उसले निरन्तर अघि बढ्ने चुनौतीको सामना गर्छ । त्यही निरन्तरताले उसका कायर र दयालाग्दा शत्रुहरूलाई अत्याउँछ । फिडेल र मार्टीको परम्परालाई सिद्धान्तको रूपमा अँगालेका जनताले कहिल्यै पनि त्यस्ता शत्रुसामु आत्मसमर्पण गर्नेछैनन् ।
स्रोतः ग्रान्मा
नेपाली अनुवादः अभिनव

Leave a Reply

Your email address will not be published. Required fields are marked *