भर्खरै :

‘स्मृतिमा ज्ञानबहादुर दाइ’ पढ्दा

‘ज्ञानबहादुर दाइ’ एक अनुशासित, असल, इमानदार तथा कर्तव्यनिष्ठ किसान कार्यकर्ताको नाम हो । असाध्यै सरल जीवन र आजीवन जनसेवामा समर्पित एक कार्यकर्ताको नाम हो ‘ज्ञानबहादुर दाइ’ । पार्टी र नेता अर्थात् नेतृत्वप्रतिको उच्च सम्मान, बफादारी र विश्वासले ज्ञानबहादुर न्याइच्याईलाई जनताका प्रिय ‘ज्ञानबहादुर दाइ’ बनायो । पार्टी नीति, सिद्धान्त र विचारमा स्पष्टता र अडानले उहाँलाई जनताका सच्चा प्रतिनिधि बनायो । व्यक्तिगत जीवनभन्दा पार्टी, समाज तथा देशलाई माथि राख्ने असल व्यवहारको नाम ‘ज्ञानबहादुर दाइ’ हो । पार्टीले दिएको जिम्मेवारीप्रति कहिल्यै पनि गुनासो गर्नुभएन । अभाव, गरिबीसँग जुझेर जनताको सद्भाव र माया जित्नुभयो । त्यो जीतको कहिल्यै घमण्ड गर्नुभएन । दुःखमा नआत्तिने र सुखमा नमात्तिने ज्ञानबहादुर दाइ नरहनुभएको १० वर्ष पुग्यो । उहाँको सम्झनामा हरेक वर्ष स्मृति सभा तथा विविध गतिविधिहरू आयोजना गरिन्छ ।
उहाँको भौतिक शरीरले बिदा लिए पनि उहाँको योगदान तथा विचारले अझ महत्व पाइरहेको छ । उहाँ आज पनि भक्तपुरवासी तथा नेमकिपाका कार्यकर्ता, समर्थकहरूको हृदय–हृदयमा बाँचिरहनुभएको छ । ‘स्मृतिमा ज्ञानबहादुर दाइ’ ले उहाँको सम्झना दिलाइरहन्छ । ९ वर्षअघि नेपाल क्रान्तिकारी किसान सङ्घद्वारा प्रकाशित सो पुस्तकले ज्ञानबहादुर दाइलाई नयाँ पुस्ताबीच चिनाउनुका साथै उहाँको व्यक्तित्वबाट सिक्न हौस्याउँछ । पद, पैसाका निम्ति जे पनि गर्ने, आफ्नो इमान, विचार र सिद्धान्त समेत त्याग्ने मानिसहरूको बीचमा ज्ञानबहादुर दाइ पृथक उदाहरण हुनुहुन्छ । ‘स्मृतिमा ज्ञानबहादुर दाई’ ले नयाँ पुस्तालाई प्रेरणा प्रदान गरिरहनेछ ।
पुस्तकमा उहाँको सङ्क्षिप्त जीवनी सङ्ग्रहित छ । परिवारजनको दृष्टिमा ज्ञानबहादुर न्याइच्याई कस्तो व्यक्ति हुनुहुन्थ्यो ? जनताका एक असल प्रतिनिधिका रूपमा उहाँ कस्तो हुनुहुन्थ्यो ? आफ्ना सहकर्मीहरूले उहाँलाई कसरी सम्झन्छन् ? यी प्रश्नहरूमा पुस्तक केन्द्रित छ । यसका साथै उहाँको कार्यक्रम, सङ्गठन विस्तारका लागि गर्नुभएको यात्रा, प्रतिक्रियावादी सङ्घसंस्था, तत्कालिन समयमा पञ्चायती व्यवस्थाभित्र बसेर पञ्चायतविरुद्धको सङ्घर्षका आयामहरू सङ्कलित छन् ।
उहाँको जीवनीमा उहाँको जीवन–सन्दर्भ छैन । तत्कालीन भक्तपुरको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थालाई उहाँको जीवनीले जिवन्त प्रस्तुत गर्छ । घरको जेठो छोरा, सानो उमेरमा अभिभावकविहीन हुनुपरेको अवस्था, आफ्नै पहिलो सन्तान कुकुरको टोकाइको समयमै उपचार नपाई ९ वर्षको उमेरमा गुमाउनुपरेको पीडा, घरमा एक छाक पनि पाक्न नसकेको दयनीय आर्थिक अवस्थाले त्यही देखाउँछ । इँटा भट्टालाई व्यवसायको रूपमा अङ्गाल्ने उहाँका सुरुआति दिनमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले उहाँलाई त्यताबाट जनसेवाको बाटोमा हिँड्न उत्प्रेरित गर्नुभयो । २००९ सालदेखि नै का. रोहितको मार्गनिर्देशनमा उहाँ एक कार्यकर्ताको भूमिकामा रहनुभयो । पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्रका निम्ति भएका सबै आन्दोलनहरूमा उहाँको सहभागिता र सक्रियता थियो । २०१९ सालको चुनावमा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गई देश र जनताको सेवा गर्ने पार्टी नीतिअनुसार उहाँ वडा सदस्यको उम्मेदवार बन्नुभयो । २०२१ सालको भूमिसुधारलाई उपयोग गर्ने पार्टीको नीति अनुरूप उहाँ मोहियानी हक सुरक्षा, साँढे धपाउने आन्दोलन, भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलनमा सक्रिय रहनुभयो । सुस्ता र देशको सार्वभौमिकताको पक्षमा आवाज दिनुभयो । २०३१ सालमा पार्टी स्थापनाका वैचारिक आधारहरूलाई टोल–टोल, गाउँ–गाउँमा जनतासम्म पु¥याउन मेहिनत गर्नुभयो । उहाँ वडा अध्यक्ष, कहिले प्रधानपञ्च, फेरि वडा अध्यक्ष र पुनः मेयर पदमा निर्वाचित हुनुभयो । पार्टीको निर्देशनलाई उहाँ सदा शिरोधार्य गर्ने कार्यकर्ता हुनुहुन्थ्यो भन्ने पुष्टि यी घटनाक्रमले पुस्टि गर्छ ।
भक्तपुरलाई सफा, सांस्कृतिक नगरको रूपमा विकास गर्न उहाँले जनताबीच काम गर्नुभयो । विकुमाया भाउजूले उहाँलाई यसरी सम्झेकी छिन् – “७५ वर्षको जीवनमा मीठो–राम्रोको कल्पना कहिल्यै गर्नुभएन । साधारण खाना खानुहुन्थ्यो । नुनमात्र भए पनि पुग्ने थियो । अनावश्यक खर्च नगर्ने र मिजासिलो बोल्ने हुनुहुन्थ्यो ।”
जीवनभर समाजको लागि योगदान गर्ने, पारिवारिकभन्दा सामूहिक हितमा बढी चिन्तित रहने ज्ञानबहादुर न्याइच्याईको विचार नाति पुस्ताले पनि अनुशरण गर्ने विश्वास पुस्तकमा उल्लेख छ ।
अध्यक्ष नारायणमान बिजुक्छेँ उहाँलाई एक सरल, घमण्ड नगर्ने र सबैसँग मिलेर काम गर्न चाहने कार्यकर्ताको रूपमा सम्झनुहुन्छ । व्यक्तिगत लाभले सिद्धान्त र अनुशासन भङ्ग गर्ने प्रवृत्तिको विरोधमा सङ्घर्ष, पुँजीवादी विचारविरुद्धको सङ्घर्षका लागि ज्ञानबहादुर न्याइच्याई एक उदाहरणीय व्यक्ति हो भन्नुहुन्छ अध्यक्ष का.रोहित । का. ज्ञानबहादुर न्याइच्याईले कडा सैद्धान्तिक सङ्घर्षमा उदारता र नरम व्यवहार देखाएको, उहाँको गरिबप्रतिको उच्च सद्भावको फाइदा धनीहरूले पनि उठाएको सन्दर्भहरूमा अध्यक्षज्यूले आलोचनात्मक ढङ्गले हेर्नुभएको छ ।
किसान नेता बुद्धिकुमार गोसाई र ज्ञानबहादुर न्याइच्याईको सहयात्राबारे पुस्तकमा चर्चा छ । समाजका शोषक–सामन्तविरुद्ध आगो ओकल्ने साहस बोकेका दुई युवाले तत्कालीन किसान समाजको आर्थिक, सामाजिक, शैक्षिक परिवर्तनका निम्ति पार्टी नीतिलाई दुरुष्त र व्यावहारिक ढङ्गमा कार्यान्वयन गर्न नेतृत्व गर्नुभएको स्मरण गराउँछ । पार्टी र जनताको व्यवस्थाका निम्ति जेलनेल, भूमिगत जीवन पनि स्वीकार्ने ती युवाबाट आजका युवाहरूले सिक्न जरुरी रहेको महसुस हुन्छ ।
उहाँ किसानहरूमाझ एक प्रभावशाली वक्ता हुनुहुन्थ्यो । नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल जनसभामा कथाको माध्यमबाट शिक्षित बनाउने उहाँको प्रभावकारी शैली सम्झनुहुन्छ । उहाँले ‘खरायो र गाजर’ सम्झनुभएको छ । नगर पञ्चायतको ढुकुटी रित्याउन र देशकै सम्पत्तिलाई निजी बनाउन चाहने भ्रष्टाचारीहरूलाई उहाँ ‘खरायो र गाजर’ को कथा सुनाउनुहुन्थ्यो । गाजर खान पल्केको खरायो र देशको सम्पत्तिमा लुट मच्चाउने भ्रष्टाचारी एकै भएको बताउनुहुन्थ्यो । पुस्तकमा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले आपूm जनप्रतिनिधिको रूपमा ज्ञानबहादुर दाइसँग काम गर्दाका दिनहरू सम्झनुभएको छ । नगर सफाइ र शैक्षिक आन्दोलनमा उहाँको योगदानको चर्चा गर्नुभएको छ । आपूm अक्षर नचिन्ने, नेपाली भाषा शुद्ध नजान्ने ज्ञानबहादुर दाइको शिक्षाप्रेम, नयाँ पुस्ता तयारीको उत्सुकतालाई प्रस्तुत गरिएको छ । उहाँ लेख्नुहुन्छ – “जीवनमा पैसा कमाउने उद्देश्य राखेको भए उहाँले धेरै सम्पत्ति जोर्न सक्नुहुन्थ्यो होला ¤ उहाँले त्यसतर्पm दृष्टि नै लगाउनुभएन । त्यसैले त उहाँ जनताको ‘ज्ञानबहादुर दाइ’ बन्नुभयो ।”
ज्ञानबहादुर न्याइच्याई सँगै हिँड्नुभएका किसान अगुवा गोविन्द दुवालको आँखाबाट उहाँको जीवन र सङ्घर्षको शब्ददृश्य उतारिएको छ ।
पुस्तकमा थुप्रै अग्रज र पार्टी कार्यकर्ताहरूले उहाँको सम्झनामा लेख्नुभएको छ । जनकवि चन्द्रबहादुर उलकले ज्ञानबहादुर दाइले लुसुनको ‘गर्मीका तीन कीराहरू’ बारे गर्नुभएको चर्चाबारे उल्लेख गर्नुभएको छ । कविवर सिद्धिचरण श्रेष्ठले एउटा भेटमा उहाँलाई भन्नुभयो –“भक्तपुरमा लुुसुनको निबन्धलाई व्यावहारिकरूपमा व्याख्या गर्न सक्ने किसान पनि रहेछ । मलाई त साह्रै खुसी लाग्यो ।”
उहाँ शत्रुलाई पनि चित्त बुझाएर कुरा गर्ने क्षमता राख्नुहुन्थ्यो । उहाँको कर्म र विचार अमर रहनेछ ।
उहाँका अन्तर्वार्ता र लेख–रचनाहरू पनि पुस्तकमा सङ्ग्रहित छन् । यी सबैले उहाँको सङ्घर्षशील जीवनमाथि प्रकाश पार्छन् । ७५ वर्षको उमेरमा ब्रेन ट्यूमरका कारण बित्नुभएका ज्ञानबहादुर दाइलाई आज पनि पार्टी कार्यकर्ताहरू सप्रेम सम्झन्छन् । उहाँप्रति हार्दिक श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *