सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीवादी गणतन्त्रात्मक यो व्यवस्थाको संविधानमा समाजवादउन्मुख उल्लेख छ । संविधानतः नेपाल समाजवादउन्मुख राज्य हो । पुँजीवादी पार्टीहरूको अन्तिम लक्ष्य नै पुँजीवादी व्यवस्था हो । नेकाको निम्ति अब अर्काे नयाँ व्यवस्थाको जरुरी छैन । नेका यही व्यवस्थामा रहेर सके सुधारात्मक काम गर्छ तर यो व्यवस्थालाई बदल्न चाहँदैन । समयअनुसार नेकाले सामान्य ऐन कानुन हेरफेर गर्नु स्वाभाविक हो । नयाँ व्यवस्थाको लागि नेकाले सङ्घर्ष गर्दैन, गर्न जरुरी ठान्दैन ।
कम्युनिस्टहरू पुँजीवादी व्यवस्था स्वीकार्दैनन् । उनीहरू समाजवादी गणतन्त्रको निम्ति लड्छन्, सङ्घर्ष गर्छन् । पुँजीवादी व्यवस्थामा रहेर कम्युनिस्टहरूको उद्देश्य पूरा हुने छैन । कम्युनिस्टहरू पुँजीवादी बन्दोबस्तमा रहेर सुधारात्मक कार्यक्रमभन्दा व्यवस्था नै बदल्न चाहन्छन्, बदल्न जनतामाझ पुग्छन्, जनतालाई सैद्धान्तिक र वैचारिक खुराक दिएर सचेत र सङ्गठित पार्छन् । तर, आफूलाई ठुला, सत्तारुढ र शक्तिशाली कम्युनिस्ट ठान्ने दलका नेताहरू यही पुँजीवादी व्यवस्थामा रहन चाहन्छन्, यही व्यवस्थामा रमेर राज्यकोषमा रजाइँ गर्न चाहन्छन् । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अब सरकारको विरोधमा कुनै सङ्घर्ष गर्न नपर्ने बताउँछन्, यही व्यवस्थामा रहेर सबथोक गर्ने आश्वासन बाँड्छन् ।
समाजवादी गणतन्त्र पुँजीवादी सरकारको नेतृत्व गरेर प्राप्त हुँदैन । समाजवादी गणतन्त्र स्थापना गर्न कम्युनिस्टहरू जुट्नैपर्छ । सरकारको नेतृत्व हेरफेर हुँदैमा समाजवादी गणतन्त्र स्थापना हुने होइन । बहुमत जनताको पक्षमा ऐन कानुन नबनिकन कम्युनिस्ट भन्ने दलको नेतृत्वमा सरकार हुँदैमा त्यो यथार्थमा कम्युनिस्टको सरकार हुँदैन । कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व त पटक–पटक गरेकै हो । केपी ओलीमात्र होइन मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल आदि प्रम बनिसके । तर, व्यवस्था बदलिएन या देशमा समाजवादी गणतन्त्रको बन्दोबस्तअनुसार काम भएन । साँच्चै भनौँ भने एमाले, माओवादी केन्द्रजस्ता दलहरू समाजवादी गणतन्त्रको बाटोमा लागेकै छैनन्, लाग्न चाहेका छैनन् ।
एमालेका नेताहरू जनताको बहुदलीय जनवादको सिद्धान्तको आधारमा नेपालमा समाजवाद स्थापना गर्ने उद्घोष गर्छन् । जबजलाई माग निर्देशक ठानेर समाजवादी गणतन्त्र स्थापना गर्ने कुरा गर्छन् । पुँजीवादी व्यवस्थामा रहेर, बसेर आमूल परिवर्तन सम्भव छैन । क्रान्तिकारी भूमिसुधार लागू गर्न सकिँदैन । आर्थिक समानताको जग खन्न सकिँदैन । समाजवादलाई सही दिशामा अघि बढाउन सकिँदैन । सङ्घर्ष नगरी बहुमत जनताका पक्षमा कसरी ऐन, कानुन बढाउन सकिन्छ ? समाजवादउन्मुख देश बनाउन पनि अघि नबढ्ने एमालेको सरकार समाजवाद स्थापना गर्ला भन्ने आशा कसरी गर्ने ? अतः समाजवादी गणतन्त्र स्थापना गर्न सङ्घर्ष नगरी हुँदैन । सङ्घर्ष गर्नेबित्तिकै समाजवाद स्थापना हुने होइन । तर, समाजवादी गणतन्त्र स्थापना गर्न वातावरण तयार गर्दै जानुपर्छ । यो देशका हरेक कम्युनिस्ट पार्टीको जिम्मेवारी हो, त्यो जिम्मेवारी कम्युनिस्ट पार्टीले निर्वाह गर्नुपर्छ ।
Leave a Reply