भर्खरै :

मनाए थिमिका बासिन्दाले सिन्दुर जात्रा

भक्तपुर, २ वैशाख । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन् । कोरोनाको महामारीको बेवास्ता गर्दै मध्यपुर थिमिका बासिन्दाले बिहानैदेखि मध्यपुर थिमिको टोलटोलबाट विभिन्न देवताको खट बोकेर सिन्दुर खेल्दै यो जात्रा मनाइएको हो ।
थिमिमा मात्र मनाइने यस जात्रामा एकअर्कामा सिन्दुर दलेर हातहातमा चिराग बालेर बालकुमारी र थिमिभित्र ३२ खट ल्याएर मनाउने परम्परा छ । जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । बुधबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ ।
जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकोले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागतरूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ ।
एकअर्कामा सौहार्दपूर्णरूपमा सिन्दुर दल्ने, छ्याप्ने र धिमेबाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ । जात्रा सकिएपछि दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा सुरु भएको थियो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *