भर्खरै :

पशु अधिकार हुनुपर्छ तर मानव अधिकार पनि

काभ्रेको धुलिखेलमा एउटा खैरो रङ्गको कुकुरलाई नृशंसतापूर्वक मारेको भन्दै नयाँ वर्षको पहिलो दिन नै पशुअधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरे । खैरे नाम दिएको कुकुरलाई पोलमा बाँधेर लठीले कुटीकुटी मारेको भिडियो केहीदिनदेखि सामाजिक सञ्जालमा व्यापक भइरहेको थियो । निर्मम ढङ्गले कुकुरको हत्या गरेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको बताइयो । प्रदर्शनकारीहरूले कुकुर हत्यामा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । विरोध प्रदर्शनको प्रभावस्वरूप कुकुर मारेका मानिसहरूलाई प्रहरीले समाइसकेको र कुकुर मारेका मानिसहरूको घरमा तोडफोड र ढुङ्गा प्रहार गरिएको समाचार छ । लाग्दै छ, मानिसको अधिकार त सुरक्षित हुने नै भयो अब नेपालमा पशुको अधिकारबारे पनि सचेतना जागिसकेको छ ।
तर, वास्तविकता त्यस्तो होइन । कुकुर बहुलाउन थालेको र बालकलाई टोकेको भनेर स्थानीयले कुकुरलाई मारेका रहेछन् । हिजोआज धेरैको हातहातमा क्यामरासहितको मोबाइल फोन छ, त्यस घटनाको पनि भिजुअल खिचेर सामाजिक सञ्जालमा हालिदिएछन् । सामाजिक सञ्जालमा सक्रिय कथित पशुअधिकारकर्मीहरूलाई गतिविधि गर्ने बहाना मिलिहाल्यो । पशुहरूलाई निर्ममतापूर्वक मार्नु ठीक होइन तर पशुअधिकारको वकालत गर्ने कतिपय पशुपालकहरूले पनि राम्रो छउञ्जेल घरमा पाल्ने र उमेर बढेर बानी बिग्रन थालेपछि सडकमा फाल्ने गरेको देखिएकै हो । मानिसहरूलाई खतरा बनिसकेका कुकुरलगायत पशुहरूलाई नियन्त्रणमा लिएर व्यवस्थित स्थानमा राख्ने काम कुनै पनि तहका सरकारहरूले गरिरहेका छैनन् । खतरा बनेका पशुहरूलाई बन्दोबस्त गर्ने सीप र क्षमता सर्वसाधारणसित हुने नै भएन ।
छाडा कुकुरका कारण बेलुका अबेर ड्युटी गरेर घर र कोठा पुग्नुपर्नेेहरूलाई कम्ता सास्ती छैन । काठमाडौँको एउटा सपिङ मलमा काम गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिकाकी एक युवती छाडा कुकुरको झुन्डको हमलामा पटक पटक परिन् । पसल साहुले बेलुकी ८ बजेअगाडि पसल छोड्नै नदिने, हतार हतार भक्तपुर वा बनेपा धुलिखेलको अन्तिम बस समातेर भक्तपुर पुगेर फेरि चाँगुनारायणतिर हिँडनु पर्दा कहिल्यै ९ बजे अगाडि हुँदैन । बाटोमा मानिसको आवागमन कम भएपछि छाडा कुकुरको मनोमानी बढ्ने हुन्छ । कुकुर धपाइदिने पनि कोही हुँदैन । कुकुरले पैदल हिँड्नेलाई मात्र होइन स्कुटर र मोटरबाइकमा गुड्नेलाई समेत लखेटेर टोक्ने गरेका छन् । पशुअधिकारको कुरा गर्नेहरूले यसरी काम गरेर घर हिँड्दा असुरक्षित बनेका मानिसहरूको अधिकारका बारेमा सोच्न र बोल्नु पर्दैन र ? मानिसको भन्दा छाडा कुकुरको अधिकार बढी महत्वको हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *