सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
२०७२ सालको भूकम्पताका बाह«बिसेदेखि उँभो कोदारी पुग्ने बाटो छेउछाउका गाउँ–घरका कथा कुनै त्रासद कथाजस्तै गरी सुनिन्थ्यो । तिनताक सुनिएका कति कुरा सही थिए, कति सर्दै आउँदा अर्कै बनिसकेका कुरा थिए भने कति हल्ला मात्र थिए । भूकम्पअघि त्यो बाटो केही पटक ओहोरदोहोर गरेको र वरपरका एकाध गाउँमा केही दिन बिताएको हुँदा सञ्चारमाध्यम र चिया पसलहरूमा त्यहाँको अवस्थाबारे कुरा सुन्दा मेरा आँखाअघि आफू पुगेका ठाउँहरूका तस्वीर चलचित्रजस्तै गरी घुम्थ्यो । अनि हामीले भात खाएका, चिया पिएका, आलु पोलेर खाएका घर र पसलहरूको अवस्था कस्तो भयो होला भनी सोचिन्थ्यो ।
गोरखाको वारपाकलाई केन्द्र बनाई गएको २०७२ सालको भूकम्पले सबभन्दा बढी प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक पनि थियो । भौगोलिक र भौगर्भिक हिसाबमा निकै विकट र कमजोर मानिएको बाह«बिसे उँभो चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजारसम्मको ठाउँ पनि भूकम्पबाट नराम्ररी प्रभावित बनेको थियो । विनाशकारी भूकम्प र त्यसपछि पनि लगातारको पराकम्पहरूको कारण ज्यान जोगाउन सो क्षेत्रका ठुलै सङ्ख्याका जनता रातारात काठमाडौँ उपत्यका पसेका थिए । आफै सङ्कटको भुमरीमा फसेको उपत्यकाले सिन्धुपाल्चोकको सो क्षेत्रका जनतालाई धेरै ठुलो गुण लगाउन सक्ने कुरै थिएन । तथापि, खुला चौरमा मित्रराष्ट्रले दिएका पालमुनि टाउकोसम्म ओत लाग्ने ठाउँ दिइएको थियो ।
भूकम्पले क्षति पु¥याएपछि बाह«बिसे–खासा सडक क्रमशः बिरानो बन्दै गयो । चीनले खासाको नाका नै लामो समयसम्म बन्द राख्यो । भूकम्पले थिलथिलो बनाएको सडकको दुरवस्थासँगै यसका अरू पनि धेरै कारण छन् । केरुङसम्म रेल आउने भएपछि चिनियाँ सामान नेपाल ढुवानी गर्न रुसुवागढीको नाका नै छोटो पर्ने भएपछि खासाको नाका क्रमशः निष्क्रिय बन्दै गएको बताइन्छ । खासा नाकामा अत्यधिक भ्रष्टाचार भएकोले पनि चीन सरकारले त्यो नाका बन्द गर्न चाहेको कुरा पनि सुनियो । मुख्यतः खासा वरपरका नेपाली र चिनियाँ गाउँहरूलाई तिब्बती पृथकतावादीहरूले आधार बनाउन खोजिरहेको भन्ने सङ्केतहरूको कारण पनि चीन सरकारले खासाको विकल्प खोजेको विश्लेषण हुने गरेका छन् । कारण जे होस्, कुनै बेला रातदिन कन्टेनर गाडी चल्ने त्यो बाटोमा हिजो–आज यदाकदा मात्र गाडी भेटिन्छन् । सामान ढुवानी गर्ने गाडीभन्दा निकै गुणा बढी निर्माण सामान ढुवानी गर्ने गाडीहरू चल्ने गरेका छन् ।
बिहीबार बिहान बाह«बिसे बजार पुग्दा पहिला चिनियाँ सामना बेच्ने अधिकांश पसलहरूले आफ्नो कलेवर फेरिसकेको देख्यौँ । विगतमा चिनियाँ सामानले छपक्कै छोपिने बाह«बिसे बजारमा त्यस्ता सामान बेच्ने पसल निकै कममात्र भेटिए । खासाबाट चिनियाँ सामान ल्याएर बेच्ने एकाध पसलहरूले हिजोआज काठमाडौँबाट चिनियाँ सामान ल्याएर बेच्ने गरेका छन् । खासा व्यापारको दिशा यतिबेला उल्टो बहिरहेको छ । चिनियाँ सामानको काठमाडौँमा व्यापार गर्ने व्यापारीलाई प्रयोग हुने ‘खासा व्यापारी’ शब्दमा अब हेरफेर हुने बेला आयो कि !
बाह«बिसेबाट उँभो लाग्दा बिग्रेभत्केको धुलाम्ये सडकले मात्र होइन, धुलोले धमिलो बनेको भोटेकोसीको पानी र वरपरका धुलाम्ये चट्टानले पनि मन खिन्न बनायो । विगतमा त्यो बाटोको यात्रा गर्दा बहेको चिसो हावा र सुन्दर भोटेकोशीको सम्झनाले बाटोभरि सताइरह्यो । त्यहाँ चिसो हावा बहने भएकोले जिउ न्यानो बनाउन लगाएको थप लुगाले हपहप गर्मी भइरहेको थियो । धुलोले चस्माको सिसा छोपिँदा वरपरको दृश्य अझ धमिलो बनाएको थियो । बाटो छेउछाउका स–साना बजारहरूमा पसल र बैङ्कहरू थपिएको देखियो । तर, सडकमा पानी जमेका खाल्डाखुल्डीले ती बजारहरूलाई कान्तिहिन बनाएको अनुभव भयो ।
नेपाल–चीन मैत्री सम्बन्ध स्थापना भएको ६० औँ वर्षको अवसरमा गत वर्ष सन् २०२० को अक्टोबर महिनामा कोदारी राजमार्ग बनाउन चीन सरकारले खटाएको एक जना चिनियाँ अधिकारी चेङ सुयोङको संस्मरण अङ्ग्रेजीभाषाबाट नेपालीमा भाषान्तर गर्ने अवसर पाएको थिएँ । विसं २०२० को दसकमा कोदारी राजमार्ग निर्माण गर्दा चिनियाँ जनमुक्ति सेनाले सामना गरेका चुनौती र दुःख–कष्टबारे त्यो संस्मरणमा लेखिएको थियो । (हेर्नोस्, २०७७ साल साउन १८ को मजदुर दैनिक) तत्कालीन अन्तर्राष्ट्रिय परिस्थितिमा निकै चर्चा चलेको त्यो सडकको निर्माणले नेपाल र चीनबीचको सम्बन्धमा मात्र नयाँ अध्याय आरम्भ गरेको थिएन, बरु नेपालको राजनीति र अर्थतन्त्रमा पनि नयाँ अध्याय थपेको थियो । सडक बनाउन आएका चिनियाँ सेनाअन्तर्गतका चिकित्सकहरूले स्थानीय जनतालाई स्वास्थ्य सेवा समेत दिएर अन्तर्राष्ट्रियवादी भावनालाई निरन्तरता दिएका थिए । सडक निर्माणको क्रममा केही चिनियाँ सिपाहीहरूले ज्यान समेत गुमाएको इतिहास त्यो संस्मरणमा उल्लेख छ । त्यो संस्मरणको अनुवादपछि पहिलो पटक त्यो सडकको यात्रा गर्दै गरेकोले पनि हुनसक्छ– सडकको हरेक अप्ठ्यारो घुम्ती बनाउन चिनियाँ सिपाही र प्राविधिकहरूले कति र कस्तो कठिनाइ सामना गर्नुपरेको थियो होला भनी सोच्न मन भएको । भीरको माथिबाट डोरीमा झुण्डिएर तल विस्फोटक पदार्थ विस्फोटन गरी सडकको ट्र्याक खोलिएको संस्मरण खासातिर हुँइकिँदै गर्दा अझ कल्पनातीत बन्यो । विडम्बना आज त्यो सडक कुनै परित्यक्त सडकजस्तै विरानो बनेको छ । छिमेकी र मित्र देशको पैसा ल्याएर विकासको मूल फुटाउने बानी परेका शासकहरूले त्यो सडकलाई पनि सम्भवतः मागी खाने भाँडो बनाउन चाहन्छन् । यो सडकको ऐतिहासिकता र नेपालको आर्थिक जीवनमा यसको महत्वलाई उनीहरूले बेवास्ता गरिरहेका छन् ।
यो पटकको यात्रामा सबभन्दा मन अमिलो बनाउने कुरा थियो– झन्डै तीस किलोमिटरको यो सडकभरि भइरहेको प्राकृतिक स्रोतको चरम दोहन । भौगर्भिकरूपमा समेत निकै कमजोर ठाउँ मानिएको सो क्षेत्रमा जताततै ढुङ्गा खानीहरू सञ्चालन भइरहेका छन् । बाह«बिसेभन्दा तल सुनकोसीबाट जसरी बालुवाको चरम दोहन भइरहेको दृश्य देखिन्छ, उँभो भने ठुला पत्थर फोडुवा गाडीहरूले पहाड खन्दै र पत्थर फोड्दै गरेका दृश्य देखिन्छन् । तिब्बततिर जाने र तिब्बतबाट सामान लिएर तल झर्ने गाडीहरू मुस्किलले एकाध भेटिए । तर, काठमाडौँ उपत्यकाभित्र आठ बजे पस्न हतारिँंदै दौडिरहेका टिपरहरू भने धेरै सङ्ख्यामा देखिए । वरपरका पहाडहरूमा पहिरोहरू राक्षसी हाँसो हाँसिरहेको देख्दा सो क्षेत्रमा मानिसको सङ्ख्या भविष्यमा क्रमशः पातलो बन्दै जाने सहज अनुमान गर्न सकिन्छ । बाटामा भूकम्पको बेला छिमेकी मित्रराष्ट्र चीनले बाँडेका पालहरूले अझै पनि पुनःनिर्माण अभियानलाई गिज्याइरहेको जस्तो लाग्यो ।
प्राकृतिकरूपमा निकै सुन्दर कुमारी भूमि हिजोआज युद्धले क्षतविक्षत बनाएको बिरानो भूमि जस्तै बनेको छ । सम्भवतः चीन सरकारले अनुदान दिएपछि मात्र नेपाल सरकार, मन्त्रालय, कर्मचारी र स्थानीय तहले त्यो सडकको विषयमा जोडतोडका साथ बोल्नेछन् । ठेकेदारहरू सल्बलाउनेछन् ।
अप्ठ्यारो बाटो छिचोल्दै हिन्दी नाघेर सीमातिर नपुग्दै चीनबाट आएको पानीले हामीलाई छिटायो । उस्तै त अप्ठ्यारो बाटो, त्यसमाथि पानीले हिलो बनाए फर्किन धौधौ पर्ने थियो । पहाडी क्षेत्रमा चल्ने हुरीको आवाजले हामीलाई अझ अत्यायो । तब, हामीले त्यहीँबाट फर्किने निधो ग¥यौँ । पानी र हावालाई पछाडि पार्दै हामी अप्ठ्यारो बाटोमा बेतोड दौडियौँ । धन्न हामीलाई त्यसले छोप्न सकेन । नभए हरिविजोग हुने थियो !
Leave a Reply