भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति –५

राजा विधानसभामा शरण
२० जून १७९२ को दिन जनताले राजदरबारमा आक्रमण गरे । त्यसकारण २५ जुलाई १९७२ को दिन फ्रान्सेली राजाको पक्षमा अष्ट्रियाले युद्धको घोषणा ग¥यो, पेरिसवासी र फ्रान्सेली जनता देशभर सक्रिय भएर युद्धको विरोधमा सङ्गठित हुन लागे । सारा जनता प्रजातन्त्र र क्रान्तिको पक्षमा उर्लिए ।
क्रान्ति खतरामा पुग्दा माराट सा¥है सक्रिय भए । पेरिसका विभिन्न जिल्लाहरूमा स्थानीय सरकारी संस्थाहरूमा गएर काम गर्न थाले । त्यसलाई ‘सेक्सन’ भन्ने चलन थियो । ती संस्थाहरूले राजनीतिक सङ्घर्षमा सक्रिय भाग लिए । सुरूमा यस्ता कति संस्थाहरूले धनी मानिसहरू र भर्ना हुन चाहने सबैलाई सङ्गठनमा भर्ना लिए । तर, अगष्ट १७९२ को अप्ठ्याराका दिनहरूमा सेक्सनहरूले विधानसभालाई अविश्वास गरे । तिनीहरूले आफूलाई स्थायी सभा घोषणा गरे । केन्द्रीय समिति छाने । आन्दोलनलाई नेतृत्व गर्न त्यस समितिलाई क्रान्तिकारी पेरिस कम्युन भनियो । पेरिस कम्युन नगरको स्वायत्त शासनको अङ्ग थियो । बजार भाउ बढ्दै गयो र खाद्यान्न पूर्ति घट्न थाल्यो । त्यस अवस्थाले जनताको असन्तोषको आगोमा घ्यू थप्यो । जनता उठ्न थाले । लडाइँको मोर्चामा भएको हार र दरबारको बेइमानीले देशमा असन्तोष झन् बढ्दै गयो । दरबारले बेइमानी गरेको कुरा झन्झन् प्रस्ट हुँदै गएको थियो ।
९ अगष्ट १७९२ को रातमा अचानक घण्टी बज्यो । पहिलो घण्टी माराटले बजाउन दिएका थिए । सशस्त्र जनता र नागरिकहरू कम्युनको भवनमा ओइरिन थाले ।
१० अगष्टको दिन दलका दल नागरिकहरू बन्दुक, पिस्तोल र भाला लिएर तयार भए । प्रान्त प्रान्तबाट आएका स्वयंसेवकहरूले क्रान्तिकारी पेरिस कम्युनको नेतृत्व गर्न थाले । तिनीहरूले राजदरबारमा धावा बोले
यस्तो हमला हुन्छ भनेर पहिले नै राजा सतर्क थिए । यसकारण दरबारभित्र पैसामा बिकेका स्वीस पल्टन तैनाथ थियो । त्यससँग राजाका विश्वासपात्र खान्दानी र रजौटाहरूको सेना पनि राखिएको थियो । केही तोप हान्ने दलहरू पनि थिए । पहिलो हमला असफल भयो । दरबारको चोकमा ६०० देखि १००० जनता हताहत भए । प्रजातन्त्रवादीहरू लास र घाइतेहरू छोडेर पछि हटे । तेस्रो हमलामा दरबार कब्जा गरियो । तर, राजा भने बेपत्ता भइसकेको थियो । उनी त विधानसभाको भवनमा शरण लिन भागिसकेका थिए । क्रान्तिकारी जनताको डरले विधानसभाले राजाको अधिकार लियो । विधानसभाले उनलाई पेरिसका दरबारहरूमध्ये एक ठाउँमा बस्न दिने कुरो पारित ग¥यो । अनि पेरिस कम्युनले आफ्नो शक्ति उपभोग ग¥यो । लुई १६ औँ लाई गिरफ्तार गर्नुपर्छ भनेर माग भयो । तीन दिनपछि राजा–रानीलाई विधानसभाले टैम्पल भन्ने एक अँध्यारो बन्दीगृहमा राख्यो ।
फ्रान्सेली क्रान्ति नयाँ चरणमा
१४ जुलाई १७८९ देखि अगष्ट १७९२ को बीचको अवधिमा १० अगष्टको विद्रोहको फ्रान्सेली क्रान्तिको पहिलो चरण टुङ्ग्यायो । त्यस क्रान्तिले देशको सत्ता ठुलाठुला पुँजीपति वर्ग र राजा–रजौटाहरूको प्रगतिशील तत्वको हातमा केन्द्रित भयो । सन् १७८९ को क्रान्तिले निरङ्कुश राजतन्त्र संवैधानिक राजतन्त्रमा फेरियो भने विदेशी शक्तिहरूको हस्तक्षेप र आक्रमणले राजदरबारमाथि जनताको विश्वास घट्दै गयो ।
क्रान्ति अगाडि बढ्यो । क्रान्तिमा भाग लिने जनता बढ्दै गए र क्रान्तिकारी विचारलाई झन्झन् प्रभाव पार्दै गयो । सुरूमा विधानसभामा संवैधानिक राजतन्त्रवादी वा नरम गणतन्त्रवादीहरूको प्रभाव थियो । अर्थात्, जिरोन्डीहरूको ठाउँमा जाकोविनहरूको समर्थनमा जनता उर्लन थाले ।
१० अगष्टले राजाको शक्ति समाप्त भएको मात्रै देखाउँदैनथ्यो । त्यसले ठुलठुला पुँजीपति वर्गको प्रभुत्व पनि समाप्त भएको देखाउँथ्यो । विद्रोहबाट फाइदा उठाएर, व्यापारी र औद्योगिक जिरोन्डी पुँजीपति वर्ग शक्तिमा पुग्यो ।
राष्ट्रिय सभाको गठन
पेरिसका जनताले १० अगष्ट १७९२ को महत्वपूर्ण विजय पाइरहेका थिए । तर त्यो समय तिनीहरूको निम्ति खुसी मनाउने बेला थिएन । हस्तक्षेपवादीहरूले देशमाथि हमला गरिरहेका थिए । विधानसभाको ठाउँमा ‘राष्ट्रियसभा’ (National Convention) को निर्वाचन गरियो । बालिग मताधिकारको आधारमा भएको त्यस निर्वाचनमा महिलाहरूले मत दिन पाएका थिएनन् ।
प्रभावशाली र शक्तिशाली ढङ्गले जनता झन् व्यापकरूपले सङ्गठित हुन थालेका थिए । कम्युनले देशको रक्षा गर्ने र सङ्गठन गर्ने जिम्मा लियो । अलिकति पनि समय खेर फाल्नु हुने थिएन । पर्सियाली जर्मनीको सेना भर्दन (Verdan) मा पुग्यो । पेरिसका जनताले लडाकूहरूलाई मोर्चामा पठाउँदै थिए । क्रान्ति विरोधीहरूले भित्रभित्र राजधानीमै विद्रोहको निम्ति खुला तयारी गर्दै थिए ।
जनताको भावनालाई त्यसबेला नेता डाँटेले विधानसभामा व्यक्त गरे ‘देश खतरामा हुँदा आफूलाई कलङ्कबाट जोगाउन, विद्रोही हुनबाट बचाउन देशको सेवा गर्न कसैले पनि अस्वीकार गर्नुहुन्न । शत्रुलाई हराउनको निम्ति साहस, बढी साहस र झन् बढी साहसको आवश्यकता छ । अनि फ्रान्सलाई बचाउन सक्नेछ ।
रोवेस्पीयर, माराट र डाँटेले देशका तमाम जनतालाई देशलाई रक्षा गर्न सङ्घर्षमा भाग लिने नारा दिए । त्यस नाराअनुसार फ्रान्सका सारा क्रान्तिकारी जनता एक हुन थाले ।
फ्रान्सेली सिपाहीहरू भोका थिए । तिनीहरूको लुगा धुजा–धुजा थियो । तिनीहरूको गोडा नाङ्गो थियो । तिनीहरूको हातहतियार कमसल थियो । त्यसैले आफूभन्दा राम्रो सुसज्जित र तालिम पाएका सामन्ती सेनालाई धपाइ दिए र भालमी (Valmy) भन्ने ठाउँको लडाईँमा विजय पाइसकेपछि फ्रान्सेली सेनाले आक्रमणको नीति लियो । अनि बेल्जियमको एक चोक्टै कब्जामा लियो । विदेशी शक्तिहरू कहिले यस्तो भयङ्कर खतरामा परेका थिएनन् । १५ सेप्टेम्बर १७९२ को दिन राष्ट्रियसभाले फ्रान्सेली सेनाले विजय प्राप्त गरेका देशका जनताका अत्याचारी शासकहरूलाई लखेटे र मानिसहरूको हैसियतले त्यहाँका अत्याचारीहरूलाई बदला लिन आह्वान ग¥यो ।
विधानसभाको ठाउँमा राष्ट्रियसभा भयो । सो सभा पुँजीपतिको प्रतिनिधिहरूबाट भरिएको थियो । किसान र सहरी जनता राजनैतिक रूपबाट सङ्गठित थिएनन् । यसकारण तिनीहरू पुँजीपति वर्गको पछि लागेका थिए । मतलब तिनीहरूले पुँजीपति वर्गलाई मत दिएका थिए । क्रान्तिकारी जाकोविनहरू सभामा उँचो ठाउँमा बस्ने भएकाले तिनीहरूलाई ‘पहाड’ भनिए ।
तल्लो तहमा जिरोन्डिस्टहरू बस्थे । जिरोंद फ्रान्सको एक जिल्ला थियो । जिल्लाकै नामबाट तिनीहरू जिरोन्डिस्ट भनिएका थिए । जिरोन्डिस्टहरू व्यापारी र पुँजीपति वर्गका थिए । तिनीहरूमध्ये कोही बिग्रेका खान्दानीहरूको जग्गा किनेका सम्पत्तिका मालिकहरू पनि थिए । तिनीहरू बेठबेगारी र झाराजस्ता कुराहरू कायम राख्न चाहन्थे । तल बस्नेहरूमा पुँजीपति प्रतिनिधिहरू पनि थिए । तिनीहरू प्रतिनिधिहरूको ४ भागको ३ भाग थिए अर्थात् तिनीहरू बहुमत थिए ।
तिनीहरू तल बस्नेहरूमध्ये पार्टी नभएका स्वतन्त्रहरू पनि थिए । तिनीहरू बलियो पार्टीलाई समर्थन गर्थे । पहिले तिनीहरूले जिरोन्डिस्टहरूलाई समर्थन गरेका थिए । तर पछि छिट्टै जाकोविन्सहरूलाई समर्थन गर्न पुगे । तिनीहरूको अस्थिर र अनिश्चित नीतिले गर्दा तिनीहरू साधारण अथवा दलदल भनिन्थे र ती प्रतिनिधिहरूको उपनाम ‘भ्यागुताहरू’ राखिएका थिए अथवा जनता तिनीहरूलाई भ्यागुता भन्थे ।
जनताको विद्रोह र मागअनुसार २१ सेप्टेम्बरको राष्ट्रियसभाले राजालाई अपदस्थ ग¥यो र गणतन्त्र घोषणा ग¥यो तथा राजा लुई १६ औँलाई ज्यान सजाय गर्ने प्रस्ताव अगाडि सारियो । तर, जिरोन्डिस्टहरूले राजालाई बचाउने नियतले उसको पक्ष लिए । किसानहरूले सबै किसिमका सामन्ती बन्धनहरूलाई निर्मूल गर्न माग गरे । तर, जिरोन्डिस्टहरूले जनताको मागलाई ठूलो विरोध गरे । तिनीहरूले व्यक्तिगत सम्पत्तिको उद्देश्यलाई बचाउ गरे । किनभने तिनीहरूमध्ये धेरै जना जग्गाका मालिकहरू थिए र ती सम्पत्तिवालहरू जमिनदारीबाट आम्दानी गर्थे । सहरका जनता खाद्यान्नको कमीले बडो दुःख भोगिरहेका थिए । यसकारण तिनीहरूले अन्न लुकाउने कालोबजारी र नाफा लिनेहरूलाई ज्यान सजायको माग गर्न थाले । तर, जिरोन्डिस्टहरू साहुमहाजन र व्यापारीले आफ्नो स्वामित्वको अधिकार प्रयोग गर्न पाउँछन् र नाफाखोरहरूको अधिकारलाई हनन गर्न हुन्न भन्ने पक्षमा थिए । जिरोन्डिस्टहरूमध्ये केही बढी मूल्य लिएर खाद्यान्न बेचेर नाफा कुम्ल्याउने कालाबजारीहरू थिए । राष्ट्रियसभामा जम्मा ७८२ जना प्रतिनिधिहरू थिए । मतदानमा भाग लिने ७२१ जनामध्ये राजालाई ज्यान सजायको पक्षमा ३८७ जनाले मत दिए ।
सङ्घर्षमा विजय जनताको र जनताका मित्र जाकोविन्नहरूको भयो । जाकोविन्नहरूले क्रान्तिकारी पुँजीपति वर्गको प्रतिनिधित्व गरेका थिए । जाकोविन्नहरू र कम्युन वा राष्ट्रियसभाबाट राजालाई मुद्दा चलाउने र ज्यान सजाय दिने कुरा पारित गराउन सफल भए ।
राष्ट्रियसभाले २२ सेप्टेम्बर १७९२ को दिनदेखि गणतन्त्रको घोषणा ग¥यो ।
२१ जनवरी १७९३ मा राजालाई ज्यान सजाय दिइयो । महारानी मेरी आन्टोनेइटलाई पनि ज्यान सजाय दिइयो । तर रानी झन् विरोधी थिइन् । उनीलाई अपराध स्वीकार गर्न भनिएको थियो । तर, उनी भन्थिइन्, “तिमीहरूले राजद्रोह गरेका छौ । मेरो लोग्नेमाथि हात हालेका छौ, दरबारमा हमला ग¥यौ, हाम्रा छोराछोरीलाई सतायौ र मलाई पनि अपमान ग¥यौ । यसकारण अपराधी तिमीहरू हौ ।” महारानी देशद्रोही थिइन् । यसकारण जनताले तिनीलाई ज्यान सजाय दिए । त्यसबेला बेलायत, रुस र युरोपका सम्पूर्ण राजाहरू काप्न थाले ।
राष्ट्रियसभा र त्यसका कार्यहरू
राष्ट्रियसभा (National Convention) ले ३ वटा महत्वपूर्ण कार्यहरू ग¥यो, एक पदच्युत र बन्दी राजालाई ज्यान सजाय दिएर गणतन्त्र स्थापना, दोस्रो राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सेनापति(Supreme Comand), लफायेट (Lafayette) को ठाउँमा डुमोरिज (Dumouriez) लाई सेनापति बनाइयो, तेस्रो देशभित्रका विद्रोहहरू दबाइयो, चौथो देशलाई एक बलियो सरकार बनाउन डाँटे (Danton) लागि रहे, पाँचौँ क्रान्तिका सुरुका सामाजिक सुधारहरूलाई पूर्ण गर्ने र छैठौँ एक स्थायी गणतान्त्रिक संविधानको तर्जुमा गरियो ।
२२ सेप्टेम्बर १७९२ को दिनलाई गणतन्त्र दिवसको घोषणा गरियो । डिसेम्बर १७९२ मा राष्ट्रियसभाले ३३४ मतको विरोधमा ३८७ मतले राजालाई ज्यान सजाय दिने निर्णय ग¥यो । २१ जनवरी १७९३ को दिन लुई सो¥हौँलाई ज्यान सजाय दियो ।
त्यसपछि रुस, अष्ट्रिया, पर्सिया, स्पेन, बेलायत, होल्यान्ड र सर्डिनिया (Surdinia) आदि देशका माथिल्ला शासक वर्ग फ्रान्सेली क्रान्तिको विरोधमा झन् लागे ।
फ्रान्सले बेल्जियम र राइन (Rhine) प्रान्तमा पुनः कब्जा ग¥यो । कार्नोट (Cornot) भन्ने एक अनुभवी व्यक्तिले जाकोविनहरूको समर्थनमा फेब्रुअरी १७९३ मा ५ लाख सेना पु¥याउन १८ वर्षदेखि २५ वर्षका युवाहरूलाई अनिवार्य सैनिक सेवा लागु गरे । १७९३ को अन्तसम्ममा फ्रान्सेली सेना ७ लाख ७० हजार पुग्यो ।
राष्ट्रियसभाले ‘लोक कल्याण समिति (Committee of Public Welfare) र जनसुरक्षा समिति (Committee of Public Saftey) निर्माण ग¥यो ।
राष्ट्रियसभाले सामन्तवादका बाँकी बक्यौताहरू अर्थात् नुन कर, उत्पादनको १० भागको एक भागको कर, बेठबेगरी अर्थात् बिनाज्याला सामन्तहरूको काम गर्नुपर्ने, पुल र सडकमा हिँडेको कर, अर्ध दासप्रथा, सार्वजनिक जङ्गल वा पोखरीमा शिकार गर्ने वा माछा मार्न पाउने विशेष अधिकार, ‘हजुर, सरकार, मालिक, राजा, बाबुसाहेब, काजी’ जस्ता पदवीहरू वा अन्य थिचोमिचो गर्ने परम्पराहरू सबै खारेज ग¥यो । सबै साथी, दाजुभाइ, नागरिक सबै समान अधिकार प्राप्त, सबै देशका शासक, सेवक र रक्षक भएको घोषणा गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *