भर्खरै :

नेपाल–भारत सीमा नियमन गर्न माग

बुटवल, ६ वैशाख । नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले कोभिड – १९ सङ्क्रमण रोकथाम गर्न नेपाल–भारत सीमामा नियमन गर्नुपर्नेमा जोड दिनुभयो । सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष वासीले भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरूलाई सीमा नाकामा होल्डिङ सेन्टरमा स्वास्थ्य जाँचपछि मात्र गाउँघरमा पठाए सङ्क्रमण रोकथाम सहज हुने हुँदा स्थानीय प्रशासनले सीमा नाकामा विशेष ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो ।
अघिल्लो साल नेपाल–भारत सीमा वारपार रोक्न दशगजा छेउमै सशस्त्र सीमा सुरक्षा बलका जवानहरू खटिएको
स्मरण गर्दै अध्यक्ष वासीले सशस्त्र सीमा सुरक्षा बलका जवानहरूलाई आवश्यक बन्दोबस्ती दिई सीमा क्षेत्रमै खटाउन सके कोरोना सङ्क्रमित तथा अवाञ्छित तत्वहरूले खुला सीमाको दुरुपयोग गर्न सक्दैन भन्नुभयो ।
सुकुमवासीको नाममा मोतीपुर औद्योगिक कोरिडोरमा अनधिकृत बस्ती बसाल्न खोजेको विषयमा छलफल गर्न बोलाइएको बैठकमा अध्यक्ष वासीले सरकारी पर्ती जग्गा कब्जा गरी बस्ती बसाल्ने र पुलमुनि खोलाका बस्तीमा समेत पानी बिजुली दिने शासक पार्टीहरूकै कारण जग्गा कब्जाको विवाद नरोकिएको बताउनुभयो । सुकुमवासीको नाममा जग्गा रोक्न अगाडि आएकालाई भन्दा तिनीहरूलाई उक्साएर ल्याउने नेतृत्वलाई पहिचान गरी कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्लामा कोरोना सङ्क्रमण तीव्रगतिमा बढ्दै गएको उल्लेख गर्दै कोरोना अस्पतालहरूको क्षमता बढाउन बजेट माग गरिरहेको बताउनुभयो । प्रजिअ तामाङले मोतीपुर औद्योगिक करिडोरमा जग्गा पाइन्छ भनी मान्छे ल्याउने व्यक्तिहरूको पहिचान भइसकेको र कारबाही अगाडि बढाउन दलहरूले सहयोग गर्नुपर्छ भन्नुभयो ।
नेपाली काङ्ग्रेसका प्रेम फौजदारले २८ सालको नापीमा छुटेका स्थानीयहरूले जग्गाको लालपुर्जा नपाउँदै जग्गा पाउने हल्ला गरी नयाँ बस्ती बसाल्न खोज्दा समस्या झन् बल्झिएको बताउनुभयो ।
एमालेका तेजेन्द्र केसीले जग्गा बाँड्ने भन्दै चार वटा कार्यालय खोली बसेको भन्ने सुन्नमा आएकोले तिनीहरूको पहिचान गरी तत्काल कारबाही गर्न अनुरोध गर्नुभयो । सर्वदलीय बैठकमा अन्य दलका प्रतिनिधि, सुरक्षाकर्मी र सरोकारवाला कार्यालयका प्रमुखहरूले मोतीपुर कोरिडोरमा जग्गा कब्जा गर्न आउनेहरूलाई रोक्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *