भर्खरै :

जताततै अशुद्ध रूपको प्रयोग !

कुनै पनि भाषामा शब्द बन्ने सीमा हुन्छ । नेपाली व्याकरणअनुसार सामान्यतः उपसर्ग लागेर, प्रत्यय लागेर, समास भएर, द्वित्व भएर र सन्धि भएर शब्द बनेको हुन्छ । उपसर्गहरूको सङ्ख्या सीमित छ भने प्रत्ययहरूको सङ्ख्या असीमित छ । अक्कड, अत, अन्ते, अनी, आइ, आउ, आरो, आवट, आहा, इलो, इय, उवा, ओट, आवट, इयार, ई जस्ता थुप्रै प्रत्ययहरूमध्ये ‘ता’ पनि एउटा प्रत्यय हो । एकरूपता, कुशलता, समानता, मौलिकता, दासता, लघुता, वीरताजस्ता शब्दहरू ‘ता’ प्रत्ययबाटै बनेका हुन् । तर, यहाँ यो प्रत्ययको प्रयोग जथाभावी भइरहेको पढ्नु÷सुन्नुपर्दा दिक्क लाग्छ । अधिकांश सञ्चार माध्यमहरूबाट, ‘देशमा राजनीतिक अन्योलता देखियो’, ‘देश विकासका लागि राजनीतिक इमानदारिता चाहिन्छ’, ‘नेपालमा हिन्दू धर्म मान्नेहरूको बाहुल्यता छ’, ‘पिर परे पनि धैर्यता गुमाउनु हुँदैन’, ‘अज्ञानताका कारण पनि धेरै मानिसहरू तनावमा हुन्छन्’, ‘फलाना मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो’, ‘कोदोमकैमा कार्बोहाइड्रेडको प्राचुर्यता पाइन्छ’, ‘निरोगी रहनका लागि रोगविरुद्ध लड्ने सामथ्र्यता चाहिन्छ’ जस्ता प्रकृतिका वाक्यहरू सुन्न÷पढ्न नपरेको दिनै हुँदैन । यी वाक्यहरूमा क्रमशः अन्योल, इमानदारी, बाहुल्य वा बहुलता, धैर्य वा धीरता, अज्ञानता, आतिथ्य, प्राचुर्य वा प्रचुरता र सामथ्र्य प्रयोग गरिंदा मात्रै शुद्ध हुने हो । शिक्षित ठानिएका मानिसहरू पनि सौन्दर्यता, सौहार्दताजस्ता शब्दहरूको निर्धक्क प्रयोग गरेर आफ्नो विद्वता जनाइरहेका हुन्छन् ।
त्यस्तै तामाङ, खोटाङ, भञ्ज्याङ लेख्नुपर्नेमा हत्ते गरी गरी तामाङ्ग, खोटाङ्ग, भञ्ज्याङ्ग लेखेर ‘परम्परा जोगाउने’हरू पनि पाइन्छन्  ।बन्द भएका विद्यालय/होटल/पसल/यातायात/उद्योग/उडान पनि सञ्चालन वा सुचालू नभएर ‘सुचारु’ भइरहेको सुन्न पाइन्छ ।
सूचनाका लागि जताततै टाँगिएका परिचय पाटीहरू अशुद्धताको शिकार भइरहेका हुन्छन् ।
लोक सेवा आयोगबाट कडा परीक्षा पास गरेर स्थायी भई उच्च तहमा पुगेका सरकारी कार्यालयका कर्मचारीबाट जारी गरिएका परिपत्रहरू हेरिसाध्य हुँदैनन् ।
‘दुर्घटनाग्रस्त बसबाट घाइतेहरूको उद्धार’ हुनु ठीक हो । तर, यहाँ त ठाउँलाई नै ‘दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएको हुन्छ । ‘दुर्घटना बाहुल्य क्षेत्र’ लेख्ने सोच नै कसैको देखिँदैन ।
नेपाली भाषाको प्रयोगमा देखिएका यस्ता असावधानीपूर्ण उदाहरणहरू धेरै छन् । कुनै पनि शब्द बोल्दा वा लेख्दा, त्यसको सही रूप कुन हो भनेर खोजी गर्ने मन नलाग्ने हाम्रो बानी कहिले सुध्रेला, हँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *