भर्खरै :

एउटाले कारबाही अर्कोले सम्मान

  • बैशाख ८, २०७८
  • गोपाल नगरकोटी
  • समाचार

सत्तासीन दलहरूको राजनीति अचम्मको छ । एउटा पार्टीले सिद्धान्त र नीतिविपरीत काम गरेको भन्दै आफ्नै नेता र सांसदहरूलाई कारबाही गर्छ । कारबाहीमा परेका तिनै नेता र सांसदहरूलाई अरू पार्टीले भित्र्याउँदै मन्त्रीमा नियुुुक्ति गर्छ । पार्टी उल्लङ्घन गरेका भनिएका नेकपा एमालेका तीनजना सांसदलाई माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाए । यसअघि माओवादी केन्द्रले कारबाही गरेका सांसदहरूलाई एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाए ।
एउटा दलले कारबाही र अर्को दलले सम्मान गर्ने या पदपोषित गर्ने काम यो नौलो होइन । विगतमा पनि जनताले कारबाही गरेका भ्रष्टाचारीहरूलाई पञ्चायती शासकहरूले सम्मान गरेका थिए, पदमा पु¥याएका थिए । सत्तारुढ दलका नेताहरू जनतालाई धोका दिएका, सिद्धान्त र विचार छोडेका नेता र सांसदहरूलाई किन योग्य ठान्छन् र सम्मान गर्छन् ? आफ्नो पार्टीलाई समर्थन गरेकै आधारमा ती नेताहरू सम्मान गर्ने र उच्च पदमा पु¥याउने काम गरेर आफ्नो दललाई सही र बलियो भएको ठान्छन् । यसले पार्टी छोड्ने र पार्टी प्रवेश गर्ने काम पनि मन्त्री बन्न रहेछ भन्ने देखायो । सांसद नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था कस्तो बेला या समयको लागि हो ? कुनै पर्वाह छैन । सरकारको हेरफेर हुनलाग्दा पार्टीका सांसद र नेताहरूले पार्टी हेरफेर गरेको देखिन्छ । कि त पार्टी प्रवेश निर्वाचनको पूर्वसन्ध्यामा बढी हुन्छ । पार्टीको सिद्धान्त र विचारअनुसार देश र जनताको सेवा गर्न होइन व्यक्तिगत स्वार्थ पूरा गर्न कति नेता, सांसद र कार्यकर्ताहरू अर्को पार्टीमा प्रवेश गर्छन् ।
दलका कति नेताहरू अरूको पार्टी विभाजन गर्न नै खटिरहेका हुन्छन् । तिनीहरूले कुन नेता तथा कार्यकर्तालाई भाँड्दा आफूलाई फाइदा हुन्छ त्यसतर्फ पाइला चालिरहेका हुन्छन् । पार्टी फुटाउन पाएपछि पार्टीका अरू कार्यकर्ता आफ्नो पार्टीमा हुल्याउन पाएपछि, तिनीहरू दङ्ग हुन्छन्, गौरवको अनुभूति गर्छन् । आफ्नो पार्टी नै सही भएको फुक्छन् । तर, ती नेताहरू आफ्नै पार्टीको कमजोरीले गर्दा आफ्नै पार्टीका नेताहरू किन असन्तोष व्यक्त गर्छन् ? किन अन्तरकलह चर्काउँछन् ? ख्याल गर्दैनन् । अरू दलका नेताहरू आफ्नो पार्टीमा हुुलेपछि सही ठान्ने ती नेताहरू आफ्ना नेताहरू अरू पार्टीमा गएपछि के भन्दा हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *