भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति – ९

समानतावादीहरूको विद्रोह
पहिले क्रान्तिकारी सरकार घोषणा गरेर बाबेफले धनीहरूको प्रतिशोधलाई ध्वस्त पार्न गरिबहरूको हुकुमलाई स्थापना गर्ने प्रस्ताव राखे । तर, उनले सर्वहारा वर्गको नेतृत्वदायी भूमिकालाई बुझ्न सकेका थिएनन् । यसकारण, मजदुरहरूलाई श्रम गर्ने जनताको एक अस्तित्वको दृष्टिकाणले हेर्न सकेनन् । उनले समाजलाई पुनर्गठन गर्ने आफ्नो योजनालाई अगाडि सार्न खोजे । तर, बाबेफले त्यस किसिमको पुनःसङ्गठन लागु गर्नसक्ने कुन सामाजिक वर्ग हो भन्ने कुरा थाहा पाउन सकेनन् ।
बाबेफले आफ्नो योजनालाई व्यवहारमा लागु गर्ने कोशिश गरे । १७९६ मा उनले पुँजीवादी सरकारलाई उल्टाउने योजना बनाए । तर, एक पुलिस जासुसले विश्वासघात ग¥यो । उनी समातिए र एक वर्षपछि मान्छे मार्ने मेशिन गिलेटिनमा उनी मारिए । उनी गिरफ्तार हुनासाथै उनका समर्थकहरूले पेरिसको बाहिरी फेराका सिपाहीहरूमा एक सैनिक विद्रोह सङ्गठित गर्ने कोशिश गरे । तर, त्यो पनि असफल भयो ।
साम्यवाद ल्याउन सशस्त्र विद्रोह र गरिबहरूको एक क्रान्तिकारी हुकुम स्थापना गर्ने बाबेफको पहिलो कोशिश थियो । त्यसबेला फ्रान्समा सर्वहारा वर्ग त्यसको निम्ति अझ परिपक्व भइसकेको थिएन ।
१७९५–१७९९ को फ्रान्सको पुँजीवाद
९ थर्मिडोर अथवा २७ जुलाई १७९४ को प्रतिक्रान्तिले फ्रान्समा राजतन्त्रवादी, ठुलो व्यापारी र उद्योगपतिहरूले एकछत्र शासन स्थापना गरे । डाइरेक्टर अथवा कार्यपालिका राजनैतिकरूपले भ्रष्ट र दमनकारी संस्थाको रूपमा फेरियो । त्यसले देशको क्रान्तिलाई दबायो र विदेशमा आक्रमण गर्ने नीति लियो ।
१७९५ मा फ्रान्स आक्रमणको अवस्थामा थियो र पर्सियासँग शान्ति स्थापना गर्न सफल भयो । फ्रान्सले क्रान्तिका वर्षहरूमा आफ्ना सेनाबाट विजयका फलहरू पायो । फ्रान्सले आफूले कब्जा गरेका जग्गा राइन नदीको बायाँ किनारमा सेना राखी नै रह्यो । पर्सियासँग शान्ति भए पनि अष्ट्रिया र बेलायतसँग लडाइँ भई नै रहेको थियो । त्यस लडाइँ जित्नुको खास विशेषता जवान जेनेरल बोनापार्टको कारण थियो ।
नेपोलियन बोनापार्ट १७६९ मा कोर्सिकाको टापुमा जन्मेका थिए । कोर्सिका नेपोलियन जन्मनुभन्दा ३ महिनाअगाडि मात्रै फ्रान्सको भाग भएको थियो । नेपोलियनको बाबुले छोरालाई फ्रान्समा पठाउने निर्णय गरे । त्यसअनुसार उनी ब्रैनी (Brienne) भन्ने एक सानो सहरको एक सैनिक कलेजमा भर्ना भए । उनको स्वभाव मिलनसार थिएन । उनी अप्ठ्यारो मान्ने खालका थिए । उनलार्ई फ्रान्सेली भाषामा पनि राम्रो बोल्न आउँदैनथ्यो । यसैले उनका साथीहरू उनीतिर हेर्दै कोर्सियाली उच्चारण निकालेर गिज्याउँथे । १५ वर्षको उमेरमा उनी पेरिसको सैनिक कलेजमा भर्ना भए । त्यहाँबाट उनी हिसाब र इतिहासमा राम्रो अङ्कमा स्नातक भए । उनले टाढा हान्ने हतियार वा क्षेप्यास्त्रको विषयमा एक विशेष लेख लेखेका थिए ।
ताउलोन फ्रान्सको दक्षिणी समुद्र किनारमा पर्दछ । त्यहाँ बेलायती सेनाले १७९३ मा हमला गरेको थियो । नेपोलियन त्यस लडाइँमा नयाँ ढङ्गको योजना बनाउन सफल भए । ताउलोन नेपोलियनको कब्जामा गयो । बेलायती मिचाहाहरू हराइए र ताउलोन फिर्ता लिइयो । यस विजयलाई ध्यानमा राखेर राष्ट्रियसभाले बोनापार्टलाई इनाम दियो । १७९५ मा पेरिसको राजतन्त्रवादीहरूको विद्रोहलाई दबाउन नेपोलियनले व्यापक तोपहरू उपयोग गरे । त्यसपछि उनलाई उत्तरी इटालीमा फ्रान्सेली सेना सम्हाल्न पठाइयो । त्यहाँबाट उनले अष्ट्रियालीहरूको विरोधमा काम सुरु गरे ।
नेपोलियनको इटालीमा अभियान
फ्रान्सको प्रतिक्रियावादी शासक वर्ग देश बचाउने र बेलायतलाई हराउने नाउँमा पछि उपनिवेशवादी युद्धमा फस्न गयो । फ्रान्सेली पुँजीपति वर्गको निम्ति नेपोलियन बोनापार्टले इटालीलाई सम्पूर्ण युरोप र पूर्वमा हमला गर्ने रणनीतिक बिन्दु बनाउने एक ठुलो योजना बनाए । इटालीलाई हमला गर्नुभन्दा पहिले बोनापार्टले आफ्नो सेनामा त्यस देशलाई लुट्ने प्रतिज्ञा गरेका थिए । आफ्नो सेनालाई सम्बोधन गर्दै उनले लेखे, “सिपाहीहरू ! तिमीहरू भोका छौ र नराम्रा लुगा लगाएका छौ । म तिमीलाई संसारको सबभन्दा उब्जाउ भूमिमा लैजाँदै छु ।” त्यसबेला उनको अर्को आदेशमा झूटो घोषणा गरिएको थियो कि अष्ट्रिया र सामन्ती सरकारहरूको दमनबाट इटालीलाई स्वतन्त्र गराउन इटालीमा पस्दै छन् ।
बोनापार्टको सेनाले इटालीमाथि छिटोछिटो हमला ग¥यो र अष्ट्रियालाई एकपछि अर्को हार खुवायो । उनको सेनाले इटालीको भूमिमा पाइला हाल्नासाथै प्रस्ट भयो कि इटालियाली जनतालाई मुक्त गर्न लडाइँ लड्ने उद्देश्य एक धोखा थियो । उनको लडाइँ अन्यायपूर्ण थियो । त्यो एक देश कब्जा गर्ने लडाइँ थियो । उनी इटालीका जनतालाई घृणा गर्थे र लुट्थे । जनआन्दोलन निर्दयतापूर्वक दबाइयो ।
इटालीको अभियानले युरोपेली महादेशमा फ्रान्सको स्थिति बलियो भयो तर बेलायतलाई जित्न सकेको थिएन ।
इजिप्त र सिरियामा हमला
फ्रान्सेली पुँजीपति वर्गले बेलायतसँग लड्न सबभन्दा कमजोर ठाउँमा हान्ने योजना बनायो । (बोनापार्टले भारतमा हमला गरेर बेलायतलाई बेलायती मुकुटको सबभन्दा उज्यालो हीराबाट वञ्चित गर्न खोज्यो ।) भारत बेलायतको सबभन्दा ठुलो र धनी उपनिवेश थियो । यसकारण भारतलाई बेलायतको श्रीपेचको सबभन्दा उज्यालो हीरा भन्ने गरिन्थ्यो । १७६३ मा फ्रान्सले भारतको केही भाग कब्जा गरेको थियो । त्यो अभियान सुरु गर्न पहिले मिश्रलाई कब्जा गर्ने गरियो । बोनापार्ट भन्थे, “जसले मिश्रलाई राज्य गर्छ, उसले भारतमाथि पनि राज्य गर्नेछ ।” सरकारले मिश्रमा हान्न स्वीकृति दियो र १७९८ मा बोनापार्ट ३५० जहाजमा ३०,००० सेना र तोपहरू लिएर त्यहाँ गए । त्यसबेला मिश्र सिरिया र टर्कीको अभियानमा थियो । प्राचीन मिश्र, अरब र कोप्ट्स जातिले प्रतिरोध गरे । त्यसको जवाफमा नेपोलियनले जाफा (Jaffa) का सबै जनतालाई नै आत्मसमर्पण गर्न आदेश दिए । आत्मसमर्पण गर्ने ४,००० टुर्की सिपाहीलाई समुद्री किनारमा लगेर हत्या गरिदिए । त्यहाँबाट नेपोलियन आक्रे (Acre) गए । जहाँ जहाँ टुर्की र अरबहरूलाई बेलायतले मद्दत गरिरहेको थियो उनले त्यहाँ सफलता प्राप्त गर्न सकेनन् र पछि हटे । अनगिन्ती लडाइँहरू, चर्को घाम र प्लेगले गर्दा फ्रान्सेली सेना निर्बलियो हुँदै गयो । फ्रान्सको बाटो काटियो । आबुृकिर (Aboukir) खाडीको लडाइँमा बेलायतले मिश्र आएको फ्रान्सेली सेनाको जहाजी बेडालाई हराइदियो । अर्को शब्दमा नेपोलियन मिश्र पिरामिडको छायामा बसेर अरबी सेनालाई हराउँदै थिए । तर, बेलायती सेनापति होरिसियो बेलसनले नील नदीको लडाइँमा नेपोलियनको सेनालाई हराइदिए ।
९ नोभेम्बर १७९९ (१८ औँ ब्रुमेरको) सैनिक विद्रोह
१७९८ मा क्याम्पो फोर्मियो (Campoformio) सन्धिपछि डाइरेक्टरीको सरकारले फ्रान्सका वरिपरिका देशहरूलाई स्वाधीन कठपुतली गणतन्त्रहरूमा परिणत ग¥यो । होलाय्न्ड (Hol-land) लाई बाटाभियाली गणतन्त्र (Batavian Re-public) मा फे¥यो । मिलान (Milan) वा लोम्बार्डी (Lombardy) लाई सिसाल्पाइन (Cisalpine) गणतन्त्रमा फे¥यो । जेनोआ (Genoa) लाई लिगुरियाली (Ligurian) गणतन्त्र, पोपको राज्यलाई रोमन गणतन्त्र (Roman Republic) र स्वीस महासङ्घ (Swish Confediration) लाई हेल्भेटिक (Helvtic) गणतन्त्र र दुई सिसिलीहरूको अधिराज्यलाई (Two Sicilies of the kingdom)  पार्थेनोपीन गणतन्त्र (Parthenopean Republic) मा फे¥यो । जर्मनीको ठुलो भाग राइन (Rhine) नदीको पश्चिम फ्रान्सको अधीनमा गयो ।
बेलायत, अष्ट्रिया र रुस त्यसको विरोधमा थिए र फ्रान्सको विरोधमा लडाइँ चालू राखे । नेपोलियन १७९९ को अक्टोबरमा मिश्रबाट फर्कँदा फ्रान्सको डाइरेक्टरीको सरकार जनतामा भ्रष्ट र हरूवा सरकारको रूपमा बदनाम भइसकेको थियो ।
पुँजीपति वर्गले बोनापार्टलाई ठुलो स्वागत ग¥यो । फ्रान्सेली पुँजीवादी सरकार ठुल–ठुला कालोबजारी र भ्रष्टाचारीहरूले भरिएको थियो र पुँजीपति वर्ग बदनाम भइसकेको थियो । पुँजीपति वर्ग राजावादीहरू र जाकोविनहरूलाई दबाएर सामन्ती र बेलायती शक्तिलाई लडाइँमा हराउन सक्ने सरकार बनाउन चाहन्थ्यो । पुँजीपति वर्ग एक ‘विश्वासिलो तरबार’ चाहन्थ्यो र उनी नेपोलियन थिए ।
९–१० नोभेम्बर १७९९ (१८–१९ ब्रुमेर (Brumaire) को दिन डाइरेक्टर (Directors) कै एक सदस्य सैजेस (Seiges) सँग मिलेर दुवै विधायिका परिषद्हरू(Assemblies) भङ्ग गर्ने षड्यन्त्र गरियो । नेपोलियनलाई राज्य हत्याउने एक विद्रोही देखाउन पेरिसियाली बैङ्कपतिहरूले थैली खोले ।
९ नोभेम्बर १७९९ (१८ ब्रुमेर गणतन्त्रको सातौँ वर्ष) को दिन थियो । नेपोलियनले ५ सय बफादार सिपाहीहरू लिएर डाइरेक्टरीको अधिवेशनमा घेरा दिए । सरकारी सदस्य अर्थात् मन्त्रीहरू गिरफ्तार गरिए । राष्ट्रियसभाका प्रतिनिधिहरू भाग्न खोजेका थिए । तिनीहरू पनि पक्रिए र एउटा ऐन पास गराउन बाध्य गराइए । त्यस ऐनद्वारा देशका सबै शक्ति ३ जनाको एक कन्सुल (Consules) समितिलाई हस्तान्तरण गरियो । त्यस समितिको मुख्य व्यक्ति नेपोलियन आफै बने । यो षड्यन्त्र एक सैनिक (Coup detat) विद्रोह थियो । पुँजीपति वर्गले नै यो विद्रोह गर्न दिएको थियो । तीन जनाको त्यस कन्सुल समितिले कुनै पनि संवैधानिक प्रश्नको निर्णय गर्न एक न्यायपालिका (Tribunote) र विधायिका (Legistative Body) पनि नियुक्ति ग¥यो ।
यसरी १७९९ मा ठुलठुला पुँजीपति वर्गको एक सेवक बोनापार्टको हातमा शक्ति गयो । उनले ठुलठुला पुँजीपति वर्गको स्वार्थलाई सेवा गर्न सिपाहीहरूकै माध्यमले एक सैनिक तानाशाही चलाए ।
१८ औँ ब्रुमेरको सैनिक विद्रोहपछि बोनापार्टले पेरिसयाली बैङ्कपतिहरूसँग ऋण मागे । सबै बैङ्कपतिहरूको तर्फबाट एक बैङ्कपतिले जवाफ दियो, “हामी ऋणदाता हुनेछौँ । के पेरिसमा यस्तो कुनै बैङ्कपति र साहुमहाजन होला जसले त्यत्रो विजयी सरकारलाई आफ्नो विश्वास प्रकट नगरोस् ?” सम्पत्ति भएको फ्रान्सेली किसानहरूले सामन्ती शक्तिसँग सङ्घर्ष गर्ने नेपोलियनमाथि अन्धविश्वास राख्थे । धेरै–धेरै विजय पाउने नेपोलियनमाथि सैनिक शक्ति भयो । किसानहरूले नेपोलियनले भित्री र बाहिरी शत्रुहरूबाट देशलाई बचाउनेछन् भन्ने विश्वास गरे र क्रान्तिको बेलामा प्राप्त भएको जग्गाको मालिकत्वमा ग्यारेन्टी गर्नेछन् भन्ने विश्वास राख्थे । यसरी नेपोलियनप्रति भएको जनताको आस्था र विश्वासबाट पुँजीपति वर्गकै हितमा सन् १८०० मा एक बैङ्क (Bank of france) को स्थापना गरियो ।
राजतन्त्रको पुनःस्थापना
नेपोलियनले पुग नपुग ५ वर्ष पहिले कन्सुलको रूपमा काम गरे । गणतन्त्रको पहिलो व्यक्ति भएर उनी आफ्नो हात माथि पार्दै थिए । एक नयाँ संविधान बनाइयो । तर, संविधान बाझिएको र जटील खालको थियो । यसो हेर्दा उनी गणतन्त्रवादी देखिए । देशका जनता र विदेशमा उनलाई कट्टर सामन्तवादविरोधी सम्झन्थे । सामन्त र पुँजीपति वर्ग जनताको क्रान्तिलाई दबाउन चाहन्थे । यसकारण, सामन्त र पुँजीपति वर्ग नेपोलियनलाई ‘सम्राट’ बनाएर सामन्तवादलाई फेरि ल्याउने तर्जुमा बनाउँदै थिए । नेपोलियनको ‘कन्सुल’ (समिति) आफैँ एक दरबारमा फेरिँदै थियो । सामन्त र पुँजीपति वर्गको सल्लाहमा उनले थुप्रै नयाँ नयाँ ऐन–कानुन बनाउन लागे ।
मेयर, उप–मेयर वा सभापति र उप–सभापतिहरू सबै स्थानीय निकायहरूको नेपोलियन वा माथिबाट मनोनीत हुने भए । स्वतन्त्रता, समानता र भ्रातृत्व नाममात्रको भयो । सशक्त, प्रहरी सेवा, सेना र कडा प्रेस नियन्त्रणले ‘क्रान्तिको छोरो’ ले पुनः लुई चौधौँको शासनलाई फिर्ता ल्याएको सबैले अनुभव गरे । आर्थिक, सामाजिक, न्यायिक, शैक्षिक र सार्वजनिक सबै काम कारबाहीमा क्रान्तिकारी र प्रजातान्त्रिकको ठाउँमा केन्द्रीयकरण र सैनिकीकरण देखियो ।
नागरिक समानता, धार्मिक सहिष्णुता, अपुतालीको समानता, भू–दासहरूको मुक्ति, विशेषाधिकारवाद र सामन्तवादको उन्मूलन तथा महिलाहरूलाई हेला गर्नेलाई कडा सजायको घोषणा गरियो । हरेक नगर, उप–नगर र बस्तीमा प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, फ्रान्सेली र ल्याटिन भाषाको विशेष तालिम, विज्ञानको प्रारम्भिक विज्ञान, प्राविधिक र सैनिक विद्यालय र फ्रान्सेली विश्वविद्यालयको स्थापना र त्यसको मातहतमा शिक्षण संस्थाहरू र शिक्षक तालिम आदि बन्दोबस्त नेपोलियनको कन्सुलले १८०४ मा ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *