कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
अभद्र व्यवहार
मुलुकी अपराध संहिता २०७४ को भाग २ को फौजदारी कसुरहरू अन्तर्गत परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरहरू सम्बन्धी कानुनी व्यवस्था गरिएको पाइन्छ । जसमध्ये दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी व्यवस्था रहेको छ ।
“कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिकरूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यस्तो उद्योग गर्न हुँदैन ।”
“उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ” भन्ने व्यवस्था रहेको छ ।
सर्वसाधारणको नागरिक अधिकार तथा मानव अधिकारको रक्षा साथै सामाजिक हित, नैतिकताको दृष्टिकोणले माथि उल्लेखित अभद्र व्यवहारसम्बन्धी कानुनी व्यवस्थालाई सबैले सकारात्मकरूपमा लिने गरेको पाइन्छ । नयाँ पुस्तालाई विद्यालयस्तरमा नैतिक शिक्षा पढाउन छोडेर हो या नयाँ पुस्ताबीच आधुनिकताको ‘भूत’ चढेर हो, नैतिकताको खडेरी पर्दै गएको भन्ने परेको बेला नैतिकता विरुद्धको कसुरको रूपमा कसैले कसैलाई अभद्र व्यवहार गर्न नहुने कानुनी व्यवस्था लागु हुनु सकारात्मक मान्न सकिन्छ ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकार नेपाल सरकार अर्थात् सरकारी वकिलको कार्यालयलाई दिइएको छ । पहिलो पटक कसुर गरेको छ भने सरकारी वकिलले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गर्न सक्नेछ । दोश्रो पटक पनि अभद्र व्यवहार गरेको छ भने दोश्रो पटकदेखि अभियुक्त उपर सम्बन्धित जिल्ला अदालतमा मुद्दा चलाउने व्यवस्था रहेको पाइन्छ ।
यसअघि विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा शान्ति सुरक्षासम्बन्धी अर्थात् सार्वजनिक अपराधका मुद्दाहरू प्रशस्त हुने गरेकोमा अहिले सोही अनुपातमा अभद्र व्यवहारको मुद्दा आउन थालेको हो कि ? भनी अनुमान गर्न थालिएको छ ।
यसरी अभद्र व्यवहारसम्बन्धी मुद्दा बढ्नुमा एकथरी मानिस अभद्र भएरै हो भन्छन् भने केही मानिस अभद्र व्यवहारसम्बन्धी कानुनको दुरुपयोग गर्न थालिएको प्रति चिन्ता व्यक्त गर्दछन् । उदाहरणको लागि निम्न दुई घटना यहाँ प्रस्तुत गर्दछु ।
घटना नं. १, करिब २ वर्ष अघि घरजग्गा कारोबार गर्ने क्रममा कमिसनको रूपमा ४० हजार रुपैयाँ लिनेदिने सम्बन्धमा एक जना महिलासँग वादविवाद भएको रहेछ । सो घटना सेलाइसकेर पनि ती महिलासँग अभियोग लागेको व्यक्तिको भेटघाट नभएको करिब १ वर्ष भइसकेको थियो । तर, अचानक स्थानीय प्रहरी चौकीबाट फोन गरी चौकीमा उपस्थित हुन बोलाएपछि उपस्थित हुँदा “सडकमा हिँड्दै गर्दा हातपात गर्न खोजेको” भनी ती महिलाले अभद्र व्यवहारको उजुरी गरेकी रहिछन् ।
प्रहरीको फोन आएपछि आफ्नो कुखुरा फार्मको काम छोडेर प्रहरी चौकीमा आफै उपस्थित भएका मानिसलाई भाग्दैगर्दा घेराबन्दीमा पारेर पक्राउ गरेको प्रहरी प्रतिवेदनसाथ सरकारी वकिल कार्यालयमार्फत अभद्र व्यवहारको मुद्दा चलाइन्छ । अनाहकमा २६ दिन हिरासतमा बसेर उनी पाँच हजार रुपैयाँ धरौटी बुझाई तारेखमा छुट्छन् ।
घटना नं. २, दुई जना युवक एउटा चिया पसलमा चिया पिउँदै गरेको अवस्थामा प्रहरी आई सोधपुछ गर्छन् । खटिएका प्रहरी जवानलाई के कुरामा चित्त बुझेन ती दुई युवकलाई थाहा भएन, सोही स्थानबाट प्रहरीले ‘तपार्इँहरू चौकीमा जानुपर्ने भयो’ भनी दुवैलाई प्रहरी चौकीमा लगिन्छ, ड्युटीमा खटिएका प्रहरीसँग अभद्र व्यवहार गरेको भन्ने प्रहरी प्रतिवेदनको आधारमा अभद्र व्यवहारको मुद्दा चलाइन्छ । २४ दिन हिरासतमा बसेर हाल धरौटी तारेखमा छन् ।
यसरी अनाहकमा पटकपटक हिरासतमा बसेर फर्केका ३ वटा अभद्र व्यवहार मुद्दा र ६ वटा ठगी मुद्दा खेपेर सबै मुद्दामा सफाइ पाएका एक व्यक्तिले “केही मानिसलाई प्रहरीको व्यवहारले गर्दा पनि अपराधी बनाउने गरेको” गम्भीर आरोप लगाउँछन् ।
यसतर्फ सम्बन्धित सबैले उचित ध्यान पु¥याउनुपर्ने आवश्यकता देखिन्छ ।
गाली बेइज्जती
यसअघि सर्वसाधारणको इज्जत र मानमर्यादा कायम राख्न पाउने अधिकारको रक्षाको लागि गाली र बेइज्जतीको कसुरको निमित्त सजायको व्यवस्था गर्न आवश्यक देखिएकोले ‘गाली बेइज्जती ऐन २०१६’ जारी गरेको पाइन्छ ।
सो ऐनको दफा ३ मा लेखिएको छ – ‘कसैले अरू कुनै व्यक्तिको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्ला भन्ने जानीजानी वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा सङ्केतले वा बुझिने गरी आकार चिन्हद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा त्यस्तो कुरा प्रकाशित गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिनेछ ।’ त्यस्तो कसुर गरेमा कसुरदारलाई ऐनको दफा ५ बमोजिम ‘पाँच हजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैदको सजाय पनि हुनसक्ने’ कानुनी व्यवस्था रहेको पाइन्छ ।
यो मुद्दा व्यक्तिगतरूपमा सम्बन्धित जिल्ला अदालतमा दुनियावादी फौजदारी मुद्दाको रूपमा पनि दायर गर्न सक्छ । दुनियावादी फौजदारी मुद्दाको रूपमा दायर भएको गाली बेइज्जती मुद्दाका प्रतिवादीले आफ्नो प्रतिउत्तर साथ प्रतिवाद गर्न सकिन्छ । फिराद दावी पुग्ने भएमा मात्रै जरिवाना वा कैद हुन सक्छ ।
नेपाल सरकारवादी भएर पनि गाली बेइज्जती मुद्दा दायर हुन सक्छ । नेपाल सरकार वादी भई दायर गरिने मुद्दामा अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राख्न सकिन्छ । केही पत्रपत्रिकाका पत्रकार तथा सम्पादकहरूलाई यही कानुनको आधारमा हिरासतमा राखी अनुसन्धान तथा मुद्दा दायर गरेका घटनाहरू सार्वजनिक भएका छन् ।
अपमानजन्य र अमानवीय व्यवहार
त्यस्तै, मुलुकी अपराध संहिताको दफा १६८ मा अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कानुनी व्यवस्था रहेको छ । जसमा ‘कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन’ भन्दै निम्नबमोजिमको व्यवहार गर्न निषेध गरेको पाइन्छ ।
क) बोक्साबोक्सीको आरोप लगाउने,
ख) बोक्साबोक्सीको आरोप लगाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने,
ग) सामाजिक बहिष्कार गर्ने, वा
घ) अन्य जुनसुकै काम गरी क्रुर, अमानवीय अपमानजन्य कार्य गर्ने ।
त्यसरी दफा १६८ को उपदफा (१) विपरीतको कार्य गर्ने वा गराउने व्यक्तिलाई सोही दफा १६८ को उपदफा (२) बमोजिम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको पाइन्छ ।
साथै, सोही दफाको उपदफा (३) मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन भन्ने कानुनी व्यवस्था गरेको पाइन्छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको पाइन्छ ।
यस्तो कसुर यदि कुनै राष्ट्रसेवक कर्माचारीले गरेमा थप तीन महिनासम्म कैद सजाय हुनेछ ।
खासगरी हाम्रो समाजमा व्याप्त अन्धविश्वासका कारण विभिन्न जिल्लामा बोक्साबोक्सीको आरोपमा अपमानजन्य र अमानवीय व्यवहार गरेका समाचार प्रकाशित भइरहेका छन् । समाजमा आफूलाई उपल्लो जातका मानिस भन्नेहरूका कारण अधिकांश तल्लो जात भनिएका मानिसमाथि यस्ता अपमानजन्य आरोप लाग्ने गरेको र अमानवीय व्यवहार भोग्न परेका घटनाहरू सार्वजनिक हुने गरेको पाइन्छ । तर, तिनै उपल्लो जातका भन्ने मानिसहरू तथा प्रशासन र सत्तासीन मानिसकै जोडबलमा यस्तो अमानवीय र अपमानजन्य घटनाहरू दबाउने, मुद्दालाई कमजोर पार्ने कार्य गर्ने गरेको समाचारहरू पनि प्रकाशित भइरहेका छन् ।
यसरी, एकातर्फ नैतिकताविरुद्धको अभद्र व्यवहार, गाली बेइज्जती जस्ता मुद्दामा प्रहरी प्रशासन, हुनेखाने मानिसले विद्यमान कानुनको दुरुपयोग गरी सर्वसाधारणलाई दुःखहैरानी दिने हतियार बनाउने गरेको पाइन्छ भने अर्कोतर्फ समाजमा व्याप्त अन्धविश्वासलाई निर्मूल गर्ने जिम्मा लिएका तिनै पक्षले अपमानजन्य र अमानवीय व्यवहार गर्ने दोषी व्यक्तिहरूलाई नै जोगाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ ।
सामाजिक मर्यादा, नैतिक मूल्यमान्यता, मानवीय व्यवहारलाई उचितरूपमा अगाडि बढाई समतामूलक समाज निर्माण गर्न समाजमा आफूलाई उपल्लो र ठालु भन्ने दम्भ भएका तर दोहोरो भूमिका खेल्ने दोषी पक्षलाई सार्वजनिकरूपमा उदाङ्गो पार्दै जानुपर्ने आजको आवश्यकता हो ।
Leave a Reply