भर्खरै :

आगो नबलेको चुल्होमा बसी नयाँ वर्ष कुरिरहेका हाकुसिं दाजु

सदियौँदेखि
आगो नबलेको चुल्होमा
आगो बाल्ने आशाले
हाकुसिं दाजु नयाँ वर्षलाई पर्खी बस्छ
एउटा खुसी, एउटा आशा बोकी
भोकले कटक्क काटिएको पेटलाई
एउटा आश्वासन, एउटा सान्त्वना दिँदै ।
उसको आश्वासन र सान्त्वना व्यर्थ हुन्छ
किनभने,
नयाँ वर्ष त बिहान सबेरै
दरबारतिर गइसकेको रहेछ
एउटा ऐशको भेटी बोकी
त्यसैले,
हाकुसिं दाजु झस्कन्छ,
उसलाई लज्जाबोध हुन्छ,
आजजस्तै नयाँ वर्षलाई पर्खँदापर्खँदै
हिस्स परेको घटना
उसलाई झल्झली सम्झना आउँछ,
एउटा लामो सुस्केरा हाल्छ
जति हिँड्दा पनि आजुमा पुग्न नसकेको बटुवाझैँ
चल्मलाउन थाल्छ,
अनि उसले बुझ्छ
गरिबको लागि नयाँ वर्ष आएको रहेनछ ।
उसले विश्वास गर्छ –
नयाँ वर्ष यहाँ तब आउनेछ –
जब वर्गसङ्घर्षको मैदानमा
थिचिएर बसेकाहरूले
वर्गसङ्घर्षको मैदानमा
विजयको बिगुल फुक्नेछन् ।
– विसं २०३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *