भर्खरै :

कोभिड–१९ को नयाँ लहरमा भारत र अन्तर्राष्ट्रिय परिस्थिति

कोभिड–१९ को महामारीले भारतको अवस्थालाई दिनानुदिन खराब बनाइरहेको छ । यस्तो अवस्थामा आफू साखुल्ये बन्न भारतका शासकहरूले पुरानै जुक्ति प्रयोग गर्न सक्छन् । चीन वा पाकिस्तानसँग सीमा विवाद उछालेर, देशभित्र अन्धराष्ट्रवादी भावना फैलाएर भारतीय जनताको ध्यान अन्यत्र मोड्न सक्छन् ।
चीनका लागि भारतका राजदूत विक्रम मिश्रीले गत अप्रिल १५ मा सीमा विवादलाई ओझेलमा पार्नु र त्यसलाई ‘सामान्य विषय’ को रूपमा चित्रण गर्नु ‘समस्याबाट भाग्न खोजेको सङ्कट’ भनेको समाचारमाध्यमहरूले जनाएका छन् ।
भारत सरकारले विगतमा गरेका गतिविधिको आधारमा भारतमा जब कुनै गम्भीर सङ्कट आइपर्छ, तब सरकारले सीमा समस्याजस्ता बाह्य मुद्दा उछालेर मूल समस्याबाट ध्यान अन्यत्र तान्ने प्रयास गर्दै आएको भन्न सकिन्छ । चीन र भारतबीचको सीमा विवाद केही हदसम्म सहज बनेको छ । तर, चीनले दुईदेशीय सीमामा भारतबाट हुनसक्ने नयाँ चलखेललाई लिएर तीखो नजर राखेको छ र त्यस्ता कदमको प्रतिरोध गर्न तम्तयार भएर बसेको छ ।
भारतमा अहिले कोभिड–१९ को दोस्रो लहरले गम्भीर रूप लिएको छ । त्यहाँ लगातार एक सातादेखि कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । पश्चिम भारतको गुजरातको एउटा मसानघाटमा लगातार ग्यास र काठले लास जलाउँदा घाटको फलामको भाग नै पग्लिएको समाचार सीएनएनले प्रसारण ग¥यो । भारतको कुल १ अर्ब ३६ करोड जनसङ्ख्या र अपुग चिकित्सकीय प्रणालीको कारण महामारीको यो नयाँ लहरले भारतलाई नयाँ केन्द्र बनाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जनसनले सोमबार आफ्नो भारत भ्रमण स्थगित गरेको छ । बेलायतले भारतलाई आफ्नो ‘रातो सूची’मा समावेश गरेर बेलायती जनतालाई भारत भ्रमण गर्न रोक लगाएको छ । संरा अमेरिकाको रोग नियन्त्रण केन्द्रले पनि भारतमा जाने यात्रुहरूको नाममा सूचना जारी गर्दै भारतका सबै मानिसले खोप लगाएको अवस्थामा पनि तत्काल भारतका ‘सबै भ्रमण रद्द गर्न’ आग्रह गरेको छ ।
भारतमा अहिले फैलिएको नयाँ लहरले विगतमा भारत सरकारले सार्वजनिक गरेका सङ्क्रमणसम्बन्धी तथ्याङ्क नै गलत थियो कि भनी आशङ्का गरिएको छ । सरकारले लकडाउन चाँडो हटाउन भारतमा महामारी सफलतापूर्वक रोकथाम गरेको भनी गलत सूचना दिइरहेको हुनसक्ने बताइएको छ । भारतमा हालै चुनावी सभा–जुलुस, खेलकुद गतिविधि र धार्मिक मेलाहरू पनि धेरै सङ्ख्यामा भएका छन् । भारत सरकार र जनताले महामारी रोकथामका उपायहरूलाई क्रमशः खुकुलो बनाउँदै लगेको देखिन्छ । भारत सरकारले पहिलेका रोकथामका उपायलाई पनि निकै चाँडै हटाइएको थियो । अहिले महामारी डढेलोजस्तै फैलिनुको एउटा प्रमुख कारण त्यसैलाई मानिएको छ ।
पैसा र कच्चा पदार्थको अभावको कारण भारतको खोप उत्पादन क्षमता सीमित छ । भारतले स्वास्थ्यकर्मी, खोप भण्डारण, खोपको आपूर्ति आदिमा ठुलो अभाव सामना गरिरहेको छ । जसले त्यहाँको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन ।
महामारीको गलत व्यवस्थापनले भारतको आन्तरिक मामिला र कूटनीतिमा पनि प्रभाव पार्न सक्छ । राज्य विधान सभाको चुनावमा आफ्नो पक्षमा बढी मत हासिल गर्न भारतका शासक राजनीतिक नेताहरूले महामारीको लागि एकअर्कालाई दोषारोपण गरिरहेका छन् । प्रान्तीय सरकारहरूले महामारी नियन्त्रण र रोकथाममा केन्द्रीय सरकारको भूमिका अप्रभावकारी भएको भन्दै आलोचना गरिरहेका छन् । केन्द्रीय सरकारले पनि प्रान्तीय सरकारलाई हेलचक्र्याइँ गरेको भन्दै आलोचना गरेका छन् । फलतः कोभिड–१९ विरोधी लडाइँमा उनीहरूको जोड धमिलो बनेको छ । यदि कोभिड–१९ भाइरस यही गतिमा फैलिए भारतका नेताहरूले आन्तरिक दबाब न्यून गर्न चीनविरोधी मुद्दालाई उछाल्ने पुरानै तरिका छान्न सक्छन् ।
भाइरसले कुनै सीमा वा देशलाई चिन्दैन । महामारीको सुरुको चरणमा भारतले चीनलाई रोगविरुद्ध लडाइँको गम्भीर अवधिमा सहयोगी हात अघि बढाएको थियो । जब भारतमा महामारी गम्भीररूपमा फैलियो, चीनले पनि आफ्नो क्षमताले भ्याएसम्म सहायताको हात बढाएको छ ।
महामारीले अवस्था दिनानुदिन जर्जर बन्दै गएको परिस्थितिमा भारत सरकारले आफ्नो दिमागलाई खुला बनाउन जरुरी छ र महामारी नियन्त्रणको लागि चीनको सहायताको लागि उपाय खोज्न जरुरी छ । चीनले भारतको आग्रह स्वीकार्नुपर्छ । उच्चस्तरमा आपसी संवाद कायम राख्नुपर्छ । महामारी नियन्त्रण र रोकथामको लागि आपसी सम्बन्ध विस्तार गर्न हात बढाउन जरुरी छ । संसारलाई थाहा छ, चीन र भारत आपसमा मिले र सहकार्य गरे महामारीलाई सकेसम्म चाँडो नियन्त्रणमा लिन सकिनेछ ।
(लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत एसिया–प्रशान्त अध्ययन विभागका प्रमुख हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *