भर्खरै :

के अब पनि सावधानी नअपनाउने ?

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये १७० जना आईसीयूमा तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।
सामान्य नजरले हेर्दा यो सङ्ख्या सानो देखिए पनि यो आगामी केही दिनमै आउनसक्ने जटिल अवस्थाको सङ्केत हो । अहिले नै काठमाडौँमै पनि कोरोना भाइरस सङ्क्रमित बिरामीका लागि आईसीयू र भेन्टिलेटर पाउन मुश्किल भइसकेको छ । नेपालमा गम्भीर अवस्थाका कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेकोले अस्पतालहरूमा सघन उपचारका लागि पूर्वाधार र जनशक्तिको अभाव देखिन थालेको चिकित्सकहरूले बताएका छन् । कतिपय अस्पतालमा पुगेका कोभिड–१९ का गम्भीर बिरामीलाई आइसीयूमा भर्ना गर्न वा भेन्टिलेटरमा राख्न नपाइएका खबर पनि सार्वजनिक थालेका छन् । अस्पतालमा शय्या नपाएर भुइँमै उपचार भइरहेका समाचार पनि आइरहेका छन् ।
नेपालमा पनि यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भइसकेको पृष्ठभूमिमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढ्न सक्ने सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्हरू बताउँछन् । मन्त्रालयका अधिकारीहरूका भनाइमा विभिन्न अस्पतालहरूमा अहिले गम्भीर प्रकृतिका बिरामीको सङ्ख्या बढिरहेको देखिन्छ । के यस्तो स्थितिमा पनि कोरोना केही होइन भनेर कोभिड–१९ नियन्त्रणका लागि लागू स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन वा बेवास्ता गर्न मिल्छ ? अहिले पनि मानिसहरू विवाह, व्रतबन्ध, पास्नीमात्र होइन जन्मदिनका नाममा पनि ठुलठुलो भीड जम्मा गरेर भोजभतेर गरिरहेका छन् । त्यसरी मापदण्ड उल्लङ्घन वा बेवास्ता गर्नेहरूले सचेतनाको कमीले नभई अटेरी भई वा गैरजिम्मेवार बनी त्यस्तो गरिरहेका छन् । त्यसको मूल्य भोलिका दिनमा हाम्रो घरपरिवार र समाजले कतिजनाको जीवन र खराब स्वास्थ्यले चुकाउनुपर्ने हो चिन्ताको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *