भर्खरै :

क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव कानललाई अध्यक्ष बिजुक्छेँको शुभकामना

काठमाडौँ, ११ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको प्रथम सचिव पदमा निर्वाचित क्युवाका राष्ट्रपति मिगुएल डाएज कानल बर्मुडेजलगायत क्युवाली कम्युनिस्ट पार्टीको नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
शुभकामना सन्देशको पूर्ण पाठ निम्नानुसार छ :
गत १९ अप्रिलमा हवानामा सम्पन्न क्युवाली कम्युनिस्ट पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनबाट पार्टीको प्रथम सचिवमा एकमतबाट निर्वाचित हुनुभएकोमा महामहिमसमक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र सबै नेता एवम् कार्यकर्ताको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । हामी तपाइँ र नवनिर्वाचित पार्टी केन्द्रीय समिति सदस्यहरूलाई सहर्ष हार्दिक बधाईज्ञापन गर्न चाहन्छौँ । विशेषतः आदरणीय नेता फिडेल क्यास्ट्रोको निधनपछि क्युवाली जनता, क्युवाली क्रान्ति र क्युवाली कम्युनिस्ट पार्टीलाई दशकौँसम्म सफलतापूर्वक नेतृत्व गर्नुभएका वरिष्ठ नेता राउल क्यास्ट्रोप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौँ । हामी उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्न चाहन्छौँ । हामी यही अवसरमा फिडेल क्यास्ट्रोका महान् योगदान, विचार र मार्गदर्शन पार्टीका हरेक सदस्य एवम् क्युवाली जनताको मन र मुटुमा सदैव जीवन्त रहने हाम्रो आत्मविश्वास व्यक्त गर्न चाहन्छौँ ।
क्युवाली कम्युनिस्ट पार्टीको नवनिर्वाचित नेतृत्व र केन्द्रीय समितिका कामरेडहरूले क्युवाको गौरवपूर्ण इतिहासलाई अझ माथि उठाउने र सम्मानित नेता फिडेल क्यास्ट्रोले देखाउनुभएको बाटोलाई फराकिलो बनाउँदै लानुहुनेमा हामी बलियो विश्वास व्यक्त गर्दछौँ । निःसन्देह नयाँ नेतृत्व उच्च भावनाका साथ क्रान्तिकारी परम्परालाई निरन्तरता दिँदै अन्तिम विजयसम्म अघि बढ्नेछ । क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनले समाजवादको रक्षा गर्ने, हरेक क्युवाली जनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने, नाकाबन्दी अन्त्यको लागि लड्ने र पछाडि नफर्की अगाडि बढ्ने प्रतिबद्धता एवम् निर्णयले हामीमा नयाँ आशाको सञ्चार गरेको छ । क्युवाली स्वाधीनता, सार्वभौमिकता र समाजवाद रक्षाको लागि क्युवाली जनता विजयी हुने हामी विश्वास गर्दछौँ ।

सचिव कानल


क्युवामाथिको ६० वर्ष लामो क्रुर संरा अमेरिकी नाकाबन्दी अन्त्य हुनैपर्छ र साम्राज्यवादको पतन अवश्यम्भवी छ । देशको रक्षा र संरा अमेरिकी प्रभुत्ववाद अन्त्यको लागि क्युवाली जनताको युगौँ लामो सङ्घर्षले संसारभरका असङ्ख्य स्वतन्त्रताप्रेमी र न्यायप्रेमी जनतालाई प्रोत्साहन दिएको छ । कोभिड–१९ महामारीविरुद्ध गरेको सङ्घर्ष, खोपको विकास र खाँचो पर्दा संसारका जनतालाई चिकित्सकीय सहायता दिने क्युवाको महान् मानवीय कार्यले संसारभर नयाँ आशा सञ्चार गरेको छ ।
क्युवा र क्युवाली जनताका हरेक न्यायपूर्ण सङ्घर्ष तथा साम्राज्यवादविरुद्धको लडाइँमा हामीले लगातार दृढ ऐक्यबद्धता व्यक्त गर्दै आएका छौँ । सन् २०१५ को भूकम्पको समयमा नेपालमा पठाइएको क्युवाली स्वास्थ्य टोलीले नेपाल र क्युवालाई अभूतपूर्वरूपमा निकट ल्यायो । नेपाली जनता आज पनि त्यो समय खुसीका साथ स्मरण गर्छन् । हाम्रा कठिन दिनहरूमा क्युवाले गरेको उल्लेखनीय मित्रवत सहायताप्रति हामी सदैव आभारी रहनेछौँ । महामहिमको बुद्धिमत्तापूृर्ण र गतिशील नेतृत्वमा आगामी दिनमा नेपाल मजदुर किसान पार्टी र क्युवाली कम्युनिस्ट पार्टीबीचको सम्बन्ध अझ सुदृढ बन्दै जानेमा हामी विश्वास गर्दछौँ ।
अन्त्यमा, महामहिम र अन्य कामरेडहरूलाई हामी हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *