भर्खरै :

असफल मोदी सरकार

  • बैशाख १५, २०७८
  • आनन्द नेपाली
  • विचार

भारतमा हप्तादिनदेखि हरेक दिन नयाँ कोभिड–१९ भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाखभन्दा माथि पुगेको छ । साथै चिकित्साजन्य सामग्री, अक्सिजन, औषधि र कोभिड–१९ भाइरसविरूद्धको खोप नितान्त अभाव भएका समाचार आइरहेका छन् । जीवित छँदा अस्पताल पुग्न एम्बुलेन्स छैन, अस्पतालहरूमा शय्याको उपलब्धता छैन र मरेपछि शव जलाउने सामग्री वा शव गाड्ने स्थानको समेत अभाव भएका समाचार आइरहेका छन् । त्यसैले भारतीयहरूले आफ्नो परिवारका सदस्यको शवलाई सडकमा वा कतै खाली ठाउँमा जलाइरहन परेको छ । सो परिस्थितिलाई बेलायती सञ्चारमाध्यम रोयटर्सले भारतलाई ‘जनजीवनको नरक’ जस्तै लागेको कुरा लेखेको छ । अक्सिजन अभाव अन्त्य गर्न भारत सरकारले अन्य देशबाट अक्सिजन आयात गर्ने कुरा पटक–पटक उठाए पनि निर्णय गर्न सकेको छैन । सर्वसाधारण भारतीय जनताको भन्दा व्यापारीहरूको स्वार्थलाई महत्व दिँदा भारतको मोदी सरकारको असफलता जनतासामु उदाङ्गिँदै गएको छ ।
अन्तर्राष्ट्रिय दबाबमा परी अमेरिकाले भारतलाई खोपको उत्पादित कच्चा माल अरू चिकित्सा आपूर्ति गराउने योजना बनाएको दाबी त गरेको छ तर कहिलेसम्म त्यो आपूर्ति हुने हो निश्चित छैन । त्यसैले भारतको हिन्दू नामक समाचार पत्रले लेख्यो –संरा अमेरिकाको सहयोगमा भारतलाई सीधा प्रयोग गर्ने खोप उपलब्ध गराउने छैन । गत वर्षको अप्रिलदेखि अमेरिकी सरकारले ‘अमेरिकी सर्वप्रथम’ को धारणाबमोजिम खोप उत्पादनका लागि चाहिने कच्चा पदार्थ निर्यात गर्न निषेध गरेकोमा भारतीय जनता आक्रोशित छन् तर मोदी सरकारले आफ्नो देशको समस्या मित्रराष्ट्र संरा अमेरिकाको सरकारसमक्ष राख्न सकेको छैन । जो बाइडेन अमेरिकाका राष्ट्रपति भएपछि पनि ट्रम्पकै नीति निरन्तररूपमा लागू हुँदै आएको छ । सोही कारण भारतको खोप उत्पादनले गम्भीर सङ्कट बेहोरिरहेको भारतीय विज्ञहरूको कथन छ । कोभिड–१९ भाइरसविरूद्धको खोप उत्पादन गर्न भारत विश्वमा सबैभन्दा महत्वपूर्ण देशहरूमध्येको एक भए तापनि भारतमै खोप लगाउने व्यक्तिहरूको सङ्ख्या ८.६ प्रतिशतमात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *