भर्खरै :

पार्टी छोडेर सांसदहरू मन्त्री बन्ने होडमा

  • बैशाख १८, २०७८
  • वस्तुराज ‘शीतल’
  • विचार

कति सांसदहरू निर्वाचनको बेला एउटा दलबाट जित्छन् र मन्त्री बन्न अर्कै दलमा लाग्छन् । सिद्धान्त र विचार थाती राखेर मन्त्री बन्न तम्सिएका सांसदहरू किन यसरी गिर्छन् भन्ने प्रश्न चोक चोक र पसल–पसलमा उठिरहेको छ । प्रदेश सरकार टिकाउने र ढाल्ने खेलमा सांसदहरू मन्त्री बन्ने होडबाजीमा लागेका छन् । पदको यो खेलमा एमाले, माओवादी केन्द्र र जसपाका सांसदहरू परेका छन् । मन्त्री बन्न पाएपछि पार्टीलाई धोका दिने या पार्टी नै छाड्ने काम कुनै पनि नेता तथा कार्यकर्ताको सद्दे बुद्धि होइन । मन्त्री बन्ने लालसामा दलको सिद्धान्त र बन्धक राख्ने सांसदहरू पार्टीका धोकेबाजहरू हुन् । पार्टी र जनतालाई धोका दिएर सेवा सुविधामा पल्केका सांसदहरू जनताका विरोधी पनि हुन् ।
लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको पदमुक्तको चर्चा पार्टीभित्र मात्र होइन जनताबीच पनि भयो । नेकाको नेतृत्वमा माओवादी केन्द्र र जसपासहित मिलेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपछि मुख्यमन्त्री शङ्कर पोखरेलले चारै सांसदलाई तत्काल मन्त्रीमा नियुक्त गरे । आफ्नो पद जोगाउन मन्त्री नियुक्त गर्ने एमालेका मुख्यमन्त्री र मन्त्री बन्नकै निम्ति पार्टीको निर्णयबिना कुनै दलका मुख्यमन्त्रीलाई समर्थन गर्ने दुवै काम सिद्धान्त र विचारसित मिल्दैन ।
जसपाका सांसदहरू मन्त्री भएपछि जसपाभित्रै पार्टीका नेताहरूबीच भुइँचालो गएको छ । उपेन्द्र र बाबुराम भट्टराई पक्षले पार्टीको निर्णयबिना एमालेका मुख्यमन्त्रीको समर्थन गरेकोमा सांसदको पदमुक्त हुने सूचना प्रदेशसभा सचिवालयमा सूचना जारी ग¥यो भने महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले कारबाहीको विरोध गर्दै सांसद यथावत रहने अर्काे जानकारी पत्र पठायो । जसपा एउटै पार्टी भए पनि सरकारको समर्थन गर्ने र विरोध गर्ने दुई फ्याकमा छन् । यही विषयलाई लिएर कति राजनीतिक विश्लेषकहरूले कतै जसपा विभाजन त हुने होइन भनी आशङ्का व्यक्त गरेका छन् ।
आफ्नो सरकार जोगाउनकै निम्ति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि त्यस्तै कदम चालेका छन् । आफूलाई स्वतन्त्र भन्न रुचाउने मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाइयो । आफ्नो पक्षमा विश्वासको मत पु¥याउन मुख्यमन्त्री गुरुङले उक्त कदम चालेका हुन् । दीपक मनाङेले पनि मन्त्री बन्ने लालसामा एमालेका मुख्य मन्त्रीलाई समर्थन गरे । सत्ता जोगाउनको निम्ति भएको यस घटनाको पनि एमाले र सांसद गुरुङको विरोध भएको छ । मन्त्री बन्न पार्टी छोड्ने र मन्त्री बनाएर पार्टी छोडाउने खेलको सर्वत्र विरोध गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *