भर्खरै :

कोभिड महामारीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस

कोभिड–१९ महामारीको कारण देशभरको जनजीवन सामान्य गतिमा अघि बढिरहेको छैन । भाइरस डढेलोसरि फैलिन थालेपछि सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत अधिकांश प्रमुख सहरी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्राणघातक कोभिड भाइरसबाट जनताको जीउज्यान जोगाउन राज्यसँग तत्काल उपलब्ध औजार निषेधाज्ञा नै हो । भाइरस रोकथाम र सङ्क्रमितको उचित उपचार गर्दा सङ्क्रमण क्रमशः घट्दै गएको अन्तर्राष्ट्रिय अनुभवले सिकाएको छ । तर, निषेधाज्ञासँगै नेपालका धेरै मजदुरहरूले रोजगारी गुमाएका छन् । सहरी क्षेत्रमा श्रम बेचिरहेका बौद्धिक तथा शारीरिक मजदुरहरूले निषेधाज्ञासँगै नियमित आम्दानीको स्रोत गुमाएका छन् । त्यसै त न्यूनतम ज्यालामा काम गरिरहेका मजदुरहरूले अहिले रोजगारीसमेत गुमाउँदा उनीहरूको जीवनमा थप कहर थपिएको छ । काठमाडौँ उपत्यका देशकै प्रमुख आर्थिक केन्द्र हो । निषेधाज्ञाको घोषणासँगै उपत्यकाबाट केही दिनभित्रै लाखौँ मानिसहरू उपत्यका बाहिर गएका छन् । उनीहरूमध्ये अधिकांशले राजधानीमा आफूले गर्दै आएका कामको सुनिश्चितता नभएपछि यसरी बाहिरिनु परेको हो । दैनिक ज्यालादारी र महिनावारी तलबको भरमा जीवन चलाउने काठमाडौँ उपत्यकामै रहेका श्रमिक वर्गलाई लकडाउनले थप समस्यामा च्यापेको छ ।
आर्थिक जीवन ठप्प हुँदा बजारमा गएर श्रम बेच्न पनि नसक्ने अनि सरकारकै आग्रहअनुसार कोठामा बस्दा पनि भोको पेट भर्न धौ धौ पर्ने अवस्था श्रमिक जनताले भोगिरहेको तीतो वास्तविकता हो । भोको पेट भर्न काममा जाँदा पनि घातक भाइरसको सङ्क्रमित हुने त्रास मजदुर वर्गकै थाप्लोमा छ । कदाचित काममा जाँदा सङ्क्रमित भए उपचारको लागि पुग्दो पैसा श्रमिक वर्गको गोजीमा छैन ।
रोजगारीको लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली श्रमिक जनताले एकातिर उताको रोजगारी गुमाएर कष्टकर यात्रा गरी घर फर्किन बाध्य भएका छन् भने अर्कोतिर उनीहरू भाइरसबाट सङ्क्रमितसमेत बनेका छन् । सङ्क्रमित मजदुरहरू घर पुग्दा उनीहरूमार्फत परिवार र गाउँ नै सङ्क्रमित बनिरहेका छन् । रोजगारी गुमाउँदा त्यसै पनि आर्थिकरूपमा कमजोर बनिसकेका मजदुरहरू अहिले घर–परिवारसमेत सङ्क्रमणको चपेटामा पर्दा उनीहरू थप कहालीलाग्दो जीवन बिताउन बाध्य छन् ।
पुँजीवादी व्यवस्था श्रमिक वर्गमाथिको उत्पीडनमा बाँचेको मानवताहीन राजनीतिक व्यवस्था हो । पुँजीपति वर्गको लागि श्रमिक वर्गको महत्व त्यो बिन्दुसम्ममात्र रहन्छ, जुन बिन्दुसम्म श्रमिक वर्गले उनीहरूको नाफा बढाउने क्षमता राख्छ । पुँजीपति वर्गको नाफा बढाउन भूमिका खेल्न नसक्ने मजदुरहरू उनीहरूको लागि ‘फोहोरी मासुका पिण्ड’ सिवाय केही होइन । कोरोनाको महामारीमा श्रमिक वर्गले सामना गरिरहेको दुःख र समस्या पुँजीपति वर्ग र पुँजीवादी सरकारको चासोको विषय बन्ने गर्दैन । महामारी उत्कर्षमा पुगेको भारत र नेपालका सरकारी निकायहरूको व्यवहारले यो वर्गीय वास्तविकता घाम जत्तिकै छर्लङ्ग बनाएको छ । पुँजीवादी व्यवस्था विकास भइरहेका दक्षिण एसियाली देशहरूका जनताले पुँजीवादको अमानवीय चरित्रबारे पुस्तकका ठेलीमा मात्र पढेको थिएँ । कोभिड–१९ को महामारीको क्रममा देखिएका भयानक र कहालीलाग्दा दृश्यहरूले आज दक्षिण एसियाली देशका जनता पुँजीवाद भोग्दै छन् । युरोप र अमेरिकी मजदुरहरूले पुँजीवादको यस्तो कुरूप शताब्दीयौँदेखि भोग्दै आएका छन् । पुँजीवादको यही रसातलबाट समाजवादी चिन्तनको जन्म भएको थियो । श्रमिक वर्गको सङ्घर्ष नै समाजवादी आन्दोलनको जग हो । कोभिड–१९ स्वयम् पुँजीवादी उत्पादन सम्बन्धको खराब उत्पादन हो भने यसको प्रभावले पुँजीवादी व्यवस्थाको मूल चरित्र उजागर गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा आज संसारका श्रमिक जनताले पुँजीवादका यिनै खराबीको चर्चा गर्दै ‘मानिसलाई मानिस भएर बाँच्ने दिने व्यवस्था’ को निम्ति सङ्घर्षको तयारी गर्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *