भर्खरै :

किसान बन्दै प्रतिभाशाली चिनियाँ युवाहरू

पेइचिङ, ३ मे (सिन्ह्वा) । ३५ वर्षका स्यु छियाङले सन् २०१२ मा सियान प्राविधिक विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरे । स्नातकोत्तर तहको अध्ययन सकाएलगत्तै उनले बिनासन्देह उत्तर–पश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानको ग्रामीण क्षेत्रमा आफ्नो ‘पारिवारिक व्यापार’ समाल्न घर फर्किने निधो गरे ।
स्यु छियाङका पिता स्यु ट्वले ६६० भन्दा बढी हेक्टर खेतको रेखदेख गर्छन् । उनको गृह नगरमा उनी प्रतिष्ठित किसान हुन् ।
हिजोआज स्यु छियाङले एउटा कृषि औजार सहकारी चलाइरहेका छन् । खेत जोत्न, बीउ लगाउन, विषादि छर्न र फसल उठाउन पुरानो तौरतरिका विस्थापन गरी अहिले पूर्णतः आधुनिक तरिका अपनाइएको छ । आधुनिक विधि र प्रविधिको प्रयोग भएकोले थोरै समयमा नै गर्न सकिने भएको छ ।
स्यु छियाङलाई कृषि कर्ममा आफ्नो शैक्षिक स्तरले मद्दत गरेको छ । “कुनै पनि निर्णय गर्न म गणितको सहारा लिन्छु । उदाहरणको लागि, गहुँ लगाउँदा र अन्य बाली लगाउँदा केमा कति लागत लाग्छ भनी तुलना गर्छु । आधुनिक कृषि औजार र अनुमानित नाफाको पनि तुलना गर्छु । गणितको मेरो विशिष्टीकरणले मलाई जोखिम कम गर्न र सही निर्णय गर्न मद्दत गरेको छ”, उनले भने ।

गत वर्ष स्यु छियाङको सहकारीले चलाएको गहुँ खेतीले प्रतिहेक्टर ५ जहार २५० केजी गहुँ फलायो । वरपरभन्दा यो फसल निकै बढी हो ।
सन् २०१७ मा चीनले कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई गति दिने प्रमुख कदमको रूपमा ग्रामीण प्राथमिकता रणनीति प्रस्ताव ग¥यो । त्यसयता ग्रामीण प्राथमिकताको कार्ययोजना बनाउन विभिन्न नीति अँगालिएको छ ।
जसै यो अभियान सघनरूपमा अघि बढ्दै छ, स्युजस्ता उच्च दक्षता प्राप्त धेरै युवाहरूले कृषिमा आधुनिकीकरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । उनीहरू नयाँ किसिमका किसानहरू बन्दै छन् । पेशागत दक्षता र व्यवस्थापनको निपुण क्षमतासहित उनीहरूले चीनको ग्रामीण आर्थिक विकासमा नयाँ ऊर्जा दिइरहेका छन् ।
२८ वर्षका वाङ छि बितेका दशकमा आफ्नो गाउँमा आएको परिवर्तन देखेर आफै दङ्ग छन् । शान्सी प्रान्तको युआनचाए गाउँमा सन् १९७० दशकको अन्त्यसम्ममा जम्मा ६२ वटामात्र घरधुरी थिए । तर, आज त्यो गाउँ एउटा चर्चित पर्यटकीय गन्तव्य बनेको छ । हरेक वर्ष त्यहाँ ५० लाखभन्दा बढी पर्यटकहरू आउने गर्छन् । त्यो गाउँको वार्षिक आम्दानी एक लाख युआन (१५ हजार ४५० अमेरिकी डलर) नाघेको छ ।
“सन् २०१९ मा गाउँ समितिका प्रमुखले नयाँ पुस्तालाई गाउँमा फर्कन आह्वान गर्दै गाउँको विकास गर्ने ‘नयाँ तरिका’ को खोजी गर्न आग्रह गरे । त्यसको केही महिनापछि नै म गाउँ फर्के”, वाङले भने ।
युवाहरूले गाउँमा कायापलट गरे । उनीहरूले स्टारबक्स र केएफसीजस्ता चर्चित खाने पसलहरूलाई गाउँमा भित्र्याए । यसले त्यहाँ पर्यटकहरूलाई थप आकर्षित बनायो ।
“मिङ र छिङ वंशकालीन पुराना भवनमा स्टारबक्सको कफी पसल खोलिएको छ”, वाङले भने ।
तिङ तनले लिभरपुल विश्वविद्यालयबाट स्नातक गरे । स्नातकपछि उनले साङ्घाईको मध्य व्यापार क्षेत्रमा केही वर्ष काम गरे । अनि उनले किसान बन्ने निधो गरे ।
उनका आमाबुबाले एउटा खाना प्रोसेसिङ कम्पनी चलाएका थिए । त्यसको वार्षिक कुल व्यापार २० करोड युआन बराबरको थियो । उनीहरूले तिङ तनको किसान बन्ने निर्णयलाई समर्थन गरेनन् ।
“उनीहरूको लागि किसानी निकै मिहिनेत गर्नुपर्ने पेशा थियो”, तिङले भने ।
किसान बन्नु वास्तवमै कठिन काम हो । पहिलो वर्ष त उनले खेतीबाट कति पनि नाफा कमाउन सकेनन् । सुख्खा, बाढी, कीराफट्याङ्ग्राको प्रकोप र न्यून तापक्रमले दुई वर्ष उनलाई बसिखान दिएन । त्यसै पनि धरमर भइरहेको व्यापारमा त्यस्ता प्रतिकूलताले थप समस्या निम्त्यायो ।
तर, तिङले हरेस खाएनन् । पूर्वी चीनको चाङ्सी प्रान्तको काओआन सहरको शिनाओ नगरमा दुई वर्षको मिहिनेतपछि सन् २०१९ मा उनले आफ्नो २० हेक्टर जमिनमा १ लाख ६५ हजार केजी धान उत्पादन गर्न सफल भए ।
अहिले तिङको कम्पनीले ६ सयभन्दा बढीलाई रोजगारी दिइरहेको छ । उनी स्थानीय किसानहरूको आम्दानी बढाउन पनि सफल भएका छन् ।
ग्रामीण प्राथमिकता प्रवद्र्धनसम्बन्धी कानुन हालै राष्ट्रिय व्यवस्थापिकाबाट पनि पारित भयो । त्यसले ग्रामीण प्राथमिकता रणनीतिको प्रवद्र्धनमा कानुनी सुनिश्चितता दिएको छ ।
यो कानुनले कृषिमा आधारित व्यवसायको सुरक्षा, ग्रामीण आम्दानीको वृद्धि र कृषि क्षेत्रमा प्रतिभाशाली व्यक्तिहरूको संलग्नता सुनिश्चित गरेको छ ।
चीनको ग्रामीण प्राथमिकताले प्रतिभाशाली व्यक्तिहरूलाई विशेष स्थान दिएको छ । फलतः चिनियाँ युवाहरूलाई नयाँ–नयाँ प्रविधि र अवधारणा स्थानीय अर्थतन्त्रको प्रवद्र्धनमा ल्याउन मनग्य अवसर प्रदान गरेको छ ।
चाङ्सी प्रान्तका प्रान्तीय कृषि प्रमुख ह्वाङ वेनसिनले चाङ्सीमा ग्रामीण उद्यमशीलताको वातावरण अझ विस्तार गर्ने, विश्वविद्यालयका विद्यार्थी र अवकाश प्राप्त सिपाहीहरूजस्ता उच्च शिल्प भएका व्यक्तिहरूलाई ग्रामीण क्षेत्रमा काम गर्न उत्साहित गर्दै जाने बताए ।
“ग्रामीण प्राथमिकता लक्ष्यमा धेरै धेरै युवाहरू सामेल हुनेमा म आशावादी छु”, स्यु छियाङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *