भर्खरै :

स्वास्थ्यकर्मीलाई सहयोग गरौँ

कोभिड–१९ सङ्क्रमण तीव्रगतिमा फैलिएसँगै अस्पताल र स्वास्थ्य चौकीहरूमा बिरामीको चाप अत्यधिक बढेको छ । अधिकांश अस्पतालमा कोभिड–१९ को उपचार गर्ने शय्याको अभाव भइसकेको छ । आगामी दिनमा सङ्क्रमण अझ फैलिन सक्ने पूर्वानुमानअनुसार अस्पतालहरूमाथि चाप अझ बढ्ने पक्का छ । अस्पतालले मात्र सबै सङ्क्रमितको उपचार वा व्यवस्थापन गर्न नसकिने हुँदा तीनै तहका सरकारले थप शय्याको तयारी थालेको छ । साथै सङ्क्रमणको सामान्य लक्षणमात्र देखिएका बिरामीलाई घरमै अलग बस्न र त्यसरी बस्दा पालना गर्नुपर्ने विभिन्न नियमबारे प्रचार भइरहेका छन् । तथापि, दोस्रो लहरका अधिकांश सङ्क्रमितहरूको स्वास्थ्य अवस्था भने चाँडै खराब हुने गरेकोले आधारभूत स्वास्थ्य सामग्रीसहितको अस्पताल र स्वास्थ्य केन्द्रको खाँचो बढेको हो ।
अस्पताल भनेको शय्या र स्वास्थ्य सामग्रीमात्र होइन । अस्पताल र स्वास्थ्य केन्द्रको प्राण भनेको चिकित्सक र स्वास्थ्यकर्मीहरू हुन् । बिरामीको चाप बढेसँगै सघन सङ्क्रमण क्षेत्रमा स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि कमी छ । महामारीले भयावह रूप लिएको बाँके जिल्लाका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको अभाव हुँदा सङ्क्रमित स्वास्थ्यकर्मीहरू स्वयम् उपचारमा लाग्नुपरेको छ । रातदिन अहोरात्र काम गरेका स्वास्थ्यकर्मीहरू अस्पतालकै टेबुल कुर्सीमा सुस्ताइरहेका तस्वीरहरू सार्वजनिक भएका छन् । बाँकेका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको अभाव भएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकहरू त्यत्ता परिचालन भएका छन् । सुदूरपश्चिमका जिल्लाका अस्पतालमा पनि स्वास्थ्यकर्मीहरूको अभाव हुँदा सङ्क्रमितले सहज उपचार पाउन सकिरहेका छैनन् ।
देशको कुल सङ्क्रमणको आधाभन्दा बढी हिस्सा ओगटेको काठमाडौँ उपत्यकामा पनि अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको अभाव हुन थालेको छ । सरकारले अत्यावश्यक प्रयोजनबाहेक अन्य कामको लागि बिदामा बसेका स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन सूचना गरेको छ । स्वास्थ्यकर्मीहरूको अभाव पूर्ति गर्न सरकारले अन्य सम्भावित स्रोतबाट पनि जनशक्ति परिचालन गर्न जरूरी छ । जोखिम क्षेत्रमा परिचालन हुने स्वास्थ्यकर्मीहरूको हौसला उँचो राख्न सरकार र नागरिक तहबाट पनि भूमिका खेल्न जरूरी छ । नेपाली जनताले अघिल्लो वर्ष चीनको उहान र अहिले भारतका स्वास्थ्यकर्मीहरूले सामना गरेको कष्टसाध्य समय देखेका छन् । नेपालकै स्वास्थ्यकर्मीहरूले आज त्यो अत्यन्त भयावह समयको सामना गरिरहेका छन् । आजको चुनौतीको सामना स्वास्थ्यकर्मीहरूको प्रयासबाट मात्र जित्न सम्भव छैन । सरकारले स्वयम्सेवकको लागि उत्सुक युवाहरूलाई आह्वान गर्न जरूरी छ । राजनीतिक दलका जनवर्गीय सङ्गठनहरूले पनि जहाँ जसरी सम्भव छ, महामारीविरूद्धको लडाइँमा भूमिका खेल्न अग्रसरता देखाउन जरूरी छ । स्वास्थ्य क्षेत्रभन्दा बाहिरका स्वयम्सेवकहरूको खेल्न सक्ने धेरै भूमिका हुन्छ । ती भूमिकामा युवाहरूलाई परिचालन गर्न सके स्वास्थ्यकर्मीहरूको भारमात्र कम हुने होइन, हौसला पनि बढ्नेछ ।
सञ्चारमाध्यमहरूले प्रतिकूलताको सामना गर्दै महामारीविरूद्धको लडाइँमा साहसका साथ लड्ने स्वास्थ्यकर्मीहरूलाई हौसला दिने समाचार प्रकाशमा ल्याउन जरूरी छ । सरकारले स्वास्थ्यकर्मीहरूको सुरक्षामा कति पनि कसर बाँकी राख्न हुन्न । सङ्क्रमितको उपचारमा परिचालन हुने स्वास्थ्यकर्मीहरूलाई गुणस्तरीय मास्क, पीपीई, हातेपञ्जालगायतका सबै बन्दोबस्त सुनिश्चित गर्न जरूरी छ । नागरिक र स्थानीय तहबाट स्वास्थ्यकर्मीका परिवारलाई सहयोग गर्नुपर्छ । निजी तहबाट सञ्चालनमा रहेका क्लिनिक वा स्वास्थ्य केन्द्रका काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई समेत महामारीको सामनामा सक्रिय बनाउन आवश्यक समन्वय सरकारले गर्न जरूरी छ ।
महामारीविरूद्धको लडाइँको सबभन्दा अग्रमोर्चाका सिपाही स्वास्थ्यकर्मीहरूलाई लडाइँमा सहयोग गर्न सबैले जसरी सम्भव छ, सहयोग गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *