भर्खरै :

सङ्क्रमितको उपचारका लागि तीनै तहको सरकार अस्पताल निर्माणमा लाग्नुपर्छ

छिमेकी देश भारतमा कोभिड–१९ सङ्क्रमण भयावह हुँदै गएपछि खुला सीमाकै कारण नेपालमा १० लाख भारतीय प्रवेश गरेको समाचार छ । भारतसँगको ३५ खुला सीमा नाकामध्ये २२ बन्द गर्ने भनिए पनि पूर्णरूपमा बन्द गरिएको छैन । सीमा नाकामै पीसीआर परीक्षण गर्ने र क्वारेन्टिनको व्यवस्था नहुँदा नेपालमा सङ्क्रमण बढ्दो छ ।
यो सङ्क्रमणको घडीमा सरकारले ‘थेग्न सकिन्न’ भन्नु जनताप्रति धोका हो । यही स्थिति रहे अर्को हप्ता नै सङ्क्रमित दोब्बर हुने अनुमान गरिएको छ । एक वर्षभन्दा बढी हुँदा समेत सङ्घ, प्रदेश र स्थानीय तहले पर्याप्त तयारी नगर्दा अहिलेको भयावह स्थिति आएको हो ।
पीसीआर परीक्षण निःशुल्क नभएकोले समयमै रोग पहिचान भइरहेको छैन । रकमकै अभावमा समयमा परीक्षण नहुँदासो अवधिसम्ममा धेरैलाई रोग सरिसक्ने भएकोले परीक्षण निःशुल्क गर्नु जरुरी छ ।
कोरोना भाइरस नयाँ भेरियन्टका रूपमा फैलिरहेको हुँदा निरोगी युवाहरूको मृत्यु हुने दर पनि बढिरहेको छ । सरकारले आइसोलेसन बनाउने काम स्थानीय तहको भन्यो तर स्थानीय तहले आइसोलेसनको व्यवस्था नगर्दा सङ्क्रमितहरू होम आइसोलेसनमा बस्ने र अक्सिजन धेरै कम भएपछि मात्र अस्पताल आउँदा धेरैको मृत्यु भएको स्वास्थ्यकर्मीको भनाइ छ । ९२ भन्दा कम अक्सिजन भए सङ्क्रमितलाई अस्पताल पु¥याउन स्थानीय तहले आवश्यक व्यवस्था गर्नु जरुरी छ । स्वास्थ्यसम्बन्धी जनचेतनाका साथै घर – घरमा ज्वरो र अक्सिजन नाप्ने मेसिन दिनुपर्छ ।
काठमाडौँ र ठूला सहरमा मात्र सुविधा सम्पन्न अस्पताल भएकोले सर्वसाधारण जनताको ज्यान जोखिममा छ । नागरिक अस्पतालसम्म पुग्ने अवस्था छैन । अस्पताल भएका सहरमा पनि अक्सिजन र भेन्टिलेटरको व्यवस्था नहुँदा सङ्क्रमितहरूको मृत्यु भइरहेको छ ।
सरकारले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५०० भन्दा बढी र पहाडमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भए निषेधाज्ञा गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएको छ । वैशाख १८ गतेसम्म २५ जिल्लामा निषेधाज्ञा जारी भएको छ । सङ्क्रमितको उपचार र रोकथाम गर्न कुनै पहल नगरी निषेधाज्ञा मात्र जारी गर्नु बुद्धिमानी होइन ।
छिमेकी देश चीनले केही दिनमै हजारौँ शय्याको अस्पताल बनाएको समाचार एक वर्षअघि नै आएको हो । स्वास्थ्य अनुशासन पालना गराई चीनले ८४ दिनमै कोभिड–१९ नियन्त्रणमा सफलता प्राप्त ग¥यो ।
कोभिड–१९ रोकथाम र आर्थिक उत्थानको विषयसहित चीनले दक्षिण एशियाका देशहरूसँग सहकार्य गर्न परराष्ट्रमन्त्रीहरूको बैठक सम्पन्न ग¥यो । नेपालले भारतबाट खोप खरिद गर्न १० लाख रकम भुक्तानी ग¥यो तर खोप प्राप्त भएको छैन । यसकारण, सङ्क्रमण नियन्त्रण र रोकथामका लागि चीनबाट आवश्यक खोप, उपकरण र सामाग्री लिनु जरुरी छ ।
अतः कोभिड–१९ नियन्त्रणका लागि नेपाल–भारत खुला सीमा पूर्ण बन्द गर्नुपर्दछ । १५ दिन पूरा आउजाउ बन्द (लकडाउन) गर्नुपर्दछ । सङ्क्रमितको उपचारका लागि तीनै तहका सरकार अस्पताल निर्माणमा लाग्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *