भर्खरै :

श्रमिक दिवस : अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको कोसेढुङ्गा

“तिमीहरू हामीलाई फाँसी दिएर दुःखकष्टमा बाँचिरहेका र थिचिएका लाखौँ करोडौँ कामदार जनताको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र यही तिमीहरूको इच्छा छ भने हामीलाई झुन्ड्याऊ ¤ तर, तिमीहरूले थाहा पाउनुपर्छ कि तिमीहरूले एक टुक्रो फिलिङ्गोलाई मात्र कुल्चँदै छौ, जसको ज्वाला तिम्रो पछाडि जहाँतहीँ दनदन दन्किरहेछ । त्यो ज्वाला जनताको बीचमा दन्किरहेको छ । त्यसलाई निभाउने तिमीहरूको तागत छैन ।”
माथि उद्धृत गरिएको ओजपूर्ण भनाइ मे आन्दोलनका एक कैदी नेताले मृत्युलाई पनि चुनौती दिँदै अदालतमा अभिव्यक्त गरेको विचार हो । भोका, नाङ्गा र दासझैँ काम गर्न बाध्य मजदुरहरूले आफ्नो मानवीय अधिकारको निम्ति बलिदानीपूर्वक लडेको इतिहासको नाम नै मे आन्दोलन हो । मे दिवस पुँजीवादी शोषण, अन्याय, अत्याचार, दमन र उत्पीडनको विरुद्ध संसारभरकै कामदार जनता एक भई लड्न प्रण गर्ने दिवस हो । आजभन्दा १३५ वर्षअघि अर्थात् सन् १८८६ को मे १ को दिन अमेरिकाको शिकागोलगायत देशका सम्पूर्ण औद्योगिक सहरहरूमा ज्याला वृद्धि र दैनिक ८ घण्टाको कामको मागसहित मजदुरहरूले अभूतपूर्ण प्रदर्शन र हडताल आयोजना गरेको दिन हो । मे आन्दोलनलाई मजदुरहरूको वर्गीय मुक्ति अभियानको रूपमा आज पनि संसारभरकै मजदुरहरू स्मरण गर्छन् । त्यसकै परिणामस्वरूप पुँजीवादी अमेरिकी सरकारमात्रै होइन, अन्ततः संसारका सम्पूर्ण तानाशाही, प्रतिक्रियावादी एवम् पुँजीवादी सरकारहरू मजदुरहरूको ८ घण्टाको कार्य दिनको माग पूरा गर्न बाध्य भए ।
मे दिवसको ऐतिहासिक पृष्ठभूमि
औद्योगिक क्रान्ति
सन् १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति पूरा भएको मानिन्छ । रेल यातायातको विकासले व्यापार र उद्योग तथा कलकारखानाको विकासमा तीव्रता ल्याएको थियो । कोइला, तामा, फलाम, तेल र काठपातको अपार भण्डार भएको अमेरिकामा औद्योगिक मजदुरहरूको सङ्ख्या दिन परदिन बढ्दै जानु अस्वाभाविक थिएन । यसरी औद्योगिक उत्पादनको हिसाबले त्यो विश्वको पाँचौँ देश बन्न सफल भयो ।
सन् १८६० तिर संरा अमेरिकाको कुल जनसङ्ख्या ३ करोड १० लाखमध्ये १८ लाख जनता मजदुरमा परिणत भए । उद्योगहरूमा काम गर्ने मजदुरहरूमा ठूलो भाग केटाकेटीहरू थिए । सन् १८६५ सम्ममा संरा अमेरिका औद्योगिक उत्पादनमा संसारकै चौथो देश बन्न पुग्यो । १८७० मा तेल झिक्ने उद्योगको विकास भएपछि मजदुरहरूको सङ्ख्या लाखौँले वृद्धि भयो ।
मजदुरहरूको तत्कालीन परिस्थिति
पुँजीवादको विकास सँगसँगै आर्थिक विषमता बढ्दै गयो । पुँजीपति र मजदुरहरूबीचको खाडल झन्झन् फराकिलो हुँदै गयो । धनी झन्झन् धनी हुँदै जानु पुँजीवादी अर्थतन्त्रको चरित्र नै हो । मजदुरहरूले दिनमा १८ देखि २० घण्टासम्म श्रम गर्दा पनि दुई छाक खानसक्ने अवस्थामा थिएनन् । आफ्ना बालबच्चालाई पढाउनु लेखाउनु त कता हो कता एक सरो लगाउन र भरपेट खुवाउनसम्म पनि तिनीहरूलाई धौधौ हुन्थ्यो । त्यसले गर्दा केटाकेटी र बुढाबुढीलाई समेत कारखानामा कडा परिश्रम गर्नुपर्दथ्यो । माक्र्स र एँगेल्सको कम्युनिस्ट घोषणापत्रमा भनिएको छ – “मजदुरलाई औसतरूपले खालि त्यतिमात्र ज्याला दिइन्छ जति उसलाई बाँच्नको निम्ति आवश्यक पर्दछ अर्थात् त्यति नपाएको खण्डमा मजदुर बाँच्न सक्दैन । त्यसकारण, मेहनत गर्ने मजदुरले आफ्नो कडा परिश्रमबाट जति ज्याला पाउँछ, त्यसबाट आफ्नो र जहान परिवारको गुजारा मुस्किलले चलाउन सक्दछ । मजदुर बाँच्नै नसक्ने भएको खण्डमा फेरि मजदुर कहाँबाट ल्याउने ?”
दिनभरि काम गरिसकेपछि मजदुरहरू आफ्नो छाप्रामा फर्कन्थे । सबभन्दा सस्तो खानेकुरा रोटी हुन्थ्यो । तसर्थ, बिहान तिनीहरू कफी र सुख्खा रोटी खान्थे भने दिउँसो धेरैजसो एक टुक्रा प्याजसँग सुख्खा रोटी निल्थे । बेलुकी पनि अधिकांशको खाना रोटी नै हुन्थ्यो । डेराको बहाल कम गर्न एउटै कोठामा ८–१० जना मजदुरहरू बस्न बाध्य थिए ।
मजदुर आन्दोलनको विकास
अमेरिकी मजदुरहरूले समय – समयमा छिटफुट विद्रोहहरू गर्दै आए । पुँजीवादी चरम शोषणविरुद्ध मजदुरहरू भित्रभित्रै सचेत र सङ्गठित हुँदै गए । १९ औँ शताब्दीको सुरुमा नै अमेरिकी मजदुरहरूले ‘सूर्योदयदेखि सूर्यास्तसम्म’ काम गराउने प्रवृत्तिको विरुद्ध आवाज उठाउँदै आएको देखिन्छ । त्यतिबेला पनि मजदुरहरूलाई १८ घण्टासम्म काम गराउनु सामान्यजस्तो नै थियो । सन् १८०६ मा फिलाडेल्फियाका आन्दोलनकारी मजदुर नेताहरूमाथि षड्यन्त्रपूर्ण मुद्दा चलाइएपछि त्यहाँका मजदुरहरूलाई २० घण्टासम्म काममा जोताइन्छ भन्ने सत्यउद्घाटन भएको थियो ।
संसारको सबैभन्दा पहिलो मजदुर सङ्गठन फिलाडेल्फियाका मेकानिक्सहरूको सङ्गठनलाई मानिएको छ । त्यो मजदुर सङ्गठन बेलायतका मजदुर सङ्गठनहरूभन्दा २ वर्षअगाडि स्थापना भएको थियो । फिलाडेल्फियाको त्यस मजदुर सङ्गठनको नेतृत्वमा सन् १८२७ मा त्यहाँका मजदुरहरूले दिनमा १० घण्टाको कामको माग गर्दै हडताल गरे । त्यसबाट केही उद्योगहरूका मजदुरहरूले आफ्ना मागहरू पूरा गराउन सफलता प्राप्त गरे ।
सन् १८५० र १८६० को दशकमा अमेरिकामा धेरै मजदुर सङ्गठनहरू बने । २० अगस्त १८६६ मा साठी वटा मजदुर सङ्गठनका प्रतिनिधिहरू बाल्टिमोरमा जम्मा भए । त्यस भेलाबाट ‘नेसनल लेवर युनियन’ को स्थापना भयो । मजदुरहरूको राष्ट्रिय सङ्गठनको आन्दोलन विलियम एच. सिल्विसको नेतृत्वमा अगाडि बढ्यो । सन् १८६६ मा नेसनल लेवर युनियनको स्थापनाको समयमा सम्पन्न अधिवेशनबाट निम्नलिखित प्रस्ताव स्वीकार गरिएको थियो – “यो देशका मजदुरहरूलाई पुँजीवादी दासताबाट मुक्त गर्नको लागि आजको सबैभन्दा पहिलो र मूल आवश्यकता यस कुराको छ कि, एउटा यस्तो कानुन बनाइयोस् जसले अमेरिकाको हरेक प्रान्तमा ‘आठ घण्टा’ को कार्यदिन निश्चित गर्दछ । यसको गौरवपूर्ण नतिजामा पुग्नको लागि हामी आफ्नो पूरा शक्ति लगाउने प्रतिबद्धता गर्दछौँ ।” तर, सन् १८६९ मा सिल्विसको असामयिक निधन भयो । त्यसपछि युनियनमा खराब तत्वहरूको प्रवेशले गर्दा नेसनल लेवर युनियनको बदनामी भयो र त्यो त्यत्तिकै विलीन भएर गयो ।
आठ घण्टाको कार्यदिनबारे माक्र्सको विचार
नेसनल लेवर युनियनले ‘आठ घण्टा कामको दिन’ को आन्दोलन गर्ने निधो सन् १८६६ अगस्तमा गरेको थियो, त्यसै वर्ष सेप्टेम्बर महिनामा जेनेभामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय महाअधिवेशनले आठ घण्टाको कार्यदिनको मागको विषयमा यसरी उठाएको थियो, “जबसम्म काम गर्ने समय कानुनीरूपमा तोकिँदैन तबसम्म मजदुर वर्गको हित र स्वतन्त्रताको लागि गरिने सबै प्रयास अधुरो हुनेछन् । त्यसैले महाधिवेशन प्रस्ताव गर्छ कि ‘आठ घण्टा कार्य’ दिनलाई कानुनी मान्यता दिइयोस् !”

सन् १८६७ मा प्रकाशित ‘पुँजी’ को प्रथम भागको एउटा अध्यायमा ‘कामको दिन’ विषयमा आठ घण्टा कार्यदिनको लागि नेसनल लेवर युनियनद्वारा गरिएको आन्दोलनको सन्दर्भ जोड्दै सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले ‘काला’ र गोरा मजदुरहरूको वर्गीय हित र एकताको एकदमै मार्मिक ढङ्गले वर्णन गर्नुभएको छ । माक्र्स अगाडि लेख्नुहुन्छ – “जबसम्म अमेरिकी प्रजातन्त्रको कुनै पनि भागमा दासताको धब्बा रहन्छ, तबसम्म त्यहाँ कुनै पनि किसिमको स्वतन्त्र मजदुर आन्दोलन हुर्कन सक्दैन । जहाँ कालो छाला भएकालाई घृणा गरिन्छ, त्यहाँ गोरा मजदुरहरूले पनि आफूलाई कहिल्यै मुक्त भएको अनुभव गर्न सक्दैनन् । तर, दासप्रथा उन्मूलन भएपछि त्यहाँ एक नयाँ जिन्दगीको जन्म भयो । गृहयुद्धको पहिलो परिमाणस्वरूप ‘आठ घण्टाको कार्यदिन’ को आन्दोलन प्रशान्तदेखि आन्ध्रसम्म र लन्डनदेखि क्यालिफोर्नियासम्म आगोजस्तै सल्किँदै गयो ।”
मजदुर आन्दोलनको महत्वपूर्ण दशक : १८७०
सन् १८७० को दशकमा संरा अमेरिकाको श्रमिक आन्दोलनको इतिहासमा एक महत्वपूर्ण अवधि रह्यो । मजदुरहरू निश्चित समयको काम र उचित ज्यालाको पक्षमा कानुन बनाउन लगाउन आर्थिक र राजनैतिक सङ्घर्षहरू चर्काउँदै थिए ।
७० कै दशकमा भएका मजदुर आन्दोलनमध्ये रेल मजदुरहरूको आन्दोलन उल्लेखनीय छ । १८७७ मा भएको त्यस ऐतिहासिक मजदुर आन्दोलन दबाउन पुँजीपति वर्गले सेना र स्वयम्सेवक नामधारी गुन्डाहरू प्रयोग ग¥यो । रेल मजदुरहरूको त्यस हडतालमाथि गोलीको वर्षा गर्न पनि पुँजीपति वर्ग पछि परेन । दमनको कारण आन्दोलन झन् चर्किन पुग्यो । मजदुरहरू कत्ति पनि झुकेनन् । अरू औद्योगिक मजदुर र किसानहरूले पनि रेल्वे मजदुरहरूको समर्थन गरे । पिटर्सवर्ग, बाल्टिमोर, शिकागोलगायत प्रमुख सहरहरूमा हडताली मजदुर र सिपाहीबीच चर्का भीडन्तहरू भए र ती भीडन्तमा कम्तीमा ३०० मजदुर मारिए । अमेरिकाका सहरहरू सहिदको रगतले रङ्गिए । त्यस हत्याकाण्डले सुतेर बसेका सम्पूर्ण मजदुरहरूलाई झक्झक्याइदियो । मजदुरहरूको त्यस आन्दोलनले क्षणिकरूपमा हार खाए पनि भुसको आगोजस्तै आन्दोलनको आगो भित्रभित्रै सल्किरह्यो  ।
मे आन्दोलनको तयारी
मजदुर आन्दोलनको सिलसिला चलिरह्यो । सङ्घर्षकै क्रममा मजदुरहरूले थुप्रै अनुभव हासिल गर्दै गए । उनीहरूको उत्साह र लडाकुपन बढ्दै गयो । माक्र्स र एँगेल्सको ‘विश्वका मजदुरहरू एक होऔँ’ भन्ने नारा विश्वभर फैलिँदै थियो । अमेरिकी मजदुरहरूमा पनि माक्र्सवादको प्रभाव पर्दै थियो तर त्यहाँ मजदुरहरूको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको स्थापना भने भइसकेको थिएन ।
सन् १८४८ मा महान् गुरु कार्ल माक्र्सले मजदुरहरूको वास्तविक मुक्तिको बाटो कोरिसक्नु भएको थियो । मजदुर आन्दोलनलाई तलब वृद्धि र कामको घण्टा आदि ससाना मागहरूमा सीमित नगरी मजदुर वर्गकै राज्यसत्ता स्थापना गर्ने मुख्य लक्ष्यमा परिणत गर्नु माक्र्सवादको सार हो । त्यसअनुसार माक्र्सवादी साहित्यको प्रचारप्रसारको प्रभाव अमेरिकी मजदुर नेताहरूमा पनि पर्दै गयो र आन्दोलनलाई नयाँ दिशामा लैजाने तयारीहरू हुनथाले ।
सन् १८८० को दशकमा अमेरिकामा औद्योगिक विकास तीव्ररूपले भयो । तर, त्यहाँ १८८४ र १८८५ मा ठूलो आर्थिक मन्दी आयो । यस अवधिमा मजदुरहरूको बेकारी समस्या चर्कियो र मजदुर आन्दोलन अघि बढ्न थाल्यो ।
आठ घण्टाको कार्यदिनको नारा व्यापक श्रमिकहरूमा लोकप्रिय बन्दै गइरहेको थियो । अमेरिकाका मजदुर सङ्गठनहरू सन् १८८६ को मे १ बाट पुनः मजदुर आन्दोलनको आँधीबेहरी ल्याउने घोषणाका साथ तयारीमा जुटे । वास्तवमा मे आन्दोलनको लागि सन् १८८५ देखि तयारी आन्दोलनहरू हुन थालेका थिए । सन् १८८१ देखि १८८४ सम्म हडतालीहरूको औसत सङ्ख्या डेढ लाख थियो भने सन् १८८५ मा ७०० हडताल भए र आन्दोलनमा भाग लिने मजदुरको सङ्ख्या २ लाख ५० हजारसम्म पुग्यो । १८८६ मा १८८५ को भन्दा दुई गुणा बढी अर्थात् १५७२ वटा हडतालहरू भए भने हडताली मजदुरहरूको सङ्ख्या ६ लाखसम्म पुगेको थियो । १८८५ मा २४६७ उद्योगहरूमा हडताल भएको थियो भने १८८६ मा यो सङ्ख्या बढेर ११ हजार ५६२ सम्म पुगेको थियो ।
मे आन्दोलनका ऐतिहासिक दिनहरू
१८८६ मे १ को दिन ज्यालावृद्धि गर्ने र ८ घण्टाको कार्यदिनको माग पूरा गराउन देशव्यापी हडताल गर्ने व्यापक तयारी भयो । त्यो दिन देशभरका सबै कलकारखाना र यातायात बन्द गर्ने तयारी थियो तर पुँजीपतिहरूका अखबारहरूले आन्दोलनलाई भड्काउन विभिन्न कुचेष्टा गरे । हडतालीहरूलाई बम हानेर पनि दबाउनुपर्छ भन्ने प्रचार गरियो । हडतालमा भाग लिने मजदुर नेताहरूलाई मार्ने धम्की दिइयो । तर, डर र धम्कीको परवाह नगरी आन्दोलन सफल पार्न मजदुरहरू व्यापक तयारीमा लागे ।
‘सडकमा हरेक बत्तीका खम्बाहरू कम्युनिस्टको लासले सिङ्गार्नुपर्छ’ र ‘हुलदङ्गालाई गोली र तिनीहरूका नेतालाई डोरी’ भन्ने पुँजीपतिहरूका धम्कीबाट मजदुरहरू पछि हटेनन् । किनभने, सर्वहारा वर्गसँग हार्नका निम्ति सिक्रीबाहेक केही थिएन । आफूलाई पशुसरह व्यवहार गर्ने, शोषण र अन्याय अत्याचार गर्ने वर्गशत्रुप्रति मजदुरहरूको बढ्दो घृणाले आन्दोलन सफल हुने सम्भावना प्रवल भएको थियो । मजदुरहरूले अन्दोलन सफल बनाउन जोडतोडका साथ तयारी गर्दै थिए । त्यसैगरी पुँजीपति एवम् प्रतिक्रियावादीहरू पनि आन्दोलन दबाउन तयारी गर्दै थिए ।
आन्दोलनको केन्द्रबिन्दु शिकागो सहरबाहिर थुपै्र सिपाही, पुलिस, डाँकु, गुन्डा र जासुसहरू थुपारिए । मे १ को दिन देशभरि हडताल सुरु भयो । शिकागोको हडतालमा ४० हजार मजदुरले भाग लिएका थिए । वातावरण तनावपूर्ण थियो । मजदुरहरूका नशानशामा रगत उम्लिएको थियो । सबैले जोशका साथ एकै स्वरमा नारा लगाए – ‘८ घण्टाको कार्यदिन लागु गर’ पुँजीपति वर्ग र त्यसका सिपाही, पुलिस, गुन्डा र जासुसहरू हिंस्रक पशुझैँ निहुँ खोज्दै थिए ।
हडताल दोस्रो दिन पनि चल्यो । दोस्रो दिनसम्ममा शिकागोमा हडताली मजदुरको सङ्ख्या ८० हजार पुग्यो । शिकागोको अवस्था झन् तनावपूर्ण भयो । १ र २ मेको आन्दोलन शान्तिपूर्ण नै रह्यो ।
३ तारिखका दिन पुलिसले एकाएक गोली चलाएर ५ जना मजदुरको हत्या ग¥यो । ५० जना मजदुर गम्भीररूपले घाइते भए । विरोधमा उक्त हत्याकाण्डको ४ मेका दिन विरोधसभा भइरहेको ठाउँमा केही सरकारी गुन्डाहरूलाई पुलिसमाथि बम फ्याँक्न लगाएर सरकारले दमनको नीति लियो । बम पड्केर ७ जना प्रहरीको पनि मृत्यु भयो । यसैलाई अत्तो थापेर सरकारले पुलिस र सेनाको प्रयोग गरी थुप्रै मजदुरहरूको हत्या ग¥यो । अनगिन्ती मानिस घाइते भए । प्रशासनले ८ जना मजदुर नेताहरूसहित हजारौँलाई गिरफ्तार ग¥यो ।
सरकारले त्यस बमकाण्डको दोष मजदुरहरूमाथि लगायो र तिनीहरूको विरुद्धमा मुद्दा चलायो । अदालतका ‘न्यायमूर्तिहरू’ निर्दोष मजदुर नेताहरूलाई मृत्युदण्ड सुनाउन तयारी गर्दै थिए । तर, मजदुर नेताहरूले मृत्युदण्डलाई पनि चुनौती दिए । वीरहरू मृत्यु स्वीकार्छन् तर प्रतिक्रियावादीहरूसामु झुक्दैनन् । अदालतको कठघरामा पनि ती मजदुर नेताहरू त्यत्तिकै जोशिला र जिउँदा देखिन्थे । भविष्यप्रति आशावादी ती नेताहरूमा पश्चाताप र दुःखको सट्टा वर्गशत्रुप्रति घृणाको भावना भरिएको थियो । पुँजीवादी न्यायालयले हडताली मजदुर नेतामध्ये ४ जनालाई फाँसी दिने फैसला ग¥यो । न्यायको गला रेटेर पुँजीपति वर्गले ती मजदुर नेतालाई फाँसी दिएरै छोड्यो । त्यो समाचार बिजुलीजस्तै संसारभर फैलियो । सम्पूर्ण मजदुर रिसले जुरमुराएर उठे । सारा संसारका मजदुर पुँजीपतिवर्गसँग बदला लिन सङ्घर्षमा जुटे । मे आन्दोलनका नेताहरूको बलिदानीपूर्ण सङ्घर्षको अन्त भैसकेको थिएन ।
मे दिवसको प्रारम्भ
सन् १८८६ को मे आन्दोलनको क्रान्तिकारी भावना हृदयङ्गम गरी १४ जुलाई १८८९ मा एँगेल्सको समेत उपस्थिति रहेको संसारका मजदुरहरूको पेरिस बैठकले १८९० मे १ देखि संसारभर प्रत्येक वर्ष मे डे अर्थात् मे आन्दोलनलाई मजदुर दिवसको रूपमा मनाउने निर्णय ग¥यो । १८९० मे १ को दिन युरोपका सबैजसो देशमा पनि ८ घण्टाको कार्यदिनको माग राखेर विशाल प्रदर्शनहरू भए ।
मे दिवसको ऐतिहासिक महत्व
मे दिवसबारे एँगेल्स भन्नुहुन्छ – “मेको प्रदर्शन सर्वहारा वर्गको केवल युगान्तकारी घटनामात्र होइन, यो एउटा मजदुर वर्गको पहिलो जुझारु अन्तर्राष्ट्रिय कारबाही हो । यसले विभिन्न देशमा अति सुखद सफलताको सम्भावना प्रदान गरेको छ ।”
सन् १८९३ मा दोस्रो अन्तर्राष्ट्रियको ज्युरिच काङ्ग्रेसले मे दिवसको प्रदर्शनलाई ‘८ घण्टा कार्यदिन र सामाजिक परिवर्तनका साथै वर्गभेदको अन्त गर्न श्रमिक वर्गको सुदृढ सङ्कल्पका रूपमा पनि लिनुपर्दछ’ भन्ने निर्णय गरेर मजदुर आन्दोलनलाई अर्को उचाइमा पु¥यायो ।
मे आन्दोलनको सिलसिलामा मजदुर नेताहरूलाई फाँसी दिएको ७ वर्षपछि सरकारको होस खुल्यो । सरकारले त्यतिबेला ‘न्यायको हत्या’ भएको स्वीका¥यो । यसरी मजदुर सङ्घर्षको कारण ८ घण्टाको कार्यदिन निश्चित भयो । मजदुर वर्गको यो ठूलो विजय थियो ।
स्रोत : नौलो आयाम द्वैमासिक, २०५५ जेठ–असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *