भर्खरै :

कोरोना महामारीमा मोदीको बनारसको बेहाल

हिन्दूहरूका लागि पवित्र मानिने शहर वाराणसी र त्यसको वरपरको क्षेत्र कोरोना महामारीका दोस्रो लहरले अत्यन्त नराम्ररी प्रभावित भएको छ । वाराणसीमा स्वास्थ्य सुविधाहरू अत्यन्त खस्केको स्थितिमा छन् । बिरामीहरूले अस्पतालहरूमा शय्या पाइरहेका छैनन्, अक्सिजन पाइरहेका छैनन्, एम्बुलेन्स सेवामा कैयौँ समस्याहरू छन् र कोरोनाको पीसीआर परीक्षणका लागि सर्वसाधारण जनतालाई हप्तौँ प्रतिक्षा गर्न परिरहेको छ ।
पछिल्लो दस दिनमा अधिकांश औषधि पसलहरूमा भिटामिनहरू, जींक र पारासिटामोल जस्ता आधारभूत औषधिको स्टक सिधिन लागेको अवस्था छ ।
यस क्षेत्रका असन्तुष्ट जनता अब प्रश्न गरिरहेका छन् कि उनीहरूका सांसद र भारतका प्रधानमन्त्री मोदी यस्तो जरूरी समयमा कहाँ छन् ?
सहरमा स्वास्थ्य सेवासित जोडिएका एक स्थानीय व्यक्ति आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, – अस्पतालहरूमा शय्या र अक्सिजन प्राप्त नभएको र मद्दतका लागि हामीकहाँ धेरै नै फोनकल आइरहेका छन् । आधारभूत औषधिहरूको अभाव अनुभव भइरहेको छ । स्थिति यहाँसम्म पुगेको छकि बाध्यतावस मानिसहरू मिति सकिएका औषधिहरू समेत किनेर लगिरहेका छन् । उनीहरू भनिरहेका छन्, केही महिना मिति नाघेका औषधिले कम असर गरे पनि केही त असर गर्नेछन् ।
कोरोना सङ्क्रमण कसरी अनियन्त्रित भयो ?
मार्च महिनादेखि नै कठिनाइको सङ्केत देखिन थालेको सहरका बासिन्दाको भनाइ छ । दिल्ली र महाराष्ट्रका अधिकारीहरूले कैयौँ प्रतिबन्धहरू लगाउन थालिसकेका थिए र बाध्य सङक्रमण बढेपछि भएर प्रवासी मजदुरहरू आफ्नो गाउँ सहरतिर फर्कन थाले । त्यहाँ उनीहरूको परीक्षण र क्वारेन्टिनको कुनै बन्दोबस्त थिएन । उनीहरू आफ्नो गाउँशहर वरपरका भीडभाडयुक्त रेल, बस, ट्रक, डुङ्गा सबैमा चढे । कैयौं हजार मानिस त होलीमा घर फर्केका थिए । होली मार्च २९ का दिन थियो ।
केही मानिस नगर र गाउँ पञ्चायतको चुनावमा भोट हालका लागि आएका थिए । विशेषज्ञहरूको सल्लाहलाई बेवास्ता गरी योगी आदित्यनाथ नेतृत्वको राज्य सरकारले १८ अप्रिलको दिन पञ्चायतको चुनाव गराएको थियो । चुनावका कारण कोरोना सङ्क्रमण अत्यन्त तिव्रतापूर्वक फैलियो र चुनावमा खटिएका शिक्षकहरूमध्ये ७ सत्न्दा बढीको मृत्यु भइसकेको स्थानीय पत्रकारहरूले तथ्याङ्क सङ्कलन गरेका छन् ।
महामारी फैलिएपछि वाराणसीको अस्पताल केही दिनमै भरिए, अस्पतालहरूमा शय्या, अक्सिजन र औषधिको अभाव भयो र गम्भीर सङ्क्रमितहरूलाई पनि उनीहरूको आफ्नै स्थितिमा छोड्न थालियो । पेशाले व्यापारी रहेका ऋषभ जैनले बीबीसीलाई बताए कि उनकी ५५ वर्षीय काकीको स्वास्थ्य अवस्था नराम्ररी बिग्रियो । ऋषभले आफ्नी काकीको उपचारका लागि अस्पतालमा शय्या पाउन सकेनन् । घरमै उपचार थालियो, अक्सिजन आवश्यक भयो र अक्सिजनको लागि हरेक दिन ३० किलोमिटर टाढाको अक्सिजन उद्योगमा गएर ५–७ घन्टा लाइन लागेर अक्सिजन भरेर ल्याउनुप¥यो ।
त्यस्तो अवस्था देखिएपछि उत्तरप्रदेशको इलाहावाद उच्च अदालतले १९ अप्रिलका दिन वाराणसीसमेत अरू चार सहरमा एक हप्ताका लागि लकडाउन गर्न आदेश दियो । तर, राज्य सरकारले अदालतको त्यस आदेशलाई मान्न अस्वीकार गरिदियो र त्यस आदेशको विरुद्ध सर्वोच्च अदालतमा चुनौती दियो । राज्य सरकारको जीकिर थियो कि उसलाई जीवन र आजीविका दुवै बचाउनु छ । तर आलोचकहरूको भनाइ छ कि राज्य सरकार ती दुवै बचाउनमा असफल सावित भयो ।
उत्तर प्रदेशभर जिल्ला प्रशासनहरूले सप्ताहान्त (शनिबार र आइतबार) कफ्र्यू लागू गरिरहेक छन् । त्यसको डरले अधिकांश व्यापारिक प्रतिष्ठान र पसलहरू बन्द छन् । हजारौं मानिसको रोजीराटी खोसिइँदै छ तर भाइरस सङ्क्रमण अझै पनि बढिरहेको छ ।
तथ्याङ्कलाई लिएर प्रश्न
वाराणसी सहरमा मात्र सरकारी तथ्याङ्कअनुसार ७०,६१२ जना कोरोना सङ्क्रमित भइसकेका छन् । यस महामारीबाट ६९० जनाको ज्यान पनि गइसकेको छ । अप्रिल महिनापछिमात्र ६५ प्रतिशत अर्थात् ४६,२८० सङ्क्रमित थपिएको तथ्याङ्कले स्थितिको गम्भीरता अनुमान लगाउन सकिन्छ । सरकारी तथ्याङ्कअनुसार वाराणसी सहरमा मात्र हरेक दिन १०–१२ जनाको मृत्यु कोभिड–१९ का कारण भइरहेको छ । आइतबार सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या १६ थियो । तर वाराणसीमा जो कसैसित कुराकानी गर्ने हो भने सरकारी तथ्याङ्कलाई कपोलकल्पित तथ्याङ्क भनेर अस्वीकार गरिदिन्छन् । उनीहरूका अनुसार वास्तविक मृत्युभएका सङ्क्रमितको सङ्ख्या त्यसको तीनचार गुणा बढी छ ।
वाराणसीको हरिश्चन्द्र र मणिकर्णिका घाट नजिक बसोबास गर्ने एक पुराना समाजसेवीका अनुसार यी दुवै घाटमा पहिले पहिले दैनिक ८० देखि ९० लासको चिता जल्थ्यो । तर पछिल्लो महिनादेखि यहाँ ३०० देखि ४०० को सङ्ख्यामा चिता जलिरहेको छ । चिताका लागि दाउराको अभाव भएको छ ।
उनी प्रश्न गर्छन् – यी घाटहरूमा लासहरू आउन कसरी बढ्यो ? अरू राज्य र शहरबाट ती ल्याइएका होइनन् । तपाइँ के भन्नुहुन्छ यी मानिसहरू कुन कारणले मरिरहेका छन् ? अधिकांश अस्पतालको रिपोर्टहरूमा उनीहरूको मृत्यु हृदय गति रोकिन पुगेकोले भएको उल्लेख हुन्छ । अचानक यति धेरै मानिस हृदयाघात भएर मर्न थालेका छन् । तिनीहरूमा युवायुवतीहरू पनि समावेश छन् ।
वाराणसीका एक व्यक्तिले केही दिन अघिमात्र सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा एक पातलो सडकको दुवै किनारामा लाससहितका चिताहरू लहरै सजाइएका थिए र त्यो लाइन झण्डै एक किलोमिटर लामो थियो । प्रशासनले दसदिन पहिले मात्र उक्त सडकलाई शवदाहस्थलको रूपमा सुरु गरेको हो र त्यहाँ पनि दिनरात चिताहरू जलिरहेका छन् ।
गाउँगाउँमा फैलिँदै भाइरस
कोरोनाको दोस्रो लहरको त्रासदी केवल वाराणसीमा सीमित छैन । कोरोनाले राज्यको कुनाकाप्चाका शहर र गाउँहरूलाई पनि आफ्नो चपेटामा पार्न थालेको छ । वाराणसी नजिक चिराईगाउँ ब्लकमा ११० वटा गाउँ छन् र त्यहाँको जनसङ्ख्या करिब २ लाख ३० हजार छ । सुधिरसिंह पप्पु त्यहाँका प्रखण्ड प्रमुख हुन् । उनले बीबीसीलाई बताएअनुसार पछिल्लो दसदिनमा हरेक दिन प्रत्येक गाउँमा ५ देखि १० जनाको मृत्यु भइरहेको छ । केही गाउँहरूमा त मृत्यु हुनेको सङ्ख्या २५–३० को करिबमा पनि छन् । उनी भन्छन् – “यो गाउँ ब्लकमा कुनै अस्पताल छैन, स्वास्थ्य चौकीहरूमा अक्सिजनको सुविधा छैन, औषधि छैन । नजिकको सरकारी अस्पतालमा ठाउँ खाली छैन । निजी अस्पतालमा बिरामी भर्ना गर्नुभन्दा पहिले नै दुईदेखि पाँच लाख रुपैयाँ जम्मा गर्नका लागि भनिरहेका छन् । हामीसित उपचारका लागि जाने कुनै ठाउँ रहेन ।”
ऐधे गाउँका कमलकान्त पाण्डेय भन्छन् कि उनको गाउँको अवस्था वाराणसीकोभन्दा पनि खराब भइसकेको छ । उनी भन्छन् : हाम्रो गाउँमा २७०० बासिन्दा छन् । ती सबैको कोरोना परीक्षण गर्ने हो भने आधाभन्दा बढीको कोरोना पोजिटिभ नतिजा आउने छ । धेरैलाई लगातारखोकी, ज्वरो, पिठयुँ दुखाइ, कमजोरी अनुभव, स्वाद र गन्ध महसुस नहुनेजस्ता कोरोनासित मिल्ने समस्याहरू छन् । मानिसहरू मरिरहेका छन् तर तिनीहरूको उल्लेख सरकारी तथ्याङ्कमा हुने छैन । किनभने त्यहाँ कसैको पनि कोरोना परीक्षण नै भएको छैन । यो स्थिति भारतका प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको छ भने राज्यको अन्यत्र क्षेत्रमा कस्तो अवस्था होला तपाइँ कल्पना गर्नुस् ।
मोदी लुकिसके
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बरोबर वाराणसी, त्यहाँका मानिसहरू र गंगानदीप्रति आफ्नो विशेष रुचिबारे उल्लेख गर्छन् । यतिखेर उनको निर्वाचन क्षेत्र रहेको यो शहर कोरोनाको विनाशसित जुझिरहेको छ र यहाँको स्वास्थ्य सुविधाहरू खतम हुने स्थितिमा पुगेका छन् तर मोदीले आफ्नो निर्वाचन क्षेत्रबाट दूरी बनाएका छन् र त्यहाँको निम्ति कुनै व्यवस्था गरिरहेका छैनन् ।
वाराणसीका जनताले देखे कि फेब्रुवरीदेखि अप्रिलसम्म उनीहरूका सांसद प्रधानमन्त्री मोदीले १७ पटक पश्चिम बङ्गालको भ्रमण गरे तर वाराणसीमा पाइला पनि टेकेनन् । लखनउमा आएर पञ्चायत चुनावको एक दिनपहिले १७ अप्रिलका दिन वाराणसीको कोरोना सङ्कटबारे समीक्षा बैठक गर्नु वास्तवमा त्यहाँको स्थितिप्रति हँसीमजाक मात्र भएको कतिपय वाराणसीवासीहरू मान्छन् ।
वाराणसीका एक होटल सञ्चालक भन्छन् – “प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी दुबै लुकिसके । उनीहरूले वाराणसीवासीलाई तिनीहरूको स्थितिमा छोडिसकेका छन् । भाजपाका स्थानीय नेताहरूसम्म पनि जनताको अगाडि आइरहेका छैनन् । उनीहरूले आफ्नो मोबाइल स्विचअफ गरिसके । यो यस्तो अवस्था हो मानिसहरूलाई अस्पतालमा शय्या र अक्सिजनको सिलिन्डर अत्यावश्यक भइरहेको छ । तर यहाँ पूरै अराजकता छ । यहाँ अक्सिजन र औषधि बजारमा पाइँदैन । सबै चिजको कालोबजारी छ । पैसा नभएका जनता मरिरहेका छन् । यहाँ डाक्टरहरूसित अक्सिमिटरसम्म छैन । बिरामीको अक्सिजन लेवल विस्तारै कम हुँदै जान्छ र उनीहरू निन्द्रामै मरिरहेका छन् । पढेनलेखेका र गाउँका जनताको अस्पताल र चिकित्सकसम्म पहुँच छैन । उनीहरू भगवान भरोसामा बस्न बाध्य छन् ।”
(बीबीसी, हिन्दी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *